एक सय ३१ किलोमिटर लामो चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १५:२:२४
२९ असार, काठमाडौं । दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरिया सब स्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।
नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो ।
कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाइएकामा आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब रु ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी उक्त लाइन सञ्चालनमा ल्याइएको हो ।
त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । चमेलिया जलविद्युत आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरुमा जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुलेको उनले बताए ।
अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ । त्यहाँ उत्पादित विद्युत स्थानीय रूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा एक सय ३२÷३३ केभी सबस्टेसन सञ्चालित छ ।
चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत जोडिने क्रममा छ ।
बलाँच सब स्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब छ मेगावाट विद्युत खपत हुन्छ । स्याउले सब स्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्ति गरी बाँकी रहेको विद्युत अत्तरिया सब स्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत माग जाडो र गर्मीमा क्रमश करिब ८० र दुई सय मेगावाट हुन्छ ।
चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेल्धुरा तथा दार्चुला जिल्लाका केही स्थानीयवासीले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार