हाई काढ्दै शीर्ष नेतृत्वः कांग्रेसले किन गुमाउँदै छ अगाडि आएको विशेष अवसर ?
भेषराज पोखरेल
असार १९, २०८० मंगलबार २१:०:१४
युगले राजनीतिक व्यक्ति वा दलहरुलाई समय–समयमा अवसर दिएको हुन्छ । सो अवसर उपयोग गर्न सक्यो भने नेतृत्वकर्ता वा दललाई पुनर्जीवित हुने अवसर मिल्छ । त्यसको उपयोग गर्न नसके समाप्त हुने बाटोमा जानबाट रोकिन मुस्किल हुन्छ । इतिहास यसै गरी अगाडि बढेको छ ।
अहिलेको अवस्थासम्म आइपुग्दा नेपाली कांग्रेसले अनेकौं उतार–चढाव व्यहोर्यो । बीपी कोइरालाको सिद्धान्तनिष्ठ राजनीतिक यात्राले अहिले पनि नेपाली राजनीति प्रभावित नै छ । उनको प्रजातान्त्रिक नीति, प्रजातान्त्रिक समाजवादलाई अहिले पनि कुनै पनि दलले भुलेर अगाडि बढ्न सक्ने अवस्था छैन । उनीपछिका अनेकौं नेताको प्रजातन्त्र प्रतिको समर्पण र निष्ठापूर्ण राजनीतिले कांग्रेसले अहिलेसम्मको यात्रा तय गरिरहेको छ ।
पछिल्लो समय भने कांग्रेसको नेतृत्वले व्यक्तिगत लाभको दाउ हेरेर अन्य अनेकौं विशेष अवसर गुमाउँदै गएको स्पष्ट देखिएको छ । देशमा भ्रष्टाचारका घटना एकपछि अर्को गर्दै अगाडि आएका छन् । कतिपय घटनामा कांग्रेसका शीर्ष नेतृत्वको घेरामा रहेका प्रभावशाली नेताहरू नै संलग्न देखिएका छन् । त्यस्तो अवस्थामा कांग्रेसले यी विषयमा आधिकारिक धारणा बाहिर ल्याउन चासो दिएको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू अगाडि आइरहँदा पनि शीर्ष नेतृत्व चुइँक्क बोलेको छैन । यसले कांग्रेस भ्रष्टाचारको संरक्षक त होइन ? राष्ट्रिय, अन्तर्राष्ट्रिय मुद्दामा सम्झौतापरस्त त होइन भन्ने आमजनतामा भान पर्न गएको छ । कांग्रेसले स्पष्ट नीति लिएर खरो उत्रने अहिले विशेष अवसर गुमाएर अस्तित्व नै समाप्त पार्ने त होइन भन्ने प्रश्न उब्जाएको छ ।
कांग्रेस इतर समूहका नेता शेखर कोइराला भ्रष्टाचारको विरोधमा रहे पनि सभापति देउवा हाई काढ्दै बस्दा कांग्रेसले आधिकारिक धारणा बनाउन सकेको छैन । राजनीतिक लाभका अनेक दाउ कुरेर बसेका सभापति देउवाका कारण कांग्रेस अझ बदनाम बन्दै जाने देखिएको छ ।
केही दिनअघि कांग्रेस नेता अर्जुुननरसिंह केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षक भन्न थालेको बताए । भ्रष्टाचारका मुद्दा एकपछि अर्को गर्दै बाहिर आउने र कांग्रेसले आधिकारिक धारणा नबनाउँदा यस्तो अवस्था आएको उनको आशय देखिन्थ्यो । नक्कली भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहमन्त्री तथा सभापति शेरबहादर देउवाका दाहिने हात मानिने बालकृष्ण खाँण मुछिए । उनी अहिले जेलमा छन् तर कांग्रेसले केन्द्रीय बैठक डाकेर उनलाई पार्टीबाट निलम्बन गर्नुपर्नेमा कांग्रेस नेतृत्वले चासो दिएको छैन । अर्को, ललिता निवास काण्ड केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः अगाडि बढाएको छ तर कांग्रेसले यो कुनै राष्ट्रिय मुद्दा नै होइन कि भने जसरी मौन छ । यो काण्डमा पनि कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छेदार मुछिएका थिए ।
देउवा सरकार छँदा यो भ्रष्टाचार मुद्दालाई थाती राखिएको थियो । सरकारले भ्रष्टाचारका मुद्दा बाहिर ल्याइरहँदा गठबन्धनको मुख्य दल कांग्रेसले पूर्ण रुपमा समर्थन गरेर अघि बढ्नुपर्नेमा शीर्ष नेतृत्वले केन्द्रीय समिति बोलाउनै चाहेको देखिन्न । यसले भ्रष्टाचारको विषयमा कांग्रेस थप बदनाम हुने अवस्था सिर्जना भएको छ । उपसभापति, महामन्त्रीद्वय तथा कांग्रेस इतर समूहका नेता शेखर कोइराला भ्रष्टाचारको विरोधमा रहे पनि सभापति देउवा हाई काढ्दै बस्दा कांग्रेसले आधिकारिक धारणा बनाउन सकेको छैन । राजनीतिक लाभका अनेक दाउ कुरेर बसेका सभापति देउवाका कारण कांग्रेस अझ बदनाम बन्दै जाने देखिएको छ ।
नेता केसीले भने जस्तै जनताले कांग्रेसलाई भ्रष्टाचारीको संरक्षक भनिरहेको अवस्थामा शीर्ष नेतृत्वले आइरहेका अवसर गुमाउनु भनेको कांग्रेसको भविष्य नै अन्धकारमा धकेल्नु हो । अधिकांश ठूला भ्रष्टाचारका घटना केपी ओलीकै समयमा सुरू भएका देखिन्छन् तर पनि उनले संसदमा उभिएर आफ्ना कुरा राखिरहेका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी जस्ता दलहरू भ्रष्टाचारको विरोध गर्दै अगाडि आएका छन् । रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार निर्मूल गर्ने बताइरहेका छन् । उनले पुराना दलहरूले भ्रष्टाचार बढाइरहेका छन्, यी दलले भ्रष्टाचार रोक्न सक्दैनन् भन्दै आएका छन् । अर्को, राष्ट्रियताको मुद्दामा पनि यी दलहरू कमजोर छन् भनिरहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आफूलाई पुनरोदय भएर अगाडि आएको छ । सो दलले पनि भ्रष्टाचारको चर्को विरोध गरिरहेको छ । सो दलले पनि ठूला दलहरूले भ्रष्टाचार बढाइरहेको भन्दै विरोध गरिरहन्छ । रास्वपाले संघीयताको विरोध गरे पनि तथा राप्रपा संघीयताविरोधी र राजावादी भए पनि जनताले उनीहरूलाई राम्रै मत दिएर भ्रष्टाचारविरोधी भाषणलाई अनुमोदन गरेका छन् ।
अझ रास्वपाले उपनिर्वाचनमा तरक्की नै गर्नुको कारण पनि त्यही भ्रष्टाचार निर्मूल गर्ने नारा नै हो । यस्तो समयमा भ्रष्टाचारका मुद्दा एकपछि अर्को गर्दै बाहिर आइरहेका बेला अर्थात् सरकार सक्रिय बनिरहेका बेला गठबन्धनको मुख्य दल कांग्रेस किंकर्तव्यविमूढ हुनु ऐतिहासिक अवसर गुमाउन हो । नेता केसीले भने जस्तै जनताले कांग्रेसलाई भ्रष्टाचारीको संरक्षक भनिरहेको अवस्थामा शीर्ष नेतृत्वले आइरहेका अवसर गुमाउनु भनेको कांग्रेसको भविष्य नै अन्धकारमा धकेल्नु हो । अधिकांश ठूला भ्रष्टाचारका घटना केपी ओलीकै समयमा सुरू भएका देखिन्छन् तर पनि उनले संसदमा उभिएर आफ्ना कुरा राखिरहेका छन् ।
कांग्रेस भ्रष्टाचारीको संरक्षण होइन भनेर प्रमाणित गर्न पाइने समय खेर फाल्नु भने देउवाको नालायकीपन नै हो । अब यस्तो समय आइसक्यो विजय गच्छेदार बालुवाटार काण्डमा दोषी छैनन्, बालकृष्ण खाँण नक्कली शरणार्थी काण्डमा निर्दोष छन् भनेर कांग्रेसले घोषणा गरे पनि, सर्वोच्च अदालतले अन्य केही चर खोजेर उन्मुक्ति दिए पनि तिनीहरू जनताको आँखाबाट चोखिने छैनन् । अब त कांग्रेसले प्रजातन्त्र तथा आदर्शको बाटो छाडे पनि अरूले टिपेर दौडाउने छन् । त्यो अवस्था देखिन थालेको छ ।
कांग्रेसमा जनताले आशा गरेका र देशलाई केही गर्नै पर्छ भन्ने तमाम यूवा नेताहरू भए पनि देउवा फेरि प्रधानमन्त्री बन्ने दाउ तथा अन्य राजनीतिक लाभको लोभमा पार्टी अँचेटेर राखिएको छ । भारतले वृहत् भारत भन्दै नेपालका भूभाग समेटेर संसद भवनअगाडि नक्सा राख्दा कांग्रेसले आफ्नो आधिकारिक धारणा राख्न सक्नुपर्थ्यो । भारतसँगका व्यापारका कुरा, सीमासम्बन्धी कुरा, मानव बेचबिखनका कुरा, सीमा वारपार अपराधका कुरा, तस्करीका कुरा, भारतले अगाडि सारेको अग्निपथका कुरामा कांग्रेस जस्तो जिम्मेवार दलले आन्तरिक रुपमा वृहत् बहस, छलफलपछि आफ्नो धारणा स्पष्ट राख्नपर्थ्यो ।
चीनले बीआरआईका कुरा अगाडि ल्याउन चाहेको छ । त्यसमा ठूलो दलको नाताले कांग्रेसले आफ्नो धारणा बनाउनु पर्थ्यो । शीर्ष नेतृत्वले यतातिर सोच्दै सोचेको छैन । यो ठूलो विडम्बनाको कुरा हो । यही रवैया रहिरहने हो भने आम सर्वसाधारणले कांग्रेसलाई भोट किन दिइरहने ? शेरबहादुर देउवाको प्रधानमन्त्री बनिरहने चाहना पूरा गर्न ? उनका आसेपासेलाई च्यापिरहन ? देशमा बढिरहेको अराजकता अझै बढाइरहन ? यी प्रश्न उठिरहेका छन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपलुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
दह्रो आर्थिक नीतिबिना बैंकहरूले कसरी लगानी गर्न सक्लान् ?
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार