सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार ११:३८:२९
८ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ सय किलो सुन तस्करीको अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता तथा विचौलियामा नितान्त नयाँ गिरोहको संलग्नता देखिनसक्ने संभावना बढेको छ । जसमा केही बैंक तथा वित्तीय संस्था डुवाएर नयाँ व्यवसाय गरिरहेका व्यक्तिहरु यो गिरोहमा संलग्न हुनसक्ने स्रोतको दावी छ ।
केही समयअघि काठमाडौं फाइनान्समा गाभिएको गोरखा विकास बैंकलाई धराशायी स्थितिमा पुर्याउने ऋणीहरूमध्ये एक ऋणी सुन तस्करीमा जोडिएको आशंका राजश्व अनुसन्धान विभागले गरेकाे छ । तिनी मध्येका एक व्यक्ति राजेश अडुकिया यतिबेला राजश्वको निगरानीमा परेका छन् । निगरानीमा परेका अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखिएको छ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिएको छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको थियो ।
शेयर खेलाडी समेत रहेका राकेश अडुकियाले बिगत लामो समयदेखि हङकङबाट चाँदीका नाममा सुन भित्र्याउँदै आएको प्रहरी स्रोतको भनाई छ । तर अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै अधिकारीहरूले व्यापारीलाई पक्राउ भने गरेका छैनन् । अनुसन्धानमा तानिन सक्ने भयले उनका छोरा रोहन अडुकिया गत शुक्रबार दिल्लीतर्फ उडेका छन् भने बाबु राकेश पनि हङकङ जाने तयारीमा रहेको स्रोतको भनाई छ ।
राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन प्रकरणमा हालसम्म १४ जना व्यक्ति र भन्सारका ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको भन्दै बिहीबारै नेपालबाट चीन जान लागेको अवस्थामा पक्राउ गरेको थियो । विभागले उनीमाथि सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
नेपालमा पछिल्लो समय क्विन्टलका क्विन्टल सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति १०० केजी सुन ‘ब्रेक सु’ मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो । हङकङबाट आएको सुन राजधानीको रेडी ट्रेडर्सको नाममा थियो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको देखिएपनि यसमा अन्तर्राष्ट्रिय माफिया गिरोह संलग्न रहेको आशंका बलियो बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय सो संगठित गिरोहमा चीन, भारत र नेपालका व्यापारीका साथै दुबई कनेक्सन देखिएको छ ।अन्तर्राष्ट्रिय माफिया डन दाउद गिरोहको संलग्नता हुनसक्ने आशंका भारतीय गुप्तचर स्रोतले गरेको छ । त्यस्तै सुन तस्करीमा नेपालका विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान राजश्व अनुसन्धान विभागले गरेको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथिसम्म पुग्न नदिने चलखेल हुन थालेको स्रोत बताउँछ । हङकङबाट तस्करले सुन ल्याए पनि यसमा को को संलग्न छन् र सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको विभागका महानिर्देशक नवराज ढुङगानाले नेपालबहसलाई बताए ।
विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेपनि हाईप्रोफाइल मानिसहरु पक्राउ पर्न सकेका छैनन् । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजश्वका अधिकारीहरूले जनाएपनि नेपाली नागरिक यही होे भन्ने बारेमा एकिन भएको छैन ।
बूढानीलकण्ठस्थित रेडी ट्रेडर्स प्रालिले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालिएको सामान राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सुन बरामद भएपछि सो कम्पनीले यसअघि विभिन्न सामानहरु ल्याएको पाइएको छ । त्यसमा सुन थियो कि थिएन भन्ने बारे अनुसन्धान पछि निष्कर्षमा पुगिने राजश्वका महानिर्देशक ढुङगानाको भनाई छ ।
नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखबाट उल्लेख छ । रेडी ट्रेडले २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु नेपाल ल्याएको हो । ती सामान जाँचपासबाटै बाहिर निकालिएका थिए । जबकि ब्रेक शु भारतबाट नेपाल ल्याउदा नै सस्तो पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार