घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार ११:१:०
♦ कमल खत्री
१९ वैशाख, बेनी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उनकी जीवनसाथी राममायाले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराएका थिए ।
जति सङ्घर्ष गरेर छोरा–छोरीको हुकाइ, पढाइ गरे पुर्जा दम्पतीले, उस्तै सन्तोषको नतिजा पनि पाएका छन् आफ्ना सन्ततिबाट । पुर्जा दम्पतीका चार छोरी नै अहिले सरकारी सेवामा छन् । कान्छी छोरी स्मृति काठमाडौं उपत्यका विकास प्राधिकरणको लेखा अधिकृत (अधिकृत सातौँ तह)मा कार्यरत छन् । व्यवस्थापन र कानुनतर्फ स्नातकोत्तर अध्ययनरत उनले २०७६ देखि सरकारी सेवामा लोकसेवा आयोग उत्तीर्ण गरेर प्रवेश गरेकी हुन् ।
अन्य तीन दिदी–बहिनी भने स्थायी शिक्षण पेसामा छन् । शिक्षक सेवा आयोगको–२०७९ को परीक्षामा उत्तीर्ण भएर जेठी छोरी कल्पना र साहिली निलमले प्राथमिक तहमा स्थायी भएका छन् । माहिली छोरी चन्दाले पनि गत वर्षकै शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण भएर निमावि तहमा स्थायी भएकी छिन् । उनले २०७१ मा प्रावि स्थायी भएर शिक्षण गर्दै आएकी थिइन् । कल्पना र चन्दाले स्नातक तह उत्तीर्ण गरेका छन् भनेर निलमले स्नातक तहको अध्ययनलाई शिक्षणसँगसँगै अगाडि बढाएकी छिन् ।
शिक्षक पदमा स्थायी भएका तीन दिदी–बहिनीमध्ये चन्दा र निलम अस्थायी र करारमा नियुक्त भएर शिक्षण पेसामा आबद्ध भए पनि कल्पना भने एक दशक बढी समय सञ्चारकर्मीका रूपमा काम गरेर शिक्षण पेसामा लागेकी हुन् । म्याग्दी सदरमुकाम बेनीको म्याग्दीकाली एफएम, रेडियो म्याग्दी हुँदै पर्वतको रेडियो दिदी–बहिनी र पोखराको रेडियो जननीमा १२ वर्ष सञ्चारकर्ममा बिताएकी पुर्जाले शिक्षक बनेर सेवा गर्ने रुचि जागेपछि शिक्षण पेसामा फर्किएको बताइन् ।
“सञ्चार क्षेत्रमा लागेर आफ्नो अध्ययनलाई पनि सँगसँगै अघि बढाएँ, आफूले पढेका र सिकेका धेरै कुराहरू अब बालबालिकालाई सिकाउने पेसामा छु”, पुर्जाले भनिन् । स्थायी शिक्षक बनेका तीन दिदी–बहिनीमध्ये कल्पना अन्नपूर्ण–५ शिखको शिख माविमा नियुक्त भएको छ भने चन्दा र निलम आफैँले प्रारम्भिक तहको शिक्षा लिएको देउराली आधारभूत विद्यालयमा कार्यरत छन् । पुर्जा दम्पतीका एकमात्रै छोरा मीनबहादुर भने १२ कक्षासम्मको अध्ययन पूरा गरेर थप अध्ययन र रोजगारीका लागि जापान पुगेको छ ।
जीवनका सङ्कट र सकसपूर्ण अवस्थाका बीच छोराछोरीलाई शिक्षा दिलाउन सफल भएका पुर्जा दम्पतीको दैनिकी अहिले सहज भएको छ । गोठथरि छाडेर उनीहरु अहिले घरमै सामान्य खेती–किसानीमा रमाएक छन् । “धेरै सन्तान भएपछि उनीहरूलाई हुर्काउन, बढाउन, पढाउन निकै सङ्घर्ष भयो, आम्दानीको स्रोत थिएन, गोठमा गाईभैँसी पालेर घिउ र वस्तुभाउ बेचेर हुने आम्दानीले उनीहरूको पढाइ खर्च जुटाउनुपथ्र्यो, अहिले सबै छोरी सरकारी जागिरे बनेका छन्, हामीलाई ठूलो सन्तोष मिलेको छ”, ओमबहादुरले भने ।
मगर समुदायमा उच्च शिक्षा अध्ययनपछि विकसित मुलुकमा जाने लहर चलिरहेको समयमा दुर्गम ग्रामीण बस्तीका रूपमा परिचित राम्चेका चार दिदी–बहिनीको सरकारी सेवामा भएको प्रवेशले नयाँ विद्यार्थीहरूमा स्वदेशमै सङ्घर्ष गर्ने प्रेरणा दिएको देउराली आधारभूत विद्यालयका प्रधानध्यापक अविर गर्बुजाले बताए ।
“चारै जनाले आधारभूत तहको शिक्षा यसै विद्यालयबाट लिएका हुन्, सानैदेखि उनीहरूमा अध्ययनप्रति रुचि थियो, अहिले दुई जना यसै विद्यालयमा स्थायी शिक्षक भएर आउनु गौरवको विषय हो, अन्य विद्यार्थीहरूका लागि पनि उहाँहरूको दिदी–बहिनीहरू उदाहरण बन्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ”, प्रअ गर्बुजाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार