कांग्रेसको सत्ता गुमे पनि शक्ति गुमेको छैन : डा. शेखर कोइराला
नेपालबहस संवाददाता
पुस ११, २०७९ मंगलबार ०:११:२६
११ पुष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ता गुमाएपनि शक्ति कायमै रहेको बताएका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्न डा. कोइरालाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सत्ता मात्र गुमाएको, तर बलियो शक्ति कायमै रहेको बताएका छन् ।
उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अनपेक्षित रहेको भन्दै प्रचण्डलाई बधाई शुभकामना दिएका छन् । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किनुको कारणबारे पार्टी नेतृत्वसमक्ष समीक्षा गरेर जनतालाई जवाफ दिँदै गठबन्धनको मुख्य सहयात्री नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको जिकिर गरेका छन् ।
नेतृत्वले सुझबुझ पुर्याउन नसक्दा कांग्रेस ठूलाे दल भएर पनि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले प्रचण्डको राजनीतिक निर्णयलाई अराजतकताको पराकाष्ठाको संज्ञा दिएका छन् । सत्ताराेहणले व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको दाबी गरेका छ ।
‘गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ’ विज्ञप्तमा भनिएकाे छ ।
राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरक धार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई पार्टी नेतृत्वले महत्वहीन ठानेकै कारण कांग्रेसले हठात राजनीतिक घटना व्यहोर्नु परेको उनको ठम्याइ छ ।
नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु स्वभाविक रहेकाे बताउँदै निरास नहुन आग्रह गरेका छन् ।
पढ्नुहोस् विज्ञप्तिको पूर्ण पाठ:
नेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति मेरो दृष्टिकोण :
विज्ञप्ति
संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।
संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।
कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो ।
गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ ।
कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।
साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।
कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।
अन्तमा, सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।
११ पौष २०७९
जय नेपाल
डा. शेखर कोइराला
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार