बेहाल प्रजातन्त्रः कांग्रेसको प्रजातान्त्रिक बाटो कमजोर बन्दै गएको हो ?
भेषराज पोखरेल
जेठ २७, २०८० शनिबार ७:४४:४४
देश आर्थिक रुपमा कमजोर, राजनीतिक रुपमा अस्तव्यस्त भएको बेला प्रजातान्त्रिक दल पनि कमजोर बन्दै गएमा के हुन्छ ? अहिले देश आर्थिक रुपमा कमजोर र अस्तव्यस्त भइरहँदा नेपाली कांग्रेस कमजोर तथा दिशाहीन बन्ने बाटोमा आएको छ । कांग्रेसका महामन्त्रीहरूले सार्वजनिक रुपमै सभापतिले गल्ती गरे, त्यसको जिम्मेवारी लिँदैनौँ भनिरहेका छन् ।
तेस्रो तहका युवा नेताहरूले कांग्रेस रुपान्तरणको अभियान चलाइरहेका छन् । संस्थापन पक्ष भने सत्ताको चास्नी र पार्टीमा आफ्नो स्थान बलियो दिँदासम्म दायाँ–बाँयाँ नगर्ने पक्षमा देखिएको छ । संस्थापनइतर समूहको जस्तो देखिए पनि कांग्रेसका तेस्रो तहका युवा नेताहरूको समूहले पार्टी रुपान्तरणका लागि स्वतन्त्र रुपमा छलफल चलाइरहेको छ । संस्थापन पक्षले महामन्त्रीहरूलाई संकेत गर्दै आफूहरूले केही काम गर्न नसक्ने सभापतिलाई दोष दिने ? भनिरहेको छ ।
कांग्रेसका भ्रातृसंगठनहरु लथालिङ्गकाे अवस्थामा छन् भने शुभेच्छुक संगठनहरु पनि त्यही अवस्थामा छन् । अहिले कांग्रेस पार्टीको सबै तहमा भेला गरेर पार्टीभित्र के समस्या छ ? त्यसको समाधान के हुन सक्छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा कस्ता परिवर्तन आएका छन् ? त्यस विषयमा पार्टीले कस्तो नीति लिने भन्ने कुरा पार्टी भेलामा विशद छलफल गरेर दह्रो निष्कर्षमा पुग्नुपर्नेमा दुवै तर्फबाट दन्तबजान मात्रै भएका छन् । यस्तो अवस्थामा कांग्रेसले देश र जनताको पक्षमा काम गर्न सक्ला ? प्रश्न उठेको छ ।
पछिल्लो समय कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भए पनि कमजोर देखिएको छ । गठबन्धनको अवस्था अनुसार कांग्रेसले सत्ताको नेतृत्व नगरे पनि उसले हैसियत अनुसार मन्त्रालय पाएको छ । यस्तो अवस्थामा कांग्रेसले पूरै राज्यसंयन्त्रमा परिवर्तन गरेर जनताको चासोलाई सम्बोधन गर्न सक्थ्यो । नीतिगत रुपमा यो सुधार हुनैपर्छ भनेर व्यापक पहल गर्न सक्थ्यो । तल्लो तहसम्मका नेता, कार्यकर्तालाई पूर्ण रुपमा सक्रिय बनाएर कांग्रेसले राज्य सञ्चालन क्षमता तथा नीतिगत क्षमताको पहिचान दिन सक्थ्यो । अहिले कांग्रेस यो अवस्थामा छैन । संस्थापन पक्षले जुनसुकै शक्ति लगाएर भए पनि आफूलाई बलियो बनाउन तिर लाग्यो ।
अहिले संस्थापन पक्षका पर्याप्त मन्त्री बनेका छन् । तल्लो तहसम्म आफ्नै पकड बनाएको छ, ढुक्क छ । जनताका समस्या के छन् ? उनीहरूले के चाहन्छन् ? भन्ने कुरामा चासो छैन । यति मात्रै होइन युवा र शिक्षित तथा जनताको भरोसा भएका महामन्त्रीद्वय पनि अहिले किंकर्तव्यविमूढकाे अवस्थामा छन् । उनीहरूले के काम गरेर देखाउनुपर्ने हो त्यसको पहिचान गरेर आफ्नो क्षमता देखाउन सकेका छैनन् । पछिल्लो समय सरकारको काम गराइ, पार्टीका प्रतिबद्धता तथा संगठनलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि भुले जस्तो छ । उनीहरूले पार्टीभित्र छलफल गरेर सुधार गरी जानुपर्ने कुरा पनि बाहिर भाषणका क्रममा व्यक्त गर्नुपर्ने अवस्था आएको छ । सरकारका सम्बन्धमा पनि त्यस्तै भएको छ । यस्तो अवस्थामा पार्टीमा सुधार कसरी होला ?
पछिल्लो समय कांग्रेसभित्र कुनै पनि विषय छलफल हुन छाडेको अवस्थामा कांग्रेसका तेस्रो तहका नेताहरूले कांग्रेस रुपान्तरण अभियान चलाएर केही आशाका किरण जगाएका छन् । संस्थापन पक्षले चासो दिने कुरा त भएन महामन्त्रीद्वयको अलमललाई समेत चिरेर रुपान्तरणको बहसलाई देशभर पुर्याउनु भनेको ठूलै प्रजातान्त्रिक अभ्यास मान्नुपर्छ ।
कुनै पनि बहस, विश्लेषणलाई भाउ नदिने संस्थापन पक्षले त यसलाई खारेज नै गरिदिने भयो, सो पक्षलाई टसमस पार्न त नसकिएला तर यसले कांग्रेसको पार्टी जीवनलाई ऊर्जा प्रदान गर्नेछ । नेतृत्वका कमीकमजोरीका बारेमा तल्लो तहका नेता, कार्यकर्ताले पनि जान्ने मौका पाए । यसलाई सकारात्मक मान्नुपर्छ । यसले पार्टी नेतृत्वले टेरेन भने पनि स्वतन्त्र रुपमा बहस छेडेर केही निष्कर्ष निकाल्न सकिन्छ भन्ने देखाएको छ । अन्य कम्युनिष्ट ठूला, साना दल जसले आफूलाई लोकतान्त्रिक मान्छन् तिनका नेतृत्व विरुद्धमा कुनै पनि युवा नेता, कार्यकर्ताले बहसको कुरा त छाडौं, सामान्य आवाज उठाउन नसक्ने अवस्थामा कांग्रेस युवाहरूले यस्तो अभियान चलाउनु राजनीतिक रुपमा धेरै ठूलो कुरा हो ।
कांग्रेस इतिहास बोकेको प्रजातान्त्रिक दल हो । उसले गरेका कुनै पनि निर्णय आक्रोशमा नभएर गम्भीर तथा देश र जनताको पक्षमा हुन्छन् भन्ने मान्यता आम जनमानसमा रहँदै आयो जसले गर्दा कांग्रेसले सबै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दा जनताले साथ दिँदै आए । पछिल्लो समयमा भने कांग्रेसले त्यो छवि गुमाउँदै गएको छ । पार्टी, उसको नेतृत्वको सरकार वा मन्त्रीहरूले गरेका राम्रा कामलाई पनि जनताले शंकाको आँखाले हेरेको पाइन्छ । कतै ठूलै कमजोरी लुकेको त छैन भन्ने गरी संशयको आँखाले हेरेको देखिन्छ ।
अर्को, कांग्रेसको कमजोर आन्तरिक प्रजातन्त्र र नीतिहरू लागू गराउने हैसियत गुमाउँदै गएकाले उसले अगाडि सारेका आर्थिक नीति व्यवसायी तथा उद्योगपतिले मान्दैनन् । कर्मचारीले कांग्रेस सरकार वा मन्त्रीका राम्रा नीति, निर्णयलाई पनि कमजोर बनाइदिने अवस्था बन्दै गएको छ । अहिले कांग्रेसका अर्थमन्त्रीले ठूला विद्युतका आयोजना स्वाभाविक रुपमा सम्झौता गरे पनि देशको विरुद्धमा छ कि भन्ने शंका गर्ने अवस्था बनिरहेको छ ।
कात्तिक मसान्तभित्र आयोजनाको ठेक्का सम्झौता नभए बजेट कटौती गर्ने नीति बनाइएको छ तर त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिन्न । अन्य मन्त्रीहरूले ल्याएका नीति पनि लागू गर्न कठिन बन्ने अवस्था आएको छ । राज्य संयन्त्रप्रति यस्तो नटेर्ने अवस्था आउने भनेको प्रजातान्त्रिक लागि राम्रो होइन । प्रजातान्त्रिक दलको यस्तो अवस्था आउने भनेको समग्र लोकतन्त्रका लागि ठूलो घाटाको अवस्था हो ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
स्ववियु निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन प्रधानमन्त्रीको आह्वान
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार