विरासत जोगाउने भीडण्तमा उत्रिएका विद्या र श्रीनाथका लागि कास्की–२ मा गुरुङको कडा काउण्टर
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २१:११:३६
१३ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कास्की–२ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङ यतिबेला एमाले र सत्ता गठबन्धनका साझा उम्मेदवारमाथि भारी परिरहेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् । कांग्रेसभित्रको टिकट विवादले गर्दा यो क्षेत्रमा बलियो देखिएका गुरुङले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । गुरुङ कांग्रेसबाटै यो क्षेत्रबाट पहिले चुनाव जितिसकेका ब्यक्ति हुन् ।
उनी पछिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन्न निर्वाचनमा एमाले उक्त बिरासत जोगाउने कसरतमा त छ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त बिरासत भत्काउने लक्ष्यका साथ चुनावी मैदानमा सक्रिय देखिएको छ ।
अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार रहेका छन् भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई गुरुङको उम्मेदवार निकै भारी बन्ने देखिएको छ ।
विसं २०७४ को निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार छ सय ६१ मत प्राप्त पाएका थिए । अधिकारी त्यसअघि २०६४ र २०७० मा भएको संविधानसभाको निवार्चनमा पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधनपछि २०७६ को उप–निर्वाचनमा २४ हजार तीन सय ९४ मत ल्याएर अधिकारी पत्नी भट्टराई विजयी बन्दा उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत प्राप्त गरेका थिए ।
विसं २०७४ मा एमाले माओवादीसहितको वाम गठबन्धन रहेकोमा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेका कारण पनि विद्यालाई जित्न सजिलो भएको थियो । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ ।
नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।
विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत प्राप्त गरेका थिए । २०७६ सालको उपनिर्वाचनमा नेकपाका विद्या भट्टराईले २४ हजार तीन सय ९४ मत ल्याउँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत ल्याए । तर, यस निर्वाचन क्षेत्रमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतले गठबन्धनलाई बलियो देखाएको छ ।
यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा रहेका छन् । यीमध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने पाँच वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २१ हजार एक सय ६४ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय मत प्राप्त गरेका थिए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत प्राप्त गर्दा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ९८ मत पाउँदा स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए । वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ, भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । कास्की क्षेत्र २ निर्वाचन क्षेत्र बदलीरहने क्षेत्रमा पर्दछ ।
विसं २०४८ देखि २०६४ सम्म तीनवटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा २०६४ देखि २०७० सम्म चार वटा क्षेत्र कायम गरिएको थियो । तर २०७४ पछि पुनः तीन वटा निर्वाचन क्षेत्र कायम भएका छन् । पछिल्लो भौगोलिक संरचना अनुसार यो क्षेत्र साविक तीन नम्बरका अधिकांश वडा मिलाएर बनाइएको छ । यस अघि तीन नम्बर क्षेत्रका सात र दुई नम्बरका चार वटा वडा हाल यस क्षेत्रमा पर्दछन् । पहिलेका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले तीन नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० भने दुई नम्बर क्षेत्रमा पर्दथे । २०६४ अघि दुई नम्बर क्षेत्र आठ वटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो ।
यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । विसं २०४६ को प्रजातन्त्रको पुनःस्थापनापछि भएका छ वटा संसदीय निर्वाचनमा हालको यस क्षेत्रले चर्चेका स्थानमा पाँच पटक एमालेले चुनाव जितेको छ, भने एक पटक मात्र कांग्रेसले जितेको छ ।
यस क्षेत्रबाट महादेव गुरुङ कांग्रेसबाट विजयी भएका थिए । नेकपाबाट तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी हुँदै विद्या भट्टराई विजयी बने । तुलबहादुर गुरुङ क्षेत्रमा गुरुङ दुई पटकसम्म विजयी बने भने अधिकारी तीनपटक विजयी बनेका थिए । अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणि तिवारी पराजित बएका हुन् । दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शोभियतबहादुर अधिकारी पराजित भए । तेस्रो पटक चुनाव जित्दा अधिकारीसँग कांग्रेसका देवराज चालिसे निकटतम प्रतिस्पर्धी बनेका थिए । त्यसअघि गुरुङसँग दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए ।
यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांशतः विकासको दृष्टिले पछि परेको मतदाताको गुनासो छ । महानगरका रुपमा विभिन्न किसिमका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न नपाएको पोखरा–३३, भरतपोखरीका मतदाता सुनिल लामिछानेले बताए । ‘हाम्रा लागि महानगरको घोषणा केबल पहिचान मेटिने, डाँडाकाँडा भेटिने जस्तै भएको छ । उनले भने ‘कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न पाएका छैनौँ । भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवास लगायतका धेरै गाउँ तथा बस्ती विकासमापछि परेका छन् ।’
यस क्षेत्रको विकासका लागि नीतिगत योजना आवश्यक रहेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल बताउनुहुन्छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको सम्बोधनसँगै गरिबीको रेखामुनी रहेको सर्वसाधारणलाई स्वरोजगार बनाउने किसिमका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
गठबन्धन र एमालेका साथै अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि निर्वाचनलाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधब कँडेल भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने लक्ष्यका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रेको बताउभ्छन् । जनताको अवस्थामा सुधारका लागि गरिबीको रेखामुनी रहेका वर्ग समुदायका लागि रासन कार्डको व्यवस्था लगायतका योजना अघि सारिएको उनको भनाइ छ ।
कूल ७९ हजार एक सय ३८ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क)मा ४२ हजार दुई सय ८२ र प्रदेशसभा (ख) मा ३६ हजार आठ सय ५६ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् ।
कास्की–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महादेव गुरुङलाई एकीकृत समाजवादीका नेताहरूले फकाउन प्रयास गरेपनि असफल भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहलाई समेत नमानी आफ्नो उम्मेदवारी कायमै राखेका छन् । गत असोज २६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले गुरुङलाई फोन गर्दै राष्ट्रिय सभा वा अरू कुनै उपयुक्त पदमा सम्बोधन गर्ने प्रस्तावसमेत गरेका थिए । कांग्रेसभित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासँग निकट सम्बन्ध राखेर सधैं देउवा समूहसँग ‘बागी विचार’ राखेका गुरुङले देउवाको आग्रहलाई अश्विकार गरेका थिए ।
सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको छ र नेता श्रीनाथ बराल उम्मेदवार बनेका छन् । गुरुङको अडानले सत्ता गठबन्धनको मद्दतमा बराललाई नेकपा एमालेको लाल किल्ला मानिएको यो क्षेत्रमा जिताउने माधवकुमार नेपालको योजनामा ठेस लागेको छ । नेकपा एमालेसँग विद्रोह गरेर आएको एकीकृत समाजवादीलाई मात्र होइन, गठबन्धनलाई नै कांग्रेस नेता गुरुङको अडान टाउकोदुखाइ बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार