जालसाजी मुद्दाका पीडितको ९ वर्षदेखि अदालतमै बास, कहिले हुन्छ न्याय ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १३:४९:५७
•तुलसी बाँस्काेटा
२६ वैशाख, काठमाडौं । जाल साजी गिरोहको चंगुलमा फसेका काठमाडौं कपनका दीपक खत्रीले न्यायका लागि अदालत धाएको ९ वर्ष बित्यो तर, अझै उनले न्याय पाएका छैनन् । उनलाई चिनजानकै एक छिमेकी महिला सम्मिलित गिरोहले नशालु पदार्थ सेवन गराई लेनदेनको कागजमा औँठाछाप गराएर रकम असुल गर्न भन्दै अदालतमा जाहेरी दिएको थियो । त्यस यता खत्री यो जाल साजी मुद्दा खेपिरहेका छन् ।
पीडितले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा ९ वर्ष बितिसक्दा पनि विचाराधीन मै अड्किएको छ । मुद्दा दायर गरेको लामो समय बितिसक्दा पनि सर्वोच्च अदालतबाट मुद्दा फैसला नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् । उनी ९ वर्षदेखि न्यायका लागि सर्वोच्च धाएका धाएका छन् । तर, उनको मुद्दाले कहिल्यै पालो पाएको छैन ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी ४८ वर्षीय दीपक खत्रीले आफूमाथि जाल साजी भएको भन्दै मिति २०७१ भदौ २७ गते प्रतिवादी मायादेवी खत्रीको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बस्ने वर्ष ५१ को मायादेवी खत्रीले बोलाएर नसालु पदार्थ खुवाई बेहोस बनाएर मिति २०६६/६/२ मा ३५ लाख रूपैयाँ सापटी लिएको लेनदेनको लिखत बनाई सहीछाप गराएको भनेर वादी दीपक खत्रीले आरोप लगाएको आरोप पत्रमा उल्लेख छ ।
पीडित खत्रीले यस भन्दा अघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा न्यायको हारगुहार गरे पनि फैसला उनको विपक्षमै सुनाइयो । दुवै तहको अदालतबाट उनले न्याय पाउन नसकेपछि सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरी निस्सा प्राप्त गरिसकेका छन् उनले सर्वोच्च अदालतमा न्यायको लागि धाउँदा धाउँदा ९ वर्ष बिताइसकेका छन् । हाल आफू, बाबु र आफन्त नाममा रहेको चलअचल सम्पत्ति समेत अदालतमा रोक्का रहेकोले अंशवण्डा गर्न, बेचविखन गर्न र दैनिक जीवनयापन गर्न पनि ज्यादै समस्या पर्दै आएको उनले बताए ।
प्रतिवादीले भनेजस्तो दीपक खत्रीले कुनै रकम ऋण नलिएको र कागजमा उल्लेख गरिए बमोजिम घरको तल्ला पनि थप्ने कार्य नभएको बताउँदै आएका छन् । घटना विवरण अनुसार प्रतिवादी माया खत्रीसँग दीपकको १० वर्ष पहिले देखिकै चिनजान रहेको थियो । सोही क्रममा एक दिन शुक्रबार रमाइलोसँगै मनाउ भनेर मायादेवी खत्रीले दीपकलाई उनकै साथी निकिता विश्वकर्माको कपनको साततलेस्थित डेरामा बोलाएकी थिइन् ।
उनकै भनाइमा दीपक डेरामा पुग्दा निकिता विश्वकर्मा, प्रतिवादी मायादेवी खत्री, रमा चालिसे शेर्पा र चन्दा मगर पहिले नै उपस्थित रहेका थिए । डेरामा पुगेपछि मायादेवीको अनुरोधमा दीपकले मासु र रुसल्याण्ड नामको भोड्का किन्न ३ हजार रूपैयाँ दिएका थिए । त्यस दिन रक्सीमा उनीमाथि विष राखेर सेवन गराइएको थियो । त्यस दिन रक्सीमा नशालु पर्दा मिसाएकाले केही क्षणमै आफू बेहोस भएका थिए । उनी वेहोस भएपछि गिरोहसँग सम्मिलित महिलाले नक्कली लेनदेनको कागज बनाए उसमा खत्रीको ल्याप्चे लगाएकी थिएन ।
खत्री होसमा नभएको मौका छोपी उनीहरूले आफ्नो लेनदेनको कागजमा सहीछाप गराई राखेको अवस्थामा भेटियो । भोलिपल्ट नुहाउने क्रममा हातमा कालो मसी लागेको देखि सोधखोज गर्दा केही गरेको होइन भन्ने जवाफ ति महिलाले दिएकी थिइन् । उक्त कुरा निकिता विश्वकर्माले केही दिनपछि उक्त कागजमा सही गराइ दिलाए वापत ५० हजार दिन्छु भनेर मायादेवी खत्रीले काम लगाएको तर नदिएको भनेर आफ्नो गल्ती समेत स्वीकार गरेपछि उनीहरूको षडयन्त्रको बारेमा थाहा भएको थियो ।
लिखतमा साक्षी बस्नेहरूले समेत लेनदेन भएको भन्ने आफूहरूलाई थाहा नभएको बताए । आफूले होस हवासमा रहँदा कुनै पनि कागजमा सहीछाप नगरेको र उनीहरूसँग पैसा समेत नमागेको दीपकले बताएका छन् । लिखतमा उल्लेख भएजस्तो घरको तल्ला थप्ने वा घर बनाउने र कुनै घरायसी समस्या नभएको र आफूसँग त्यस बेला पर्याप्त रकम साथमै रहेकाले कुनै ऋण लिने मनसाय समेत नभएको उनले बताएका छन् ।
निज मायादेवी खत्रीसँग कुनै आर्थिक हैसियतसमेत नरहेको र उनीसँग ऋण माग्ने भन्ने कुरै नआउने खत्री बताउँछन् । मायादेवीसँग त्यस बेला ३५ लाख कहाँबाट कसरी दिइन भन्नेमा साक्षी र वरपरका छिमेकीसमेत आश्चर्य प्रकट गरिरहेका छन् । मायादेवीले रकम दिएको नगद हो वा चेक वा कुनै माध्यम पनि खुलाउन सकेकी छैनन् । ३५ लाख नगदको श्रोत र वचतको मौज्दातको कुनै कानुनी आधारको कागज मायादेवी खत्रीसँग छैन । यसरी प्रमाण नहुँदा समेत अदालतले पीडितलाई न्याय दिन सकिरहेको छैन ।
लिखतमा लिखतको मस्यौदाकार रमेश पौडेलको सहीछाप देखिए पनि उनको रोहवरमा आफूले रकम लेनदेन नगरेको उनको भनाई छ । मस्यौदाकारको रोहवरमा लेनदेन नभए साक्षी सहीछाप गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । तर मस्यौदाकार अहिलेसम्म कानुनी सजायबाट उम्किरहेका छन् । यस्तै रक्सी खरिद गरेको पसलका साउनी रेणु महर्जनले रक्सीमा नशालु पदार्थ मिसाएर दीपकलाई खुवाइएको र कागज गराइएको भन्दै यस विषयमा अदालतमा समेत बयान दिन तयार रहेकी छन् ।
रकम भागबन्डा नमिलेर घटना बाहिर आएको भनाइ उनको छ । यसरी लेनदेन नै नभएको फर्जी कागज बनाएर आफूमाथि सुनियोजित रुपमा षडयन्त्र गरेर रकम लिएको कागज बनाएकोमा न्याय खोज्न लामो समयदेखि दीपक खत्री अदालतको ढोकामा धाइरहेका छन् । सर्वोच्चले न्याय दिने उनको आसा छ तर, उनको मुद्दामा कहिलै पेशी नै चढ्दैन । मुद्दाको फैसला नहुँदा उनको कारोबारसमेत रोकिएको छ ।
के थियो घटना ?
पहिले देखि नै काठमाडौंको बुढानिलकण्ठका स्थायी बासिन्दा दीपक खत्री पेशाले राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको सवारी चालक हुन् । दोलखा जिल्लाको साविक मागापौवा गा.वि.स. (हाल शैलुङ गाउँपालिका) घर भइ बुढानिलकण्ठको वडा नं. १२ मा बस्ने मायादेवीसँग एउटै क्षेत्रमा बस्ने भएकाले दीपकको चिनजान भएको थियो । उनीहरूबीच पछिल्लो समय नियमित जसो भेटघाट हुने तथा खानपान पनि सँगै हुने गरेको थियो ।
यसै सिलसिलामा २०७१ सालको भदौ २७ गते दीपकलाई मायादेवीले आफ्नी साथी निकिता विश्वकर्माको कोठामा बेलुका खानपिनको लागि बोलाइन् । कपनको सात तले भन्ने स्थानमा रहेको निकिताको कोठामा पुग्दा अर्की नचिनेकी एक महिला र तीन पुरुषहरु पनि देखेको भनाइ दीपकको छ ।
उनी त्यहाँ पुगेपछि मासु र रक्सी खाने भन्दै मायादेवीले दीपकसँग प्रस्ताव गर्छिन् । उनीहरूबीच मासु र रक्सी खाने सहमति भएपछि दीपकले नै तीन हजार दिन्छन् । त्यहाँ जम्मा भएकाहरू मध्येबाट रक्सी र चिउरा मगाएपछि निकिता र मायादेवी मिलेर मासु पकाउँछन् भने सबै जनाले रक्सी र मासु खान्छन् । यसरी जुट्ने र खानपिन गर्ने पहिलेदेखिकै निरन्तरतामा उनीहरू त्यो दिन पनि जम्मा भएको दीपकले बताए । रक्सी र मासु खाँदा खाँदै आफू निदाएको भनाइ दीपकको छ ।
बिहान बिउँझे पछि आफ्नो घरमा गइ नुहाउन लाग्दा आफ्नो दुवै हातका बुढी औँलामा मसी लतपतिएको देखेपछि कसैले केही गडबढी त गरेको छैन ? भनेर मायादेवीलाई सोध्दा उनले कसैले केही गरेको छैन भन्ने जवाफ दिएकोले आफू सशंकित भएको उनले बताए ।
आफूमाथि जाल साची भएको शंका लागेपछि उनले महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरीको प्रयाससमेत गरेका थिए । तर, जाल साची गरेको कुनै प्रमाण नदेखिएपछि त्यति बेला प्रहरीले कुनै पनि कारबाही प्रक्रिया अगाडि बढाएन ।
दीपकका अनुसार त्यसपछि पनि उनीहरूबीच पहिलेकै जस्तो नियमित भेटघाट हुने गरेको थियो । तर मंंसिरको अन्तिम साता म्याद लिएर अदालतका कर्मचारी घरमै आउँदा भने उनी छक्क परे । ‘मायादेवीबाट मैले २०६६ सालको असोज २ गते ३५ लाख लिएको र नतिरेकोले दिलाई पाउनको लागि उनले मेरा विरुद्ध मुद्दा हालेपछि त्यसको म्याद तामेलका लागि अदालतका कर्मचारी मेरो घरमा आएका रहेछन् ।’– दीपकले न्युज हाउस नेपालसँग भने ।
काठमाडौं जिल्ला अदालतमा मायादेवीले दीपकका विरुद्ध पाँच वर्षभित्र साँवा ब्याज तिर्ने गरी ३५ लाख रुपैयाँ ऋण लिएको र भाखाभित्र नतिरी माग्न जाँदा उल्टै जो सकेको गर भनी ठाडो जवाफ दिएकोले उक्त साँवा रकम र उक्त मितिदेखि १० प्रतिशतले हुन आउने ब्याज १७ लाख ८५ हजार ८८९ रूपैयाँसमेत भराउन माग राखेर मुद्दा हालेको थाहा पाएको उनले बताए । उक्त मुद्धामा सोधपुछ हुँदा दीपकले जे सत्य थियो त्यही बताएको सुनाए ।
आफूले गल्ती नगरेकोले नखाएको विष नलाग्ने र कानुनले पनि त्यसलाई बुझ्ने विश्वास दीपकमा थियो । उनले जिल्ला अदालत समक्ष त्यही विश्वासको कुरा भनिरहे । आफूले होस हवासमा हुँदा कुनै लिखत नगरेको र मायादेवीले भने बमोजिमको रकम नलिएको जिकिर गरिरहे । विश्वास नलागे आफ्नो सहीछाप जाँच गर्न पनि उनले आग्रह गरे ।
जिल्ला अदालतले उनको आग्रह स्विकार गर्दै सहिछापको नमुना जाँच गर्नका लागि राष्ट्रिय विधि–विज्ञान प्रयोगशालालाई आदेश दियो । अदालतको आदेश बमोजिम प्रयोगशालाका विशेषज्ञ वासुदेव के.सी.ले गरेको परीक्षणमा दीपक खत्रीको वायाँ ल्याप्चे २०६६ असोज २ गतेको तमसुकको १८ औं हरफलाई छुने गरी लगाएको ल्याप्चेसँग मिल्छ भन्ने राय दिएको तर उनको नागरिकतामा भएको दस्तखत तथा नमुनाका रुपमा लिएको दस्तखतसँग उक्त कपाली तमसुकको शीर र पुछारमा भएको दस्तखत मिल्दैन भन्ने स्पष्ट खुलाइएको छ ।
जसले गर्दा दीपकले आफूलाई न्याय मिल्ने आशा जागेको बताए । दीपकसँग अदालत सामु ल्याप्चे र सहीछाप आफूले गरेको होइन भन्नु बाहेक अरु प्रमाण जुटाउने आधार पनि केही थिएन । आफ्नो भनाइ पुष्टि गर्नको लागि अपनाइएको वैज्ञानिक विधिलाई कानुनले पनि सर्वोपरि मान्नेमा उनी ढुक्क थिए ।
दीपकको विश्वास त्यति बेला टुट्यो, जब काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनले मायादेवीको माग दावी बमोजिम रकम तिर्नुपर्ने फैसला सुनायो । जिल्ला अदालतले आफूलाई न्याय दिलाउनुको सट्टा अन्याय गरेको उनले सुनाए ।
काठमाडौं जिल्ला अदालतको २०७३ साल असार ३० गतेको फैसला विरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरे । उच्च अदालतका न्यायाधीश द्वय केशवराज जोशी र अच्युत प्रसाद भण्डारीको इजलासले २०७४ फागुन २१ गते जिल्लाकै फैसला सदर गरिदियो । दुई तहका अदालतबाट हारेपछि दीपकले दायर गरेको मुद्दा सर्वोच्च अदालतमै विचाराधीन छ । सर्वोच्च अदालतबाट भने आफूलाई न्याय मिल्ने आशा उनले जीवितै राखेका छन् ।
उनको मुद्दाको किनारा नलाग्नाले रोक्का राखेको सबै जायजेथा श्रीसम्पतिसमेत अंशवण्डा गर्न र बेचबिखन गर्न रोकिएको छ । यही मुद्दाको तनावमा परेका उनका बुवाको निधन भइसकेको छ । रोक्का राखेको अचल सम्पति चलाउन नपाउँदा दैनिक जीवनयापनमा पनि उनलाई सकस छ ।
विदुर केसीको षडयन्त्रमा आफन्त बने साक्षी
यस प्रकरणमा पीडित दीपक खत्रीले आफू स्थानीय विदुर केसीको षडयन्त्रको सिकार भएको बताएका छन् । केसीले आफ्नो निकट रहेका अधिवक्ता रमेश पौडेललाई कपाली तमसुकको मस्यौदा बनाउन लगाएको र पौडेलले पनि लिखतका सामान्य सिद्धान्तको समेत ख्याल नगरी तमसुक तयार पारेको आरोप उनको छ ।
अधिवक्ता पौडेलले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा लिखत तयार गर्दाका बखत दुवैलाई सामान्य रुपमा चिनेको बताएका छन् ।उनीहरूसँग नाता वा लेनदेन केही नभएको उनको प्रष्टीकरण छ । उनले उक्त लिखत डिल्लीबजार मालपोत कार्यालयमा काम विशेषले गएको समयमा नजिकैको चिया पसलमा बसी कम्प्युटर टाइप गरी लिखत साक्षी बसी लेखेको बताएका छन् । उनले तमसुक लेखिरहेको समयमा वादी प्रतिवादी दुबैले रकम लेनादेना गरिरहेको देखेको तर आफूले नगनेको कारण बाँकी कुरा थाहा छैन भनेका छन् । उनले अदालत समक्ष गरेको बयान नै बाझिएको छ ।
एकातिर आफूले पाएको लाइसेन्सको दुरुपयोग गरि झुटा विवरणको कपाली तमसुक लेख्ने, देख्दै नदेखेको लेनादेना व्यवहार देखेको भन्ने तर कति लेनदेन भएको भन्ने बारेमा चाहिँ थाहा छैन भन्ने विवादास्पद बयान दिने अधिवक्ता पौडेलसमेत कारबाहीको भागिदार हुनुपर्ने विचार दीपकको छ ।
कुनै पनि लेनदेन वा अन्य प्रयोजनमा लिखत तयार गर्दा दुवै पक्षका साँक्षीहरु राख्नु पर्ने हो । तर उक्त कपाली तमसुकमा बिदुर केसीले आफन्तलाई मात्र साक्षी राखेका छन् । अदालतले साक्षीको प्रमाण खोज्दा विदुरले एक जना खोजी भएका बखत उपस्थित गराउने बताएर पन्छिएका छन् भने काठमाडौंको धर्मस्थलीका दिनेश बानियाँ केसीकी फूपुको देवरको छोरा भएको खुलेको छ । त्यसै गरी, मुद्दाको फिरादपत्रवाला पुरुषोत्तम खड्का पनि केसीकै ज्वाईं नाता पर्ने खुलेको छ ।
पछिल्लो समय मायादेवीसँग अत्यन्त निकट र नियमित उठबसमा रहेका केसीकै योजनामा आफन्तहरूको प्रयोग गरेर आफूलाई फसाएको दुखेसो दीपकले पोखे । कपाली तमसुकमा किनाराका साक्षीको रुपमा हस्ताक्षर गर्ने काठमाडौं ज्ञानेश्वरका दीपक भट्टराई मायादेवीको भिनाजु नाता पर्ने र कलंकीका महेश्वर खड्का पनि केसीकै पारिवारिक नाताभित्रका रहेको उनले बताए ।
अदालत वा सरोकारवाला निकायमा जाँदा आफ्नो पक्षमा बयान गराउन सजिलो होस् भन्ने खराब मनसाय राखेर केसीले आफन्तहरूलाई साक्षी राखेको उनको भनाइ छ ।
यस प्रकरणका बारेमा बुझ्न मायादेवी खत्रीलाई पटक–पटक सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ गरिएको थियो । फोन उठाएका बिदुर केसीले भने सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा केही बोल्न नमिल्ने बताए । विषयका बारेमा प्रश्न गर्नासाथ निकै आक्रोशित बनेका केसीले मिडिया दर्ता छ कि छैन ? भन्ने प्रतिप्रश्न गरे ।
आफ्नो नम्बर कसले दियो भन्दै उनले आक्रोश पोखे । दुई चरण मुद्दा जितिसकेको बताएका उनले त्यति बेला किन चुप लागेको र अहिले मुद्दाको विषयमा प्रश्न सोधेको भन्दै आफ्नो संलग्नता पुष्टि गरे । साभारः न्युज हाउस नेपालबाट
(क्षमाप्रार्थी छाैंः न्युज हाउस नेपालका पत्रकार तुलसी बाँस्काेटाले तयार पारेकाे याे फिचर सामाग्रीमा गलत सूचना र मिस लिड भइ नेपालबहसमा समाचार प्रकाशन हुन गएकाेमा उहाँहरूलाई पर्न गएकाे असुविधा प्रति क्षमायाचना गर्दछाैं । तुलसी बाँस्काेटाकाे सूचना पछि सच्चाइएकाे छ । सम्पादक)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार