दश महिनाको शोधनान्तर दुई खर्ब १४ अर्बले बचतमा रहँदा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:४५:३७
२६ जेठ, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ । यसले अर्थतन्त्रमा बाह्य क्षेत्रमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार गतवर्ष अत्याधिक घाटामा रहेको शोधनान्तर यो वर्ष बचतमा गएको हो ।
यसअघि चैत मसान्तसम्म सोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा थियो । एक महिनाको अवधिमा साढे ३४ अर्ब रुपैयाँ थप भएको तथ्यांकले देखाएको छ । गतवर्ष दुई खर्ब ८८ अर्ब रुपैयाँले शोधनान्तर घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ६३ करोडले बचतमा रहेको छ ।
चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा छ ।
पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु. ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद् प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।
रेमिट्यान्स बढ्यो
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३.४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह पोहोरभन्दा १३.४ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । जसले गर्दा रेमिट्यान्स रकम वृद्धिमा उल्लेख्य टेवा पुगेको हो । १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।
विदेशी विनिमय सञ्चिति
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको र यसले ९.७ महिनाको आयात धान्न पुग्ने जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तसम्ममा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत
काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । यस वर्ष वस्तु आयातमा आएको उल्लेख कमी, रेमिट्यान्स र पर्यटन आयमा भएको सुधारको सकारात्मक प्रभाव शोधनान्तरमा देखिएको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी (ईसीसएफ) अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।
पूर्णपाठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार