शीतलनिवासमा चहलपहलः एकको विदाई, अर्कोलाई स्वागत
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १६:४५:४१
२९ फागुन, काठमाडौं । देशको राष्ट्र प्रमुख रहने शीतलनिवास आज सोमबार दिनभर राष्ट्रपतिको स्वागत र विदाइमा व्यस्त रहने भएको छ । सात वर्ष शीतलनिवासमा बसेर राष्ट्रपतिको दुई कार्यकाल सम्हालेकी विद्यादेवी भण्डारी कार्यकाल सकिएर विदा हुँदैछिन भने नयाँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले शपथ ग्रहण गरेर कार्यभार सुरु गर्दैछन् ।
शपथ ग्रहण पछि बोहोराटारबाट राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवास सर्ने तयारीमा छन् । उनको आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम छ । त्यसपछि उनी शीतलनिवासमै रहने व्यवस्था मिलाउन खोजिएको छ । तर, समान सार्न केहि असहज हुने भएकाले राष्ट्रपति पौडेल साझ वा साइत मिलाएर मात्र सर्ने बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलको शपथग्रहण समारोहसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ कार्यक्रम राखिएको छ ।
निर्वतमान राष्ट्रपति भण्डारीले आइतबार साझ नै सबै राजनीतिक दलका नेतासँग विदाई भेट गरिसकेकी छिन् । शपथ ग्रहण र बिदाइ समारोहका १५ सयभन्दा बढीलाई आमन्त्रण गरिएको छ । नयाँ राष्ट्रपति पौडेल शीतलनिवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिनेछ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने भएका छन् । प्रधानन्यायाधीश नभएकाले उनले शपथ गराउन लागेका हुन् ।
नयाँ राष्ट्रपतिको शपथपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाई दिनेछिन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिने कार्यक्रम छ । त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाइ गरिनेछ । वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि बिदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । निवर्तमान राष्ट्रपति भण्डारी आजै शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्ने भएकी छन् ।
उनलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले जानकारी दिए । यसअघि उनले बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् । २०७२ को भूकम्पले क्षति पुगेको बूढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन । उनले आइतबार साँझ आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी थिइन् । भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी भएका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन् भने शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका थिए । दुई कार्यकाल राष्ट्रपति बनेर विद्यादेवी भण्डारी सोमबार शीतलनिवासबाट बाहिरिँदै छिन् । २०६५ जेठ १५ मा राजतन्त्र समाप्त भएपछि राष्ट्राध्यक्ष निर्वाचित हुने भण्डारी दोस्रो व्यक्ति हुन् ।
पहिलो महिला राष्ट्रपतिका रूपमा सात वर्षको कार्यकाल बिताएकी भण्डारीमाथि संविधान उल्लंघनमा मतियार बनेको देखि पार्टीगत पक्षधरता लिएको सम्मका आरोप लागेको छ । संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न दोस्रो पटकसमेत अस्वीकार गरेपछि संवैधानिक दायरा नाघेको भन्दै उनको आलोचना भएको थियो । पहिलो पटक दुवै संसद्को बहुमतले पारित गरेको नागरिकता विधेयकलाई सुझावसहित संघीय संसदमै फर्काएकी भण्डारीले दोस्रो पटक पनि त्यसलाई प्रमाणीकरण गरिनन्, जसले उनलाई विवादित बनायो ।
राष्ट्रपति भण्डारीको २२ महिने पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल बढी विवादित रह्यो । राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन प्रयास गरेको तथा सवारी हुँदा सडक घण्टौं सुनसान गराएकामा उनको आलोचना भइरह्यो । अतिविशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकले सास्ती पाउँदै आएका छन् । संवैधानिक निकायका पदाधिकारीले समेत दसैंमा राष्ट्रपति भण्डारीका अगाडि घुँडा टेकेर टीका थापेको विषय पनि विवादित बन्यो ।
निर्वाचित भएपछिका २ हजार ६ सय ९४ दिनमा राष्ट्रपति भण्डारीले महिला स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका विषयमा चासो देखाए पनि प्रभावकारी हस्तक्षेप गर्न सकेको देखिएन । ती दीर्घकालीनभन्दा पनि कार्यक्रमिक विषयका रूपमा मात्रै अघि आए । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाबाट सबै पदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउने प्रस्ताव पारित गराउन भण्डारीको नेतृत्वदायी भूमिका थियो । सामाजिक न्याय र महिला सशक्तीकरणमा जोड दिँदै उनले राष्ट्रपति महिला उत्थान कार्यक्रममा सकारात्मक भूमिका निर्वाह गरेकी थिइन् ।
भण्डारीमाथि पार्टीको गतिविधिमा बढी सक्रिय भएको आरोप पनि लाग्यो । पार्टीका कसलाई कुन पदमा पुर्याउनेदेखि मन्त्री र मुख्यमन्त्रीमा भाग खोज्ने विषयहरूमा समेत राष्ट्रपतिले चासो राखेका विषय बाहिरिए । नेकपाभित्र विवाद देखिँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भण्डारीले शीतलनिवासमा पटक–पटक बैठक आयोजना गरेकी थिइन् । संवैधानिक राष्ट्रपति भएर पनि भण्डारीले शीतलनिवासलाई छुट्टै शक्ति केन्द्रका रूपमा विकास गर्न खोजेको टीकाटिप्पणी भएका थिए । पछिल्लो समय राष्ट्रपति पदप्रति देशी–विदेशी शक्ति केन्द्रहरूको चासो बढ्नुको कारण पनि उनी आलोचित भइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार