बाह्य सूचक सकारात्मक बन्दा पौने तीन खर्ब घाटामा रहेको देशको अर्थतन्त्र २ खर्ब २८ अर्ब नाफामा
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १७:५७:४४
२६ असार, काठमाडौं । नेपालको अर्थतन्त्र कोरोना महामारी सुरु हुनु अगाडि कै स्थितिमा फर्किएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सामान्य सुधार आउँदा नेपालको अर्थतन्त्र सवा २ खर्बले बचतमा पुगेको हाे । आन्तरिक सूचकमा पनि यसरी नै सुधार आए अबकाे ६ महिनाभित्रमा नेपालको अर्थतन्त्रले सही ट्रयाक समात्ने अधिकारीहरू बताउँछन् ।
एक वर्षअघि करिब पौने तीन खर्ब रूपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत जेठसम्ममा सवा २ खर्ब रूपैयाँले बचतमा छ । शोधनान्तर पछिल्ला महिनामा बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण बचतको अवस्थामा पुगेको हो । गत जेठसम्ममा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रूपैयाँले बचतमा रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनासम्ममा यो सूचक २ खर्ब ६९ अर्ब रुपैयाँले घाटामा थियो ।
यसरी नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रको सूचक कोभिड–१९ पूर्वकै अवस्थामा फर्किएको देखिन्छ । रेमिट्यान्समा भएको वृद्धि र आयातमा आएको कमीका कारण बाह्य क्षेत्र त्रासदीपूर्ण अवस्थाबाट बाहिरिएको नेपाल राष्ट्र बैंककको भनाइ छ । सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । मुलुकको भुक्तानी सन्तुलन दुई खर्ब २८ अर्ब ९८ करोड रूपैयाँले बचतमा जानु सकारात्मक हो ।
राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । ११ महिनाको आर्थिक परिदृश्यले आगामी कार्यदिशा तय गर्नमा मार्गनिर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ । तर, आर्थिक स्थायित्वलाई केन्द्रमा राखेर अहिलेको शिथिल आर्थिक क्रियाकलाप बढाउनुपर्ने अवस्था देखिएको छ । आर्थिक वर्ष ०७६÷७७ को प्रथम ११ महिनामा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोडले बचतमा थियो ।
त्यसपछिका आर्थिक वर्षहरूमा शोधनान्तर स्थिति घाटामा जान थाल्यो । मुलुकबाट भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढी हुँदै गएपछि गत आर्थिक वर्षमा यो स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा पुगेको थियो । तर, पछिल्लो समय शोधनान्तर स्थिति बचतमा जानेक्रम बढ्दै गएको र विदेशी मुद्रा सञ्चितिमा समेत वृद्धि भएर बाह्य क्षेत्र कोभिडपूर्व स्थितिमा फर्किएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार ११ महिनामा विदेशी विनिमय मुद्रा सञ्चिति नौ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । हाल यस्तो सञ्चिति गत असारको तुलनामा २१.८ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ (११ अर्ब ३० करोड अमेरिकी डलर) कायम भएको छ । मुद्रास्फीतिसमेत १५ महिनायताकै कम ६.८३ प्रतिशतमा झरेको छ । यसले बाह्य क्षेत्र सुविधाजनक स्थितिमा पुगेको देखाएको प्रवक्ता भट्टको भनाइ छ । उनले भने, ‘प्रि–कोभिड लेबलमा आइरहेको छ । यो शोधनान्तर बचतमा आएको छ, यो राम्रो हो । सञ्चितिमा सुधार आएको छ । यसले बाह्य क्षेत्र सुविधाजनक देखिन्छ ।’
अहिले भारतलगायत अन्तर्राष्ट्रिय रूपमै मुद्रास्फीति घटिरहेकाले अर्थतन्त्र सुधारको बाटोमा लम्किएको छ । साथै, बजारको ब्याजदरसमेत घट्दै गइरहेकाले अर्थतन्त्रका लागि सुखद भविष्यको संकेत देखापरेको उनको बुझाइ छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.१ प्रतिशतले बढेको थियो ।
अर्को तर्फ अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार देखिए पनि आन्तरिक आर्थिक गतिविधि शिथिल छ । बैंकमा झन्डै ४ खर्ब रुपैयाँ बराबर लगानीयोग्य रकम थुप्रिएको छ, कर्जा माग छैन, बजार माग घटेको छ, उद्योगहरूको क्षमता उपयोग घटेको छ भने निर्यात र विदेशी लगानी बढ्न सकेको छैन । अहिलेको अवस्थामा बाह्य क्षेत्रको जोखिम कम भएकाले अब सरकारले आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन पहल गर्नुपर्ने विज्ञको सुझाव छ ।
रेमिट्यान्स निरन्तर रूपमा बढेको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब पुगेको छ । यद्यपी निर्यात बढेको छैन, सेवा क्षेत्र पनि ऋणात्मक छन्, यस्तो अवस्थामा बाह्य क्षेत्र सबल देखिएको छ । गत असोजअघि १४ महिनासम्म शोधनान्तर स्थिति घाटामा थियो । रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएकै कारण १४ महिनापछि गत असोजमा पहिलो पटक शोधनान्तर स्थिति बचतमा गएको थियो ।
त्यसयता हरेक महिना शोधनान्तर बचतको रकम बढ्दै गएको प्रतिवेदनले देखाएको छ । शोधनान्तर बचतमा रहे पनि चालु खाता भने अझै घाटाकै स्थितिमा छ । तर हरेक पछिल्ला महिनामा चालु खाता घाटा रकममा भने घटिरहेको देखिन्छ । ०८० जेठमा यो खाता ५ खर्ब ९२ अर्ब रूपैयाँले घाटामा थियो । यसरी शोधनान्तर स्थितिमा सुधार भएसँगै वित्तीय प्रणालीमा तरलताको अवस्थामा पनि सुधार हुँदै आएको छ ।
विगतमा विदेशी मुद्रा सञ्चितिमा कमी आएकै कारण सरकार र राष्ट्र बैंकले आयात नियन्त्रणका लागि नीतिगत व्यवस्था गरेका थिए । सोही कारण आयातमा कमी आएको र रेमिट्यान्समा सुधार भएकाले पछिल्ला महिनामा विदेशी मुद्रा सञ्चितिमा लगातार सुधार भइरहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । बाह्य सूचकमा सुधार आएपछि सरकार र राष्ट्र बैंकले आयात नियन्त्रणका लागि अवलम्बन गरेका नीतिगत व्यवस्थाहरू हटाइसकेको छ ।
११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेकाले रेमिट्यान्स बढेको बताइएको छ । गएको ११ महिनामा ४ लाख ५९ हजार ४ सय १५ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ६.८३ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.७३ प्रतिशत बिन्दुले कम हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ८.५६ प्रतिशत थियो । गत जेठको मूल्य वृद्धि दर गत वैशाखको भन्दा पनि कम हो ।
राष्ट्र बैंकको गत जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ५.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । ‘खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.२९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्धपदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘सो अवधिमा घिउ तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.६० प्रतिशतले घटेको छ ।’
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५, शिक्षाको १०.५६, विविध वस्तु तथा सेवाहरूको ९.३३, घरायसी उपयोगका वस्तुहरूको ८.४१ र फर्निसिङ तथा घरायसी उपकरणहरूको ७.८३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार