पाल्पामा हालसम्म करिब ३० प्रतिशत रोपाइँ
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १२:३३:२
१५ असार, रामपुर । पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछन् । “समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँका चहलपहल बढ्छ”, उनले भने । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ ।
जिल्लामा असारको पहिलो हप्ताबाट रोपाइँ अगाडि बढेको छ । बाँझो जमिन, खोला र नहरका पानी लाग्ने जमिनमा धान रोप्ने काम भएको छ । मकै खेती भएका जमिन, आकाशकै पानीमा निर्भर जमिनमा असारको तेस्रो हप्तापछि धान रोपाइँ सुरु हुनेछ । हालसम्म पाल्पामा माडीफाँट, दोभान, अर्गली, रम्भा, पूर्वखोला, बगनासकाली लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको छ ।
पाल्पामा करिब आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिँदै आएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुर, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादनका मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ–गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ ।
सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलन चल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवं अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।
आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ गते ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । धान उत्पादनमा आधुनिक प्रविधि किसानलाई सिकाउन, असार १५ लाई उत्सवका रुपमा मनाउन कृषि ज्ञान केन्द्र पाल्पाले मदनपोखरा बहु प्राविधिक शिक्षालय तानसेन र तानसेन नगरपालिकाको सहकार्यमा आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम आयोजना गरेको छ ।
कृषि पेसामा कृषकलाई आकर्षित गर्न, धान उत्पादनमा वृद्धि ल्याउन असार १५ मा धान दिवस मनाइँदै आइएको छ । यस वर्ष ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देश भर नै धान दिवस मनाउने कार्यक्रम छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति तथा शीतलता प्राप्त हुने विश्वास छ । खेतीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार