चेपाङ समुदायले सामूहिक छोनाम पर्व मनाउने
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:५२:०
२१ भदौ, भरतपुर । यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । उनका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउँदैछन् ।
“चेपाङ सङ्घको तर्फबाट उत्सवका रुपमा सामूहिक रुपमा पर्व मनाउन लागिएको हो”, उनले भने, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।
वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने ईच्छाकामना गाउँपालिका वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए ।
उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्गो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् ।
नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ ।
चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वाँगी पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।
चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार