रामेछापमा कान्छारामलाई चुनावी जित निकाल्न कति सहज ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २२:२१:५०
३० कात्तिक, काठमाडौं । सत्ता गठबन्धनको साझा उम्मेद्वार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको रामेछापमा उनलाई सत्ता गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चाको समर्थन छ । उनले एमालेका कैशाल ढुंगेलसँग प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा (एकीकृत समाजवादी)ले पूर्वएमाले नेता रमेश बस्नेतलाई उम्मेदवार बनाएको छ । शाही कालमा जिल्ला सभापति समेत बनेका बस्नेत मन्थली नगरपालिका निवर्तमान नगरप्रमुख हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख ८० हजार १०६ मतदाता छन् । कान्छाराम २०७४ को निर्वाचनमा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ ‘कुशल’सँग झण्डै ७ हजार मतले पराजित भएका थिए । २०७४ मा कुशलसँग पराजित भएका कान्छारामलाई यो पटक माओवादीको पनि समर्थन त छ, तर माओवादीभित्रका पूर्वजनामोर्चाले रामकुमार लामालाई स्वतन्त्र उम्मेदवार उठाएका छन् ।
दोरम्बा शैलुङ र सुनपति गाउँपालिका पूर्वजनमोर्चाको गढ मानिन्छ । २०६४ को संविधानसभाको चुनावमा माओवादी बनेका उनीहरु अहिले जिल्लामा माओवादी केन्द्रको जित सुनिश्चित हुँदाहुँदै पार्टी नेतृत्वले संघीय निर्वाचन क्षेत्र स्वार्थबस कांग्रेसलाई छाडिदिएको भन्दै असन्तुष्ट बनेका हुन् ।
दोरम्बा शैलुबाट मुख्यरुपमा यशु चौलागाईँ, चितलाल श्रेष्ठ, रेमबहादुर थापासहित स्थानीय र जिल्ला तहका नेताहरु रामकुमार जिताऔं अभियान लिएर प्रचार गरिहेका छन् । रामकुमारको प्रचारका लागि गाडी नै लिएर माइकिङ गरिरहेका छन् ।
यो समूहका चौलागाँई र श्रेष्ठ स्थानीय चुनावमा गाउँपालिका प्रमुखका प्रत्यासी थिए । तर पार्टीका जिल्ला अध्यक्ष समेत रहेका मैनकुमार मोक्तान ‘मदन’ स्वयं उम्मेदवार बनेपछि रुष्ट छन् । उनीहरूमाथि एमालेका उम्मेदवारलाई भाेट हालेकाे आराेप छ । समूहमा रहेकाहरुमाथि अनुशासनको कारबाही गर्न मदनले प्रदेश कमिटीमा मौखिक समेत उजुरी गरेका थिए । उनले अन्तरघातीहरुलाई ठेगान लगाउने भन्दै सामाजिक संजालमै लेखेका थिए ।
स्थानीय तहको निर्वाचन मत परिणमलाई हेर्ने हो भने सुनपति र दोरम्बा शैलुङ गाउँपालिका माओवादी केन्द्रले जितेको छ । दोरम्बा शैलुङमा भने माओवादी केन्द्रले कांग्रेससँग चुनाव तालमेल गरेको थियो । माओवादीको गढ मानिएको यस गाउँपालिका एमालेका टंकप्रसाद चौलागाँईभन्दा पालिका प्रमुखमा मदनले झिनो मत अर्थात एक सय २० बढी मत ल्याएर विजयी बनेका थिए ।
०७४ को स्थानीय चुनावमा कमान सिं मोक्तान ‘मिलन’ फगत माओवादीको मतबाट अध्यक्ष निर्वाचित भएका थिए । तर पाँच वर्षपछि पालिकाभित्र एमाले ठूलो दल बनेर देखा पर्यो । यहाँ कांग्रेसको न्यून मात्रामा रहेको छ । सुनपतिमा पनि माओवादी प्रमुख जित्दा एमालेका उम्मेदवार थोरै मतले हारेका थिए ।
सुनापतिको बेथान क्षेत्र कांग्रेसको पकड क्षेत्र मानिन्छ । तर यहाँका स्थानीय रहेका कांग्रेसका जिल्ला नेता रामचन्द्र खडका कान्छारामसँग चिढिएका छन् । रामेछाप नगरपालिकामा भने कांग्रेसको राम्रो पकड छ । स्थानीय चुनावमा एक्लै लडदा यहाँका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ ।
मन्थली नगरपालिकामा एमाले मत बलियो रहेको पाइन्छ । कांग्रेस मत दोस्रोमा देखिन्छ । उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा एमालेको मत बलियो रहेको पाइन्छ । यस्तै खाँडादेवी गाउँपालिकामा स्थानीय चुनावबाट प्रमुख र उपप्रमुख एमाले एक्लै लडेर जितेको छ । यहाँ माओवादी केन्द्रको मत कांग्रेस मतभन्दा अगाडि देखिन्छ । पूर्वजनमोर्चा मत पनि यहाँ बलियो देखिन्छ ।
माओवादी केन्द्रको सबै मत ‘ट्रान्सफर’ नभएको अवस्थामा कान्छारामलाई जित निकाल्न मुश्किल पर्ने कांग्रेस वृत्तमा चर्चा छ । ठेकेदारी पृष्ठभूमिका कान्छारामले रामेछाप कांग्रेसका पाका र अनुभवी नेताहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्न नसकेको टिप्पणी पनि प्रशस्त सुन्न पाइन्छ ।
पैसाको ध्वांस दिने आचरण नै कान्छारामको कमजोरी रहेको निकटस्थ नेताहरु बताउँछन् । २०७४ को चुनावमा लवश्री न्यौपाने र रामचन्द्र खडका टिकटका प्रत्यासी रहेकामा ‘पैसाको बल’मा कान्छारामले देउवाबाट टिकट फुत्काउन सफल भएको आरोप उनीमाथि लाग्दै आएको छ । यसपटक पनि उनले उम्मेदवारी दर्ताको दिन मात्र टिकट पाएका थिए । उक्त उनले काठमाडौंमा आफूनिकटका व्यक्तिसँग ‘मैले प्रचण्डसँग भेट गरिसकेको छु, टिकट मेरै हो’ भनेर कुराकानी गरेको चर्चा सेलाएको छैन ।
टिकटको टुंगो भएलगत्तै उनी हेलिकोप्टर चढेर मन्थली पुगेर मनोनयन दर्ता गरेका थिए । उनले जिल्लाबासीका लागि थुप्रै सहयोग र योगदान गरेको दाबी चुनावी भाषणमा गर्दै आएका छन् । तर दोरम्बा शैलुङ गाउँपालिकाको रिष्ठेबाट उनले आफैंले बाँडेका एम्बुलेन्स फिर्ता लिएपछि उनको आलोचना थप बढेको चर्चा पनि उस्तै छ ।
गत वर्ष सम्पन्न नेपालीको कांग्रेसको जिल्ला अधिवेशनमा तीन जना सभापतिका लागि उम्मेदवार थिए । कसैले पनि विजयीका लागि आवश्यक मत ल्याउन सकेनन् । जसमा कान्छाराम पहिलो भए । सभापतिका लागि भएको दोस्रो पटक भएको चुनावमा दोस्रो र तेस्रो भएका उम्मेदवारले समर्थन गरेपछि कान्छाराम जिल्ला सभापति बने ।
त्यसबेला पनि कान्छारामले सभापतिमा उम्मेदवार दिन तयारी गरेका तामाङ समूदायकै एक जना पुराना नेतालाई पैसाको रवाफ देखाएपछि विवाद नै चलेको थियो । कान्छाराम प्रधानमन्त्री समेत रहेका पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छ । यस्तो अवस्थाबीच माओवादीभित्रका पूर्वजनमोर्चा समूहले खुकुरी चिन्हमा स्वतन्त्र उम्मेद्वार उठाएकाले कान्छारामलाई चुनाव जित्न चुनौती थपिएको विश्लेषण गरिएको छ ।
गठबन्धनको भागबण्डामा जिल्लाको प्रदेश (क) र (ख) माओवादी केन्द्रलाई छाडिएको छ । (क)मा तारानायण श्रेठ र (ख)मा युवराज चौलागाँई प्रदेशसभा उम्मेदवार छन् । श्रेष्ठ जनयुद्धकालमै नेता हुन् भने चौलागाँइ सुनपति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टकी पति हुन् । एमालेले प्रदेश (क) शान्ति प्रसाद पौडेललाई दोहोर्याएको छ भने (ख)मा युवा नेता मिलन घिसिङलाई उम्मेदवार बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार