विदेशी चासोः आन्तरिक रुपमा कमजोर बन्दै गएका ठूला दलका नेताहरुले विदेशी दलसँग के माग्लान् ?
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार ७:०:९
लोकतन्त्र, सुशासन तथा भ्रष्टाचाररहित राज्यसंयन्त्रको नारा लगाएर नथाक्ने नेपालका ठूला दल र तिनका शीर्ष नेताहरू पछिल्लो समय अस्तित्वको संकटमा पर्दै गएका छन् । नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्र तीनै दलको नेतृत्वमा पटक–पटक सरकार बने पनि यी दलले अगाडि सारेका प्रतिबद्धता पूरा गर्ने भन्दा जे गरेर भए पनि दलको अस्तित्व बचाउने भन्ने मै लागे ।
यी दलका शीर्ष नेताले पटक–पटक सरकार हाँके पनि न लोकतन्त्र बलियो बन्दै गयो न जनताले सुशासनको महसुस गर्न पाए न भ्रष्टाचार कम गर्ने प्रयास नै भयो । भ्रष्टाचारको मामिलालाई सकेसम्म छल्ने तथा आरोपीलाई यी दलका शीर्ष नेतृत्व सधैं बचाउमा लागे । उनीहरूको यही व्यवहारका कारण आम सर्वसाधारणको आँखामा गिर्दै गएका छन् । यही अवस्थामा छिमेकी राष्ट्रका सत्तारुढ दल तथा अन्य राष्ट्रहरूले यी दलहरूसँग प्रत्यक्ष सम्बन्ध बढाउन थालेका छन् । आन्तरिक रुपमै अस्तित्वको संकटमा पर्दै गएका दलहरु तिर छिमेकी राष्ट्रका सत्तारुढ दलहरू तथा अन्य शक्तिशाली राष्ट्रले सम्बन्धको हात बढाउँदा राष्ट्र र जनतालाई के फाइदा होला ?
पछिल्लो समय चाइना कम्युनिष्ट पार्टी (सीपीसी) ले पार्टीविरूद्धमा नेपालका कम्युनिष्ट पार्टीहरूसँग प्रत्यक्ष सम्बन्ध बढाउन प्रयास गरिरहेको छ । सन् १९५० को दशकदेखि नै सीपीसीले सम्बन्ध बढाउन थाले पनि २०६३ यता बढी जोड दिन थालेको देखिन्छ । त्यसपछि कम्युनिष्ट नेताहरूको भ्रमण आदानप्रदान भइरहे पनि २०७४ को आमचुनावमा बेला चीनले विशेष भूमिका खेल्यो । सत्तारुढ रहकै अवस्थामा कांग्रेससँग स्थानीय निर्वाचनमा सहकार्य गरेको माओवादी केन्द्रलाई सो गठबन्धन टुटाएर एमालेसँग मिलाउन पहल गर्यो । पछि पार्टी एकीकरण गराएर नेकपा बनाउन पनि सीपीसीले भूमिका निर्वाह गर्यो । नेकपाको केपी ओली नेतृत्वको सरकार भएका बेला सीपीसीको प्रतिनिधिमण्डलसँग प्रत्यक्ष तथा विद्युतीय सञ्चार माध्यमबाट बैठकहरू भए ।
नेकपा फुटेर एमाले, माओवादी तथा एकीकृत समाजवादी दल बनेपछि पनि ती दलहरुलाई मिलाउन ठूलो प्रयास गर्यो । त्यो सफल नभएपछि पछिल्लो समय एमाले तथा माओवादी केन्द्रसँग पार्टीगत सम्बन्ध बढाउन प्रयास भइरहेका छन् । यही क्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटाको नेतृत्वमा सो दलका नेताहरूको टोलीले तेह्र दिने चीन भ्रमण गर्यो । अब साउनको दोस्रो हप्ता सीपीसीको प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । यही अवस्थामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी नेताहरूको प्रतिनिधिमण्डल दिल्ली जाँदै छ ।
सीपीको पहिलो प्राथमिकतामा कम्युनिष्ट पार्टी परे पनि नेपाली कांग्रेससँग पनि राम्रै सम्बन्ध छ । उता दक्षिणी छिमेकी भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसका नेताहरू पटक–पटक दिल्ली पुगिरहेका हुन्छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणका बेला भाजपाको पार्टी कार्यालय गएका थिए । यही मेसोमा शक्ति राष्ट्र अमेरिकी सरकारका प्रतिनिधिहरूले पटक–पटक नेपाल भ्रमण गरेर यिनै दलका शीर्ष नेताहरूलाई भेटिरहेका हुन्छन् । भर्खरै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरे । पछिल्लो समय आन्तरिक रुपमा कमजोर बन्दै गएका यी दलहरूको छिमेकी तथा अन्य राष्ट्रका सत्तारुढ दलहरूसँग बाक्लिएको हिमचिमले राष्ट्रलाई के फाइदा होला ?
चीनको कम्युनिष्ट पार्टीसँग नेपालका कम्युनिष्ट पार्टीको सम्बन्ध हुनुलाई नराम्रो मान्नुपर्ने होइन । त्यो सम्बन्धलाई कसरी उपयोग गरिन्छ भन्ने कुराले भने ठूलो महत्व राख्छ । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप भइरहने अवस्थामा कमजोर हुँदै गएर अस्तित्वको संकटमा पर्दै गएका पार्टीको विदेशी दलसँगको प्रत्यक्ष सम्बन्धले राजनीतिमा अझ अराजक अवस्था सिर्जना गर्न बल पुर्याउने त होइन भन्ने आशंका पनि उब्जाउँछ ।
कांग्रेस वा कम्युनिष्ट दलहरू नीतिगत तथा लोकतान्त्रिक संस्कारले मजबुत बनेको अवस्थामा छिमेकी राष्ट्रका सत्तारुढ दलहरूसँगको प्रत्यक्ष सम्बन्ध बढ्ने अवस्था आएको भए ठूलो खुसीको कुरा हुन्थ्यो । कमजोर भएर अस्तित्व बचाउन कठिन भएका दलहरूले छिमेकी राष्ट्रका सत्तारुढ दलहरूसँगको सम्बन्धमा के खोज्लान् ? ती दल र तिनका नेतृत्वले त्यही आफ्नो अस्तित्व बचाइदिने गुहार माग्ने त होलान् । शीर्ष नेतृत्वले पुनः सत्तामा आउन चुनाव जित्नका लागि आर्थिक सहयोगको याचना गर्ने त होलान् ।
मजबुत लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण, सुशासन तथा विकासमा अब्बल भएको भए वा सो बाटो अगाडि बढ्दै गरेको भए विदेशी सत्तारुढ दल तथा तिनका नेताहरुले सम्मानका साथ हेर्नै पर्थ्यो, समान दृष्टिले हेर्न बाध्य पार्थ्यो । कांग्रेसका सभापति शेरबहादुर देउवाको भ्रष्टाचार प्रतिको धारणा, एमालेका अध्यक्ष केपी ओलीको भ्रष्टाचार बचाउने छटपटी, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्ता जोगाउन र आफू सधै सत्ता एवं त्यसको वरिपरि बसिरहन गर्ने क्रियाकलापले यी दल तथा नेताहरूको साख गिरेको छ । लामो समय राजनीतिलाई नेतृत्व गरेका तथा विशेष इतिहास भएका दल भए पनि अहिले उनीहरूको भूमिका कमजोर तथा काम नलाग्ने अवस्थामा पुगेको स्पष्ट देखिन्छ । यस्तो अवस्थामा विदेशी दल तथा नेताहरूसँगको प्रत्यक्ष सम्बन्धले नेतृत्वकै स्वार्थपूर्तिमा काम गर्ने निश्चित छ ।
यी दल तथा यिनका शीर्ष नेताहरूले चीनले अगाडि सोरको बीआरआईलाई कसरी अगाडि बढाउने वा बढाउने भन्ने निर्णय गर्न सकेका छैनन् । चीनसँगको व्यापार पटकपटक अवरुद्ध भइरहन्छ, त्यसलाई हटाउन, नेपालमा उत्पादित सामग्री सरलसँग चीनको बजार पहुँच कसरी बढाउन सकिन्छ भन्नेतिर सोचेको देखिन्न । बरु कति सहयोग पाइन्छ भनेर र्याल चुहाएर बसेको देखिन्छ । भारतसँगको अवस्था पनि त्यस्तै छ । भारतसँग ठूलो व्यापार घाटा छ ।
नेपाली तरकारी, फलफूल अन्य उत्पादनले भारतको बजारमा ठूलो अवरोध खेप्नुपरेको छ । नेपालका उत्पादन कम हुँदा भारतीय बजार खुला हुन्छ राम्रो उत्पादन हुँदा ठूलो अवरोध खेप्नुपर्ने हुन्छ । यसले दुई देशबीचको व्यापारमा ठूलो असन्तुलन बढ्दै गएको छ भने अझै बढ्ने अवस्था छ । यस्तो अवस्थामा यी पार्टीगत सम्बन्धले सुधार गर्न सकिन्थ्यो तर दलहरू कमजोर बन्दै जानु र शीर्ष नेतृत्व अलोकप्रिय बन्दै गएकाले यो कुराको कल्पना गर्न सकिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
दह्रो आर्थिक नीतिबिना बैंकहरूले कसरी लगानी गर्न सक्लान् ?
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार