ललितानिवास जग्गा प्रकरणमा ठूला ‘माछा’लाई पक्राउ गरेर देखाउन अध्यक्ष लिङदेनको चुनौति
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १२:२४:५९
१५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा सबै ठूला दलका नेताहरुको संलग्नता रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्ने क्रममा अध्यक्ष लिङदेनले ललिता निवासको जग्गा हिनामिनामा संलग्नमध्ये साना र कमजोर अवस्थाका व्यक्तिलाई मात्र पक्राउ गरेर सरकारले ठूलो कुरा गरेको बताएका छन् । मुलुक भयंकर अवस्थाका भ्रष्टाचार काण्डले भरिएको भन्दै केही काण्डमा साना ‘माछा’लाई समातेर सरकारले भ्रष्टाचारविरुद्ध ठूलो अभियान थालेको हल्ला चलाएको आरोप लगाए । उनले ठूला राजनीतिक दलका नेताहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धिकरणको मन्त्र उच्चारण गरिरहेका आरोप समेत लगाए ।
ललितानिवास जग्गा हिनामिना प्रकरणमा सानालाई समातेको भन्दै उनले भने, ‘ठूला माछालाई नसमातिएसम्म सरकारको काममा विश्वास गर्न सकिँदैन, यसमा सबै ठूला दलका नेताहरुको संलग्नता छ, सबैलाई समातेर देखाओस् ।’ उनले प्रकरणमा कीर्ते गरेर जग्गा लिने मात्र नभई दिने काममा कानून आधार खडा गर्ने र निर्णयमा दस्तखत गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।
‘सुडान घोटालामा ३ जना आई भ्रष्टाचारमा जेल जाँदा त्यतिबेला सरकारमा मन्त्री बनेर बस्ने मान्छे चाहिं कसरी शुद्ध रहे ?’ उनले प्रश्न गरे, ‘प्रहरीलाई कमसल सामान किन्ने निर्णय गर्ने फाइलमा दस्तखत गर्ने मन्त्रीलाई चाहिं छुट दिनु मन्त्री बनाउने सिंगो राजनीतिक दल नै भ्रष्टाचारमा संलग्न छन् भन्ने कुराको पुष्टि हुँदैन र ?’ ललितानिवास जग्गा प्रकरणमा यही नियति दोहोरिने अवस्था दे्खिएको उनको भनाइ छ ।
उनले राप्रपाले ‘जनताको पैसामा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने कुरालाई व्यवहार उतार्दे लगिरहेको दाबी समेत गरे । भने, ‘मुलुकमा भ्रष्टाचार गर्न हुँदैन, गर्नेलाई कारवाहीबाट छुट दिनु हुँदैन भन्ने एकमात्र पार्टी राप्रपा हो ।’साथै उनले राजसंस्था फिर्ता ल्याउन राप्रपा प्रतिवद्ध रहेको कुरा दोहोर्याए ।
कार्यक्रममा विभिन्न पार्टीबाट आएका दर्जनौं नेता कार्यकर्ताहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराए । नवप्रवेशीहरुलाई राप्रपामा बेकार आइएछ भन्ने बोध हुन नदिने व्यवहारबाटै देखाउने र त्यसअनुसार अगाडि बढ्न पनि पार्टीका नेताहरुलाई निर्देशन दिए ।
ठूला भ्रष्ट्राचार काण्ड
प्रहरीले ललितानिवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङ, भक्तपुर र काठमाडौं डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख र कर्मचारीसहित ४ जनालाई मंगलबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सोही विषयमा बुधबारकाे संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले विभिन्न कालखण्डका ठूलो भ्रष्टाचार काण्डका फाइल खोल्नु सुरु गरेको र त्यही सिलसिलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा ‘निल्न खोज्ने’हरु कानूनको दायरामा पर्न सुरु गरेको बताएका थिए । पक्राउ घटनालाई कुनैपनि कालखण्डका भ्रष्टाचारीलाई कारवाही गर्न सरकार पछि हट्दैन र कानून साना–ठूलालाई बराबर हुन्छ भन्ने सन्देशको रुपमा बुझ्न समेत आग्रह गरेका थिए ।
ओम्नी, वाइबडी, मातातीर्थ जग्गा, बालुवाटार ललिता निवास जग्गा, सुडान घोटाला, पशुपतिनाथ मन्दिरको सुनको जलहरी, नक्कली भुटानी शरणार्थीलगायत दर्जनभन्दा बढी ठूला भ्रष्टाचारका काण्डहरुमाथि छानबिन नहुँदा सर्वसाधारणले हरेक सरकारमाथि प्रश्न उठाइरहेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अमेरिका उडाउने भन्दै ८ सय भन्दा सर्वसाधारणबाट २८ करोडभन्दा बढी रुपैयाँ असुलेर ठगी गरेको प्रकरणमा कांग्रेस नेता बालकुष्ण खाण, एमालेका नेता टोपबहादुर रायमाझी, सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना हालै मात्र जेल परेका छन् । एक जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । ११ फरार सूचीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार