सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १४:५५:५५
२८ असार, भजनी । कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।
नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रू ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन् । नगरपालिकाले रू ४० लाख दिगो विकास समाजले रू ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ ।
भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ । एक/दुई दिनमा मोतीरामसहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा छन् । नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँचरछ महिना बिताउनु नपर्नेमा उनी खुसी छन् ।
नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताए । “यस वर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षित हुन्छन्”, उनले भने । “स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।”
सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त छन् । घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उनको रहर छ । “हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौँ”, विकले भने, “त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ । घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ ।” उनले नगरपालिका सहयोग गरेर आवास निर्माण गरिरहेको बताए ।
आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ थियो । “आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन । खानेपानीका हाते नल्कामा बाढीले क्षति पु¥याउँछ”, उनले भने, “खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ ।”
वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताए । “बर्खाको समयमा हुने किरारफट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ । बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्”, उनले भने, “घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुङ्गा आवश्यक पर्छ । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ ।” घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ थियो ।
नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त हुनुभएको छ । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उनले बताए । “बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ । आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो”, लालबहादुरले भने, “यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षित हुने भयौँ ।”
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए । उनले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताए ।
“चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । शौचालय, खानेपानी लगायतको काम बाँकी छ । आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख चौधरीले भने, “बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ । यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ ।” उनले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताए ।
“हाम्रो पीडा कान्द्रा हो । कान्द्र नियन्त्रण गर्नसके आधा दुख सकिन्छ”, नगर प्रमुख चौधरीले भने, “त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार