प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति, पक्राउ परेका जोशी पनि बुधबार थुनामुक्त
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:५४:३९
२९ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले मारुती सिमेन्टका सञ्चालकलाई मिलेमतोमा उन्मुक्ति दिएको खुलासा भएकाे छ । घर बनाउँदा प्रयोग गरेको मारुती सिमेन्टका कारण ढलान नै भत्किएको भन्दै सप्तरीको राजविराज–४ का दिवाकर कुमार साहले दिएकाे ठगी तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरी र सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको हो । साहले मारुती सिमेन्टका सञ्चालकसहित डिलर र बिक्रेतासमेत ८ जनालाई प्रतिवादी बनाएर दर्ता गराएको मुद्दा १५ दिनमै मिलाइएको हो ।
स्रोतका अनुसार दिवाकरको जाहेरीले नेपाल सरकार वादी भएको यस मुद्दामा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, व्यापार निर्देशक ज्योति जोशी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । साथै उनीहरू विरूद्ध असार ११ गते नै पुर्जी जारी भएको भएपनि पक्राउ परेका ज्योती जोशीलाई मिलेमतोमा छाडिएको छ ।
असार १४ गते राति ज्योति जोशीलाई विराटनगरबाट पक्राउ गरेर सप्तरी लगिएको थियो । पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो । त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो । जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशीको मुद्दा फिर्ता लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले व्यापारिक घरानालाई मुद्दा नचलाई छाडेपछि उनले आर्थिक लाभ लिएको हुनसक्ने शंका गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई हाजिर जमानीमा छाड्ने सहमति दिएपछि उनी छुटेका थिए । सरकारी वकिलको कार्यालयका प्रमुख (जिल्ला न्यायाधिवक्ता) गोकुल बहादुर निरौलाको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘निजलाई हाजिर जमानीमा छाडेको सक्कलै कागज मिसिल संलग्न राख्नुहुन र सहमति माग भएको पत्रमा उल्लेखित थप बाँकी अनुसन्धानको कार्य गर्न गराउन समेत निर्देशन गरिन्छ ।’ दिवाकर कुमार साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ज्योती जोशीसमेत भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तहाँ कार्यालयको चनं ९५३१ मिति २०८० असार २६ गतेको माथवर व्यक्तिको जिम्मामा छाड्न सहमति दिने विषयको पत्रसहितको सक्कल मिसिल जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई छाड्न आदेश गरेको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रियामा रहेको मुद्दाका वादी दिवाकर कुमार साह र प्रतिवादी माँ राजदेवी हार्डवेयरको तर्फबाट रूपक कुमार सिंह, मारुती सिमेन्ट उद्योगको तर्फबाट ज्योति जोशीबीच ठगी तथा आपराधिक विश्वासघात मुद्दाको सम्बन्धमा दुवै पक्षबीच क्षतिपूर्ति पाई सहमति भएको थियो । दिवाकर कुमार साहले २५ लाख क्षतिपूर्ति पाएको उल्लेख गरिएको छ । प्रहरीले भने मधुमेहका रोगी जोशीलाई हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले आदेश दिएका कारण छाडेको जनाएको छ ।
उनलाई थुनामा राख्दा स्वास्थ्यमा प्रतिकूल समस्या भई ज्यानै खतरामा हुनसक्ने हुँदा उनका आफन्त आशिष जोशीको जिम्मामा खोजेको बखत हाजिर हुने गरी छाड्नका लागि सहमति प्रदान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुधबार पत्र पठाएको थियो । सिरहाको चन्द्राउदइपुरमा सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टको उद्योग रहेको छ । त्यसका अध्यक्ष नन्दकिशोर राठी हुन् । यो उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ ।
आफूले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेन्ट भएको सो उद्योगले दाबी गरेपनि गुणस्तरहीन सामग्री बजारमा पठाएको छ । गुणस्तरहीन सिमेण्ट उत्पादन गरेको भन्दै धेरै पटक मारुती सिमेन्ट बारम्बार कारबाहीमा परिरहेको छ । तर, कारबाही भोग्दा पनि मारुतीले न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियामकको आदेश नै पालना गर्छ । उसले लोभ र लाभ दिएर केस सल्टाउँदै आएको पाइएको छ ।
मारुतीले कम गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्री गरेको भन्दै गत मङ्सिर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो । त्यसको साढे दुई महिनापछि माघ १२ गते सोही कम्पनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिमेन्ट सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख ६५ हजार रूपैयाँ बिगोसहित मुद्दा दर्ता गर्यो । तर त्यसमा अझै कारवाही भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार