उदयपुर सिमेन्ट ध्वस्त बनाएका न्यौपानेले सरकारलाई दिए आफुलाई हटाएर देखाउन धम्की
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १९:४०:२
१७ वैशाख, काठमाडौं । कर्मचारी संयन्त्र र राजनीतिक तहबाट हुने नीतिगत भ्रष्टाचार निर्मूल बनाउने कसम खाएको सरकारी संयन्त्रले कुनै पनि सरकारी निकायमा पठाउने व्यक्तिबाट आर्थिक लाभ लिएर पठाएको छ भने त्यसले कस्तो नतिजा ल्याउँछ भन्ने उदाहरण बनेको छ यति बेला उदयपुर सिमेन्ट उद्योग । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले आफूलाई जिम्मेवारीबाट हटाएर देखाउन सरकारलाई नै चुनौती दिएका छन् ।
प्रचण्ड सरकारले नीतिगत निणर्य गरेर अहिले वितरण गर्न लागेको प्रतिव्यक्ति अयोग्य लडाकु भत्तालाई उदयपुर सिमेन्ट उद्योगमा लगानी गरेर लडाकु मित्रहरुलाई उद्योगको शेयर दिन पनि सकिन्छ । यता तिर पनि सोच्ने कि ? भन्दै महाप्रबन्धक न्यौपानेले सरकारलाई कडा व्यङग कसेका छन् । न्यौपानेले आफूलाई काम गर्ने वातावरण सरकारले नबनाएको भन्दै ‘मलाई हटाउन चाहेको भए मार्गप्रसस्त गर्न तयार छु तर उद्योगमा राजनीति नगरौं ।’ भन्दै सरकारलाई धम्कीपूर्ण चेतावनी पाि दिएका छन् । हिजो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लखेका उनले आज भने सो स्टाटस हटाएका छन् ।
न्यौपानेले उक्त उद्योगको जिम्मेवारी लिएपछि भएका अनेकौं भ्रष्टाचार जन्य कामले चलिरहेको उद्योग नै बन्द हुने अवस्था आएपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । यस्तो जानकारी पाएपछि न्यौपानेले आफूलाई हटाएर देखाउन धम्की दिएका छन् । न्यौपाने तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालमा महाप्रबन्धकको जिम्मेवारी लिएर उदयपुर सिमेन्ट गएका थिए । उक्त समयमा उनी नियमित छनोट प्रक्रियाबाट नै महाप्रबन्धक भएका थिए । तर, महाप्रबन्धककाे जिम्मेवारी लिएर गएदेखि न्यौपानेले उद्योगलाई नाफामुखी बनाएर चलाउनुको साटो डुब्ने अवस्थामा पुर्याएका छन् ।
नियमित प्रक्रियाबाट महाप्रबन्धकको जिम्मेवारीमा पुगेको भनिए पनि न्यौपानेले नेकपा एमालेको असली कार्यकर्ता भएकै आधारमा यो जिम्मेवारी पाएका थिए । उनी अहिले पनि एमालेको बुद्धिजीवी परिषदका केन्द्रीय कोषाध्यक्ष रहेका छन् । उनको कार्यकाल भने एक वर्ष अगाडि नै सकिएको थियो । कार्यकाल सकिए पनि उनले सिमेन्ट उद्योगबाट भइरहेको आयलाई गुमाउन चाहेका थिएनन् । यसैले उनले आफ्नो कार्यकाल लब्याउन साम र दामको प्रयोग गरेका थिए । उच्च राजनीतिक दवाव बनाएर बसेका न्यौपानेले पुनः एकवर्ष कार्यकाल थमाई छाडे ।
अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र दिलेन्द्र बडू उद्योग मन्त्री भएका बेला न्यौपानेको कार्यकाल एकवर्ष थपिएको थियो । थपिएको एक वर्षे कार्यकालमा उनले यो उद्योगलाई दुहुनु गाई बनाएका छन् । उनको कार्यकाल थप हुनुमा चौधरी समूहको पनि हात थियो । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक भएर जानु अगाडि उनी अरुण चौधरीकाे मारूती गाडी बिक्रेता कम्पनीमा म्यानेजरको रुपमा कार्यरत थिए । उदयपुर सिमेन्टमा गएदेखि नै न्याैपानेले उद्योगलाई व्यक्तिगत आएको स्रोत बनाएका थिए । उनको भ्रष्टाचार जन्य क्रियाकलाप बढेर गएपछि सरकारले हटाउने तयारी गरेको हो । हेर्नुस उनको स्टाटसः
उनी उद्योगको महाप्रबन्धकमा नियुक्त भएर गएपछि देशकै पुरानो उदयपुर सिमेन्ट उद्योग भ्रष्टाचारले थलिएको छ । सरकारी स्वामित्वमा सञ्चालित यस उद्योगमा सञ्चालक समिति र महाप्रबन्धकको मिलेमतोमा चरम आर्थिक अनियमितताले थलिएको कर्मचारी बताउँछन् । भ्रष्टाचारकै कारण उद्योग लगभग बन्द हुने अवस्थामा आइपुगेको छ । सञ्चालक समितिमा रहेका केही सदस्यलाई पनि उनले प्रभावमा पारेर उद्योगलाई दुहुनो गाई बनाइरहेको नेपाल मजदुर कारखाना श्रमिक संघका सदस्य भरोसी यादवले नेपालबहसलाई बताए ।
म्याद थपेर गएपछि न्यौपानेको यस्तो क्रियाकलाप बढेर गएको र उद्योग नै नासिने अवस्थामा पुगेको भन्दै त्यहाँ रहेका चार वटै कर्मचारी संगठनले पनि न्यौपानेलाई हटाउन माग गर्दै आन्दोलनकै घोषणा गरेका छन् । यसको तालुकदार मन्त्रालय उद्योग मन्त्रालयमा महाप्रबन्धक गोपी कृष्ण न्यौपानेदेखि प्रशासनमा बसेका कर्मचारीले लुट मच्चाइरहेको निवेदन समेत परेको छ । महाप्रबन्धक न्यौपानेसहितका उच्च कर्मचारीको चरम भ्रष्टाचारले सीमा नाघेपछि उद्योग बन्द हुने अवस्थामा आइपुगेको भन्दै उद्योगका कर्मचारी युनियनहरूले महाप्रबन्धक न्यौपानेको बर्खास्तीको मागसहित आन्दोलनको तयारी गरेको यादवले बताए ।
संघका अध्यक्ष यादवले दिएको जानकारी अनुसार पछिल्लो वर्ष न्यौपानेले भ्रष्टाचारका गतिविधि थप बढेर लगेका छन् । न्यौपानेले अतिथि सत्कारका नाममा पनि लुट मच्चाएका छन् । अतिथि सत्कारका लागि भनेर छुट्टाइएको मासिक २५ हजार रकम न्यौपानेले मासिक तलबका रुपमा लिने गरेका छन् । उनले महाप्रबन्धक भएदेखि नै यसरी मासिक रुपमा आउने अतिथि सत्कारको २५ हजार खर्च तलबका रुपमा लिँदै आएका हुन् । यदि कोही अतिथिकै रुपमा आइ पुगे भने न्यौपानेले यसका लागि अतिरिक्त खर्च माग गर्ने गरेका छन् । न्यौपाने प्रायः उद्योगमा नभेटिने भएकाले अतिथिहरू पनि खासै आउने गरेका छैनन् । तर, अतिरिक्तसहितको ४० हजारदेखि ८० हजारसम्म रकम भने उनले लिइरहेका छन् ।
यादवको भनाइमा न्यौपानेले उद्योगका कवाडी वस्तुबाटै धेरै घोटाला गरेका छन् । उद्योगमा भएका कवाडी सामानले उद्योगलाई नै कुरूप बनाएको भन्दै धेरै सामानहरू गत बर्ष टेण्डर गरेर कवाडीलाई बेचेका थिए । यसबाट कति रकम आयो भन्ने कुरा पनि उनले देखाएका छैनन् । उल्टै कवाडी पार्टीलाई घाटाको निवेदन लेख्न लगाएर न्यौपानेले साेही बेला पाँच ट्रक थपेर दिने निर्णय गराएका थिए । यसरी थपेर दिइएको पाँच ट्रक कवाडीको पैसा उनैले लिएको दावी गरिएकाे छ । यसका अलवा उनले कवाडी दिए बापत माेटाे रकम कमिसन पनि लिएकाे दावी गरिएकाे छ ।
कवाडी काण्डको छानबिन गर्न समिति बनाइएको थियो । समितिले प्रशासनकै कर्मचारी दोषी भएको किटान गरे पनि उनले ती कर्मचारी माथि कुनै कारबाही गरेका छैनन् । कर्मचारीसँग न्यौपानेको मिलेमतो भएकाले कारबाही नगरिएको हो । महिनामा चार दिन पनि उद्योगमा नजाने महाप्रबन्धक न्यौपानेले मासिक ८०/९० हजारका दरले आवास खर्च दिने लिँदै आएको बताइएकाे छ । यस्तै उद्योगभित्र अनेकौं अनियमितता गरेको उजुरीका आधारमा सरकारले उनलाई हटाउन खोजेको हो । तर, उनले विभिन्न सञ्चार माध्यममा आफूलाई हटाएर देखाउन नै चुनाैति दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार