देउवाले छानेका जति अनिच्छुक देखिएपछि कांग्रेसमा किचलो
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १७:४५:१०
२८ फागुन, काठमाडौं । पार्टीका वरिष्ठ नेता राष्ट्रपतिमा निर्वाचित भइसकेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा कसलाई पठाउने भन्ने विषयले नेपाली कांग्रेसमा विवाद ल्याएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेर सरकारमा पठाउन खोजेका नेताहरु अनिच्छुक देखिएपछि पार्टीमा नेता व्यवस्थापनमै अर्को समस्या आउने देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन लगत्तै विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्न देउवाको सुझाव पनि छ र यहि अनुसार उनले तयारी गरिरहेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसले अहिलेसम्म भनाइ फेरेको छैन् । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनमा सहभागि भएर मतदान गरेपछि कांग्रेस नेतृत्वमा १० दल एक ठाउमा आएका छन् । १० दललाई मिलाएर मन्त्रिपरिषद विस्तार गर्नुपर्ने जिम्मेवारी प्रचण्डसँगै देउवाको पनि हो ।
सभापति देउवा निकट एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार उनी अब बन्ने मन्त्रिपरिषदमा कांग्रेसबाट प्रभावशाली नेताले नितृत्व लिएर जाओस भन्ने पक्षमा छन् । अहिले सरकारमा कांग्रेसबाट नेतृत्व गर्ने व्यक्तिले राज्यशक्तिमा भिज्नसक्ने भए अर्को नेतालाई आगामी १५ औँ महाधिवेशनको तयारीमा लगाएर पार्टीका विभागहरु त्यही अनुसार विभाजन गराएर केन्द्रीय समितिलाई पूर्णता दिने देउवाको सोच थियो । तर, उनले भनेअनुसारका नेताहरु कांग्रेसबाट नेतृत्व गरेर अहिलेको सरकारमा सहभागि हुन चाहिरहेका छैनन् ।
ति नेताले भने सभापति देउवा उपप्रधानसहित सरकारको नेतृत्वमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का र इतरसमूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालामध्ये एक जनालाई पठाउन चाहिरहेका छन् । तर, दुबै नेता सरकारमा जान मानिरहेका छैनन् । सभापति देउवा शेखर कोइरालाले सरकारको नेतृत्व लिएमा पूर्णबहादुर खड्कालाई अघोषित कार्यवाहक सभापतिको राखेर आगामी सभापतिका लागि तयार बनाउने रणनीतिमा छन् भने कोइराला पनि सरकारको लफडामाभन्दा आगामी सभापतिको तयारीमा नै जुट्ने मनस्थिति बनाएर बसेका छन् ।
कोइराला समूहका एक नेताले नेपालबसहसँग भने,‘सभापतिज्यूले कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जानुपर्ने अवस्था आउन सक्छ । तयारी भएर बस्नु भन्नुभएको थियो । तर, कोइरालाले मान्नुभएको छैन । अहिले सुब्बा र खरदारले देश चलाइरहेको अवस्था छ यो अवस्थामा कांग्रेसबाट नेतृत्व लिएर सरकारमा जानेकुरा आउँदैन । पहिले पार्टी संगठनलाई मजबुत बनाउने हो र आगामी १५ औँ महाधिवेशनको तयारीमा जुट्ने हो । यो कुरामा अब सभापतिजीले मलाई सहयोग गर्नुपर्छ भन्ने कोइरालाको आसय छ ।’
उता, उपसभापति खड्का पनि देउवा पछाडीको पार्टी सभापति आफु नै हुने दावीसहित यहि दौडमा देखिएका छन् । अहिले सरकारमा कांग्रेसबाट नेतृत्व गरेर जाँदा पछि समस्या आउने भन्दै उनले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा नै आफु सरकार नजाने बताइरहेका छन् । उपसभापति खड्का र इतरसमूहका नेता कोइराला दुवै अनिच्छुक भएपछि सभापति देउवले महामन्त्री तर्फपनि कांग्रेसबाट सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव अनौपचारिक रुपमा लगेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रशाश शर्माले पनि कांग्रेसका मन्त्रीहरुको नेतृत्व गरेर सरकारमा नजाने अडान लिएका छन् । महामन्त्री थापा आफै प्रधानमन्त्रीको पालो आउने भनिरहेका छन भने शर्माले सरकारमा जाने कुरा नै सुन्न चाहेका छैनन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसबाट नेतृत्व गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महत, विमलेन्द्र निधि, प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा र नेता प्रकाशमान सिंह इच्छुक देखिएका छन् यसका लागि उनीहरुको सभापतिसँग उठबस पनि बढिरहेको छ । तर, देउवा उनीहरुलाई भरसक सरकारमा नै पठाउन चाहादैनन् । मन्त्री बन्न इच्छुक देखिएका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि देउवाले कांग्रेसबाट नेतृत्व हुने कुरामा विश्वास गरेका छैनन् । सभापति देउवाले जसलाई पठाउन चाहेका छैनन् उनीहरु जान तम्सिएका छ भने जसलाई पठाउन खोजिरहेका छन उनीहरु जान मानिरहेका छैनन् ।
ति नेताको भनाइमा अहिले राजनीतिक परिस्थिति सहज नभएकाले सरकारमा जाने कांग्रेसको नेता अलि परिपक्क होस र समय र पस्थितिलाई बुझेर काम गर्न सकोस भन्ने देउवाको चाहना छ । उनी भरसक पदाधिकारीभित्रको नेताले नेतृत्व गर्नुपर्ने पक्षमा देखिएका छन् । अहिले कांग्रेसबाट नेतृत्व लिएर सरकारमा जान प्रकाशशरण महत र नेतृ आरजु राणाको प्रयास बढि देखिएको छ । तर, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिवेस हेर्दा उनीहरुलाई पठाउन सहज नहुने देउवाको अनुमान छ ।
देउवाले खास चाहेका उपसभापति पूर्णबहादुर खड्का हुन । उनी नगएको खण्डमा इतरसमूहका नेता डा. कोइराला गएमा पनि कांग्रेसको सरकारमा गहकिलो उपस्थिति हुने बुझाइ उनको थियो । तर, यी दुबै नेता तयार भएका छैनन् । दुबैको ध्यान सरकारमाभन्दा सभापतितिरै छ । अब कसलाई पठाउन छन त देउवाले भन्ने प्रश्न कांग्रेसमा उभिएको छ । आरजुलाई पठाउने देउवाको पनि चाहना छ तर, उनलाई पठाउँदा स्वयम देउवालाई आफै आलोचनाको शिकार हुने डर छ । प्रबक्ता महतलाई पठाउदा उनका विश्वास पात्र भएपनि अरु सिनियर नेता र पदाधिकारी हुँदाहुदै जुनियर नेतालाई पठाएको अर्को आरोप पार्टीबाटै आउने छ । सहमहामन्त्रीलाई नेतृत्व गरेर पठाउने कुरा पनि आएन ।
यसैले यतिबेला कांग्रेसको नेतृत्व गरेर सरकारमा पठाउने निसानामा परेका छन् उपसभापति धनराज गुरुङ । सभापति देउवाले उपसभापति गुरुङसँग यो प्रस्ताव त गरेका छैनन् तर, उनका विषयमा देउवाले धेरै निकटका नेताहरुलाई भनेको स्रोतको भनाइ छ । पार्टीको पदीय हिसावले पनि गुरुङ उपसभापति हुन । एक उपसभापतिले जान नचाहेपछि रोलक्रम अनुसार पनि उनकै पालो आउने ति नेताले बताए । पार्टी भित्र र बाहिर पनि गुरुङमाथि प्रश्न उठाउने ठाउ नभएकाले सम्भवत कांग्रेसबाट अहिलेको सरकारमा उपसभापति धनराज गुरुङले नेतृत्व गर्ने सम्भावना बढि देखिएको छ ।
कांग्रेसबाट मन्त्री बन्न चाहनेहरुको लिष्ट लामो छ । तर, नेतृत्व गरेर कसलाई पठाउने भन्ने समस्या हो । कम्युनिष्ट नेतृत्वमा सरकार छ । संसदको ठूलो दलको हैसियतले सरकारमा सहभागि हुँदा अन्तर्राष्ट्रिय जगतको राजनीतिलाइ पनि हेनुपर्ने हुन्छ । सरकारमा गएपछि कूटनीतक क्षेत्रमा पनि प्रधानमन्त्रीलाई भन्दा कांग्रेसलाई नै बढि भार पर्नसक्छ । यसले पनि देउवाले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेर जाने व्यक्ति पार्टीको पोर्टफोलियोमा पनि सम्मानजनक स्थान भएको व्यक्ति होस भन्ने चाहेका हुन् । सरकारले पूर्णता पाएपछि केन्द्रीय समितिको बैठक डाकेर पार्टीको काम अगाडी बढाउने तयारीमा सभापति देउवा छन् ।
उपसभापति गुरुङले पनि कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने वा नजाने कुरामा अहिले निधो भएको छैन । पार्टी सभापतिले पार्टीका तर्फबाट नेतृत्व गर्न जानु भनेपछि जानुपर्ने ति नेता बताउँछन् । सरकारका विषयमा उपसभापति गुरुङको पनि कुनै प्रतिक्रिया आएको छैन । गुरुङ पार्टीमा इतरसमूहका नेता हुन् । गुरुङलाई सरकारमा जाने विषयमा कोइरालाले पनि दवाव दिनसक्ने अवस्था छ । यसबारे सभापति देउवाले पदाधिकारी बैठक डाकेर छलफल गराउने तयारी गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार