नीति अधिवेशन कि महासमिति बैठक भन्ने मै कांग्रेसको अलमल
केदार भट्टराई (काका)
माघ १७, २०७९ मंगलबार २०:५१:५०
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको १४ महिना वित्नै लाग्दा पार्टीका आगामी कार्यक्रम र रणनीति के हुन भन्ने अझै अन्योल छ । कस्ता नीति लिएर अगाडी जाने भन्ने विषयमा महाधिवेशन यता छलफलसमेत भएको छैन । केन्द्रीय कार्यसमितिले पुर्णता पाएको छैन् । विभागको भागबण्डा जस्ताको त्यस्तै छ । भातृ र शुभेच्छुक संस्थाहरु जिर्णको जिर्णमै छन् ।
भइरहेको सत्ता गठबन्धनलाई टिकाउन नसकेर सत्ताविमुख हुन पुगेका सभापति शेरबहादुर देउवा फेरी सत्ता प्राप्तिको प्रयासमा केन्द्रीय समितिको बैठकसमेत धकेलेको धकेलेकै छन् । निर्वाचनमा ठूलो दल बनेको कांग्रेस सत्तानिकट सबै पदबिहीन अवस्थामा पुगेपछि नेतृत्वको चर्को आलोचना भइरहेको छ । कांग्रेसमा विशेष महाधिवेशनदेखि नीति अधिवेशन बोलाउन माग भइरहेको छ । तर, देउवा केन्द्रीय समितिसमेत बोलाउन तयार छैनन् ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित संस्थान इतरसमूहका नेता डा. शेखर कोइरालाले पनि नीति अधिवेशनमा जोड दिएका छन् । महामन्त्रीले संयुक्त रुपमा विज्ञप्ती नै जारी गरेका थिए । नीति अधिवेशनबारे अन्योलता कायमै छ । विधानमा पनि नीति महाधिवेशनबारे स्पष्ट छैन् । कांग्रेसको विधानमा नीति र निर्णय लिने विषय पार्टीको सर्वोच्च निकाय महाधिवेशनले गर्ने उल्लेख छ । तर, १४ औँ महाधिवेशन नीति र कार्यक्रम पारित नगरी शेरबहादुर देउवा निर्वाचित भएका थिए ।
नीति महाधिवेशनले पार्टीको सिद्धान्त, आदर्श, मूल्य, मान्यता, नीति र अर्को महाधिवेशनसम्म पार्टीको राणनीति तय गर्ने हो । १४ औँ महाधिवेशनबाट नेतृत्व चयन गरेको १ वर्ष बितिसक्दा पनि नीति र कार्यक्रम पारित गर्न नीति महाधिवेशन आयोजना हुन सकेको छैन । एकथरी नेताहरुले आगामी बैशाखमा नीति अधिवेशन हुने बताइरहेका छन भने अर्काथरीको नीति अधिवेशन नभएर महासमिति बैठक बोलाउनुपर्ने माग गरेका छन् । विधानअनुसार महासमितिको बैठक बोलाउने समय पनि टरिसकेको छ ।
निर्वाचनबाट सबैभन्दा ठूलो दल भए पनि पार्टी प्रतिपक्षमा बस्नु पर्ने अवस्था सिर्जना भएसँगै कांग्रेसभित्र अनौपचारिक रुपमा नीति महाधिवेशनबारे कुरा उठ्न सुरु भएको हाे । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयुक्त वक्तव्य जारी गरेर नीति महाधिवेशन गरेर पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्ने बताएसँगै यसको चर्चा बढेको थियो । डा. कोइरालाले पनि नीति अधिवेशन आवश्यक भएको बताउँदै आएका छन् ।
कांग्रेसले पुस २२ गतेबाट बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा नीति महाधिवेशनका बारेमा छलफल हुने अपेक्षा गरिएको थियो तर, त्यो बैठक तीन पटक सरेर अनिश्चित कालसम्म स्थगित भएको छ । केन्द्रीय समितिको बैठक सारेर सभापति देउवाले बैशाखमा नीति र महासमितिको बैठक एकैपटक गर्ने भनेर नेताहरुलाई अलमल्याउने काम गरेका छन् । यता, कांग्रेसकै एकथरी नेताले भने नीति महाधिवेशन अहिले प्रासंगिक नभएको र आधिकारिक रुपमा विधानमा व्यवस्था भएको महासमितिको बैठक बोलाउनुपर्ने बताएका छन् । विधानमा हरेक वर्ष महासमिति बैठक डाकिने भनिएको छ ।
संस्थापन समूहका एक नेताले नेपालबहसलाई बताएअनुसार विधानले नै नचिन्ने नीति महाधिवेशन आवश्यक छैन् । नीति महाधिवेशनको सट्टा महासमिति बैठक बोलाएर नीति, विधान र संगठनका बारेमा छलफल गर्नु उपयुक्त हुनेछ । आधिकारिक हिसाबबाट छलफल गर्ने हो भने महासमितिको बैठक बोलाउनु पर्छ जे गर्नका लागि नीति अधिवेशन भनिएको छ त्यो काम महासमितिको बैठकले गर्न सक्छ । आधिकारिक रुपमा विधानमा व्यवस्था भएको समितिको बैठक नगरेर अन्य कुरा गर्नु उपयुक्त नहुने उनको भनाइ छ । पार्टीभित्र नीति र महासमिति बैठकबारे अन्योल भइरहँदा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न नसकेकै ६ महिना भइसकेको छ ।
पछिल्लो समय ५ भदौमा नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । त्यसअघि २७ असारदेखि २ साउनसम्म कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति बैठक बसेर आवश्यक निर्णय हुँदै आएको छ । कांग्रेस सरकारबाट बाहिरिएसँगै देउवाले २२ पुसका लागि केन्द्रीय समिति बोलाएका थिए । त्यसपछि २८ पुसलाई सारिएको बैठक फेर १५ माघका लागि सारेर त्यो पनि विशेष कारण देखाँउदै अनिश्चित समयसम्मका लागि स्थगित भएको छ ।
यससँगै कांग्रेसमा केन्द्रीय समिति बैठकका लागि दवाव बढ्दो छ । बैठक डाकेर पार्टीमा पर्याप्त छलफल गर्ने अवस्था नरहेको भन्दै नेताहरूले आक्रोश पोख्दै आएका छन् । इतर समूहका नेताहरुले सभापति, महामन्त्रीसहितका पदाधिकारी र पुराना नेताको महत्वाकांक्षाका कारण पार्टीमा पर्याप्त छलफल र निर्णयको संस्कार कम हुँदै गएको भन्दै देउवाको आलोचना गरिहेका छन् । नेतृत्व तहमा रहेकाहरूकै कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको उनीहरुको तर्क छ ।
लगातार केन्द्रीय समिति बैठक छलेर निर्णय हुनु कांग्रेसका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी कतिपयको छ । सरकार गठनको असफलतापछि नेतृत्वले बैठकमा आफ्नो आलोचना हुने र त्यसको बचाउ गर्न कठिन हुने देखेर बैठक स्थगित गर्दै आएको नेताहरु बताउँछन् । नेतृत्वकै असफलताका कारण बैठकमा आफ्नो आलोचना हुने पनि देखिएको छ ।
यसलाई छल्न बैठक नै पर सार्दै सभापति देउवा राष्ट्रपति निर्वाचनपछि मात्रै बैठक राख्ने मनस्थितिमा देखिएका छन् । उनले यसअघि नै जाडो छलेर बैठक राख्ने भनिसकेका छन् । निर्वाचन परिणाम आइसकेपछि र सरकारबाट बाहिरिएपछिको राजनीतिक विषय र विकसित घटनाक्रमबारे कांग्रेसमा छलफल भएको छैन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार