अलैँची बगानमै सुक्न थाले
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २२:२६:९
♦ दिलकुमार लिम्बू
२८ फागुन, फुङ्लिङ । ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको लिम्बूले बताए ।
विगतका वर्षमा पुसको तोस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यस वर्ष भने खासै हिमपात भएको छैन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ–५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए । उनले भने, “खासै हिमालमा हिउँ परेको छैन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।”
सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउनसक्नेमा चिन्ता छ । “यतिबेला पालो गरीगरी बोट भिजाउनुपर्ने हो”,उनले भने, “खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।”
साउनदेखि मंसिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । “पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन”, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने । “केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन)बाट सिँचाइ गरिरहेका छन् ।”
गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन् । न त हिमपात नै भएको छ । यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ ।
कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ ।
वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ । जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ ।
हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । विगतमा एक मन (४० किलो) को रु एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची रु ३५ हजारमा खरिद बिक्री भइरेको फुङ्लिङ नगरपालिका–५ का व्यापारी दिनेश अधिकारीले बताए । गत साता रु ३२ हजारमा कारोबार भएको अलैँची बुधबार रु ३५ हजारमा कारोबार भएको उनले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार