बोटेगाउँमा खानेपानी आएपछि स्थानीय दङ्ग
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १५:८:३८
♦ सुशीला रेग्मी
१८ असार, रामपुर । खानेपानी सधैँ गाग्रीमा बोकेर उपभोग गर्ने पाल्पाको रामपुर नगरपालिका–३ बोटेगाउँका बासिन्दा अहिले सो खानेपानी समस्याबाट मुक्त भएका छन् ।
बोटे समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रका बासिन्दा बाउबाजेको पालादेखि नै नदी, खोला किनारका मूल, कुवामा पुगेर गाग्रीमा बोकेर पानी पिउँन बाध्य थिए । उनीहरू अहिले भने नगरपालिकाले खानेपानी आयोजना निर्माण गर्न सहयोग गरेपश्चात् गाउँमा पानी आएपछि खुसीले दङ्ग छन् ।
गण्डकी ढिक बोटेगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घन्टौँ लगाएर पानी बोक्नुपर्ने समस्या सदाका लागि टरेको छ । आयोजनाअन्तर्गत गाउँदेखि करिब चार सय मिटर पूर्वमा रहेको निस्दीखोला किनारको ठूली पधेँरी भन्ने स्थानमा मुल बाँधेर गाउँमा पानी ल्याइएको छ । त्यसअन्तर्गत मुलदेखि २० मिटर पश्चिमतिर पर्ने खेतमा पाँच हजार लिटर बराबरको पानी सङ्कलन ट्याङ्की (रिजर्भ ट्याङ्की) सो ठाउँबाट तीनसय मिटर दूरीमा पश्चिममा २७ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रणालीबाट लगिएको पानी गाउँमा वितरण गरिएको छ ।
नजिकै रहेको कालीगण्डकी नदी किनार तथा निस्दीखोलाको किनारमा रहेका विभिन्न मुलबाट पानी बोकेर जिविका चलाइरहेका स्थानीय उपभोक्तालाई घरमै धारामा पानी भरेर उपभोग गर्न पाउँदा अन्य कामकाजमा निस्कन सजिलो भएको छ । पानी बोक्न धेरै समय खर्चनुपर्दा अन्य कामकाजमा निस्कन अर्थात् समय निकाल्न अप्ठ्यारो पथ्र्यो । बिहान साँझको घरधन्दा, छोराछोरीलाई स्कुल पठाउन निकै झमेला बोक्दै आएकी जमुना बोटे पानी बोक्ने समय हिजोआज अन्यत्र काममा सदुपयोग भइरहेको बताउँछिन् ।
“खडेरीयाममा त पानी बोकेरै समय व्यतित हुन्थ्यो, नदी, खोलाका मुल, कुवामा पानी खोज्न जाँदा घरको काम नै अलपत्र हुन्थ्यो”, उनले भने, “अहिले घन्टौँ समय बिताएर पानी बोक्ने समय घरायसी काम, मेलापात अर्थात् छोराछोरीलाई गृहकार्य गराउनमा सदुपयोग भएको छ ।”
बोटेगाउँमा हाल ५७ घरपरिवारको बसोबास छ । यस आयोजनाबाट तीन सय ९१ स्थानीय लाभान्वित भएका छन् । आयोजना भर्खरै सम्पन्न भएकाले हाललाई गाउँमा सबैलाई पायक पर्ने गरी १० वटा धारा जडान गरी खानेपानी वितरण भइरहेको छ । आगामी वर्ष नगर सरकारले स्थानीय उपभोक्ताको माग र आवश्यकताका आधारमा सबैका घरघरमा धारा जडान गरिदिने जनाएको छ ।
यस खानेपानी आयोजनाले बोटेगाउँमा स्थानीय सरकारले प्राथमिकता दिएर निर्माण भएको योजनाले ठूलो राहत पुगेको र अहिले यहाँको जनघनत्वलाई दृष्टिगत गर्दै १० वटा धारा जडान गरी वितरण गरेको पानी पर्याप्त भएको युवा प्रकाश ज्ञवाली बताउछन् । नगरपालिकाको रु १० लाख र जनसहभागिता रु एक लाख ७६ हजार आठसय गरी जम्मा रु ११ लाख ७६ हजार आठ सयको लागतमा योजना निर्माण भएको गण्डकीढिक बोटेगाउँ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष केशव बोटे बताउछन् ।
सम्झौता भएको करिब डेढ महिनाको अवधिमा उपभोक्ता समिति गाउँमा पानी ल्याएर वितरण गर्न सफल भएको छ । छोटो समयमा नै उपभोक्ता समितिको सक्रियतामा पानी ल्याइएको छ । आयोजना निर्माणका लागि स्थानीय निरमाया बोटे, मङ्गली बोटे र सन्तबहादुर दर्जीले मुल तथा ट्याङ्की निर्माणमा सहजीकरण गरिदिपछि योजना सम्पन्न भएको हो । ‘एक घर एक धारा’ को अभियानलाई अगाडि सारेको आवश्यकताका आधारमा बजेट विनियोजन गरेर घर घरमा सफा, स्वच्छ पिउने पानी वितरण गरिने नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।
“पानीको स्रोत नभएका स्थानमा लिफ्टिङ गरेर पानी वितरण गर्ने नगर सरकारको योजनाअनुसार काम भइरहेको छ”, उनले भने, “स्थानीयको आवश्यकतालाई केन्द्रमा राखेर योजना सञ्चालन भइरहेको छ, आवश्यक खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षा नगरवासीको अपरिहार्य आवश्यकता भएकाले परिपूर्तिका लागि जुनसुकै समय नगर सरकारका प्रतिबद्ध छ ।”
थोरै बजेट र छोटो समयमा छिटो काम सम्पन्न गरेकामा नगर प्रमुख थापाले उपभोक्ता समितिलाई धन्यवाद दिँदै यसको दिगोपनाका लागि सबै उपभोक्ता लाग्न आग्रह गरे । सहजरुपमा स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भए पनि यहाँका बासिन्दालाई दीगो र भरपर्दो योजना नहुँदा सधैं पानी खोज्न भौतारिनुपर्ने अवस्था थियो । नगरपालिकाले ‘एक घर, एक धारा’ भन्ने नेपाल सरकारको नीति अवलम्बन गरी खानेपानीको पहुँच नपुगेका स्थानमा योजनामार्फत घर-घरमा पानी वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार