सेलाएन ओली र नेपाल मिलाउने भित्री प्रयास, पार्टी एकताको प्रचारबारे दुवै दल माैन
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १९:३४:२३
१५ पुष, काठमाडौं । दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि नेता नेपाल एक्लो भएका छन् ।
नेपालले आफूलाई एक वचन नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि सार्वजनिक गरिसकेका छन् । त्यसपछि नेपालसँग प्रचण्डले हात्तीवनमा एकपटक भेटेका थिए । प्रचण्डले ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गरे । आफ्नै निवास खुमलटारमा ओलीलाई दुई घन्टा कुर्न लगाए । तर माधव नेपाल कोटेश्वरस्थित आफ्नो निवासबाट बाहिर निस्केनन् । बरु ओली खुमलटारमा पुगेको दिन अपराह्न ४ बजे नेपालले कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग शान्तिनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरे ।
नेपाललाई त्यसअघि एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर भेटे । दुवैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गरे । तर नेपाल तयार भएनन् । बरु उनी एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बसे । सरकारलाई समर्थन गर्दै अघि बढ्ने कि प्रतिपक्षमा बस्ने भन्ने राय सुझाव लिइरहे ।
दुई वर्षअघि ओलीसँग जुन विषयमा विरोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उनले ओलीसँगको भेटवार्तालाई त्यति महत्व नदिएका हुन् । नेपालले पार्टीका नेताहरूसँग कुराकानी गर्दै ओली आफ्नो निवासमा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार भएको, तर बालकोट नजाने स्पष्ट पारेका छन् ।
खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशंकित भएका हुन् । एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्रम फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो । त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो ।
शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पारेका छन् । उनले एकपटक पार्टीले भोगिसकेको पीडाबारे आफूहरू राम्रो जानकार रहेको भन्दै तत्काल एकीकृत समाजवादीसँग एकता नहुने संकेत पनि गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार