उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
इन्द्र रिजाल
फागुन १७, २०७५ शुक्रबार १८:५८:४१
काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।
“दुई नेताबीच दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन निकै रचनात्मक र खुलस्त रुपमा विचारहरु आदानप्रदान भए,” केसीएनएले प्रकाशन गरेको समाचारमा जनाइएको छ । हनोई शिखर बैठक आपसी सम्मान र विश्वास निर्माण गर्न निकै महत्वपूर्ण ठहरिएको बताउँदै केसीएनएले दुबै मुलुकबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।
सात दशकदेखिको तनाब तथा आउँदा दिनमा सामना गर्नुपर्ने कठिनाईलाई विचार गरी दुबै मुलुकका जनताको इच्छा बमोजिम दुबै देशले महत्वपूर्ण प्रगति गर्ने केसीएनले बताएको छ । राष्ट्रपति ट्रम्प र नेता किमबीचको दुई दिने हनोई वार्ताको दोस्रो दिन राष्ट्रपति ट्रम्पले बीचमै स्थगन गरेका थिए ।
राष्ट्रपति ट्रम्पले हनोईमा पत्रकार सम्मेलन गरी उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका सबै प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त राखेपछि वार्तामा कुनै प्रगति हुन नसकेको बताए । तर उत्तर कोरियाका विदेश मन्त्री री योङ हो ले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक रुपमा फुकुवा गर्न बैठकमा आग्रह गरिएको स्पष्ट गरे ।
मन्त्री होले प्रतिबन्धका कारण उत्तर कोरियाली जनताको जीवनस्तरमै असर पार्न लागेकाले त्यस्तो प्रतिबन्ध आंशिक रुपमा फुकाउन आग्रह गरिएको जानकारी दिए ।
वार्तालाई निरन्तरता दिन्छौं – राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हनोई वार्ताका बारेमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी जानकारी दिए । ह्वाइट हाउसका अनुसार वासिङ्टन फर्कनेक्रममा राष्ट्रपति ट्रम्पले दुबै नेतालाई फोन गरेका थिए ।
ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग वार्तालाई निरन्तरता दिने र गठबन्धनका मुलुकसँग पनि सहकार्यलाई निरन्तरता दिने जानकारी गराउनुभएको बताए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई देशबीच अर्को वार्ता कहिले हुन्छ भन्नेमा मिति तय नभएको जानकारी दिँदै दुबै मुलुकबीच वार्तालाई घनिभूत गराउन आवश्यक रहेकामा जोड दिए ।
अब हाम्रो भूमिका अझ बढ्यो – राष्ट्रपति मून
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार राष्ट्रपति मून जाए–इनले “असफल देखिएको” उत्तर कोरिया र अमेरिकाबीचको वार्तालाई पुनः सही मार्गमा ल्याउन दक्षिण कोरियाले मध्यस्थता गर्ने बताए । कोरियाको स्वतन्त्रता दिवसका अवसरमा मन्तव्य राख्दै राष्ट्रपति मूनले हनोई शिखर वार्ता असफल नभएको चर्चा गर्दै वार्तामा अर्थपूर्ण प्रगति भएको बताए ।
उनले भने, “वार्तामा दुई मुलुकबीच सम्पर्क कार्यालय खोल्ने बारेमा छलफल भएको छ, र दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन यो निकै महत्वपूर्ण कदम हो । मैले राष्ट्रपति ट्रम्पलाई निकै विश्वास गरेको छु । उनले वार्तालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्, र निकै सकारात्मक धारणा राखेका छन् ।”
“अब हाम्रो भूमिका अझ बढेर गएको छ । मेरो सरकारले संयुक्तराज्य अमेरिका र उत्तर कोरियासँग अझ नजिकको सञ्चार तथा सहयोगात्मक सम्बन्ध विस्तार गर्नेछ । कुनै पनि किसिमले दुई मुलुक सहमतिमा पुगुन् भन्ने मेरो धारणा छ ।”
उत्तर कोरियाली नेता किम शनिबार स्वदेश फर्कने
हनोईमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन तोकिएको कार्यतालिकाभन्दा अघि नै शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । नेता किमले भियतनामको दुई दिने औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान १० बजे भियतनामको सीमावर्ती शहर दोङ दाङका लागि प्रस्थान गर्नेछन् ।
भियतनामको विदेश मन्त्रालयले शनिबार अपराह्न दोङ दाङतर्फ प्रस्थान गर्ने यसअघि जनाएको थियो । अमेरिकासँगको वार्तामा खासै प्रगति नभएका कारण नेता किमले भियतनाम भ्रमण छोट्याएको हुन सक्ने अनुमान गरिएको छ । नेता किमले शुक्रबार अपराह्न भियतनामका राष्ट्रपति न्यूयेन फू ट्रोङसँग भेटवार्ता गर्ने भएका छन्। उनलाई राष्ट्रपति कार्यालयमा सलामी अर्पण गरिनेछ ।
उहाँले प्रधानमन्त्री न्यूयेन छुआन फूकसँग भेटवार्ता गर्ने भएका छन् । स्रोतका अनुसार नेता किमले हनोईस्थित भियतनाम–उत्तर कोरिया मैत्री विद्यालयको भ्रमण पनि गर्ने भएका छन् । शनिबार स्वदेश फर्कनुअघि नेता किमले हो ची मिन्ह समाधीस्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । नेता किमले हनोईदेखि दोङ दाङसम्म करिब १७० किलोमिटर सडक मार्गका साथै त्यहाँबाट रेलबाट प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार