संरक्षण नहुँदा लोपोन्मुख गिद्ध सङ्कटमा

नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १४:४१:१

३० फागुन, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् ।
पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ । पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् ।
उनले भने, “अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।”
फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन् । डगौराले भने, “प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध सङ्कटमा परेका छन्, आहार र बासस्थानको कमी भएपछि पलायन हुने गर्दछन् ।” प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ ।
पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड ुजनावरमा दुखाइ कम गर्ने औषधिु जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँदा पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञ बताउँछन् । साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका डगौराको भनाइ छ ।
चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे ‘सेतो गिद्ध’, राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गिद्ध पाइन्छन् । गिद्ध आफैले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् । उनीहरुले फोहर तथा हानिकारक मासुजन्य सिनो खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई स्वच्छ राख्न उनीहरुबाट मद्दत पुगेको हो ।
गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ । सरकारले गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरेकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने, “पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।”
संरक्षणका लागि पहल हुनसके गिद्ध लोप हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरी बताउछन । उनले भने, “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।” गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ ।
चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
फागुन १५, २०८१ बिहिबार
धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
फागुन १५, २०८१ बिहिबार
पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा
फागुन १५, २०८१ बिहिबार
हिउँदे खडेरीले वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
फागुन १५, २०८१ बिहिबार
आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
फागुन १५, २०८१ बिहिबार