वीपीको सम्झना : प्रजातान्त्रिक समाजवाद कांग्रेस र कम्युनिष्ट दुवैको निर्विकल्प सिद्धान्त किन नबन्ने ?
भेषराज पोखरेल
भदौ २६, २०८० मंगलबार ८:४२:५२
वीपीको ११० औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले वीपी साहित्य महोत्सव आयोजना गरिरहेको छ । यो महोत्सवमा वीपीको साहित्यका बारेमा छलफल, बहस, विमर्श मात्रै नभएर उनका राजनीतिक, आर्थिक र परराष्ट्रसम्बन्धी विचारहरूमाथि पनि बहस हुने बताइएको छ । यसले यो महोत्सवको महत्व र गरिमा अझ बढ्न गएको छ । वीपी मूर्धन्य साहित्यकार त हुँदै हुन्, उनैको भनाइमा छायाँवादी अर्थात् रोमान्टिक धारालाई सशक्त गति दिने साहित्यकारमा उनको नाम माथिल्लो कोटीमा आउँछ ।
उनी नेपालका राजनेताका रुपमा स्थापित भएकाले प्रजातान्त्रिक नीति मात्रै होइन प्रजातन्त्रलाई आमजनताको जीवनचर्यामा ढाल्नुपर्छ र ढाल्न सकिन्छ भन्ने कुरा पनि अगाडि सारेका छन् । नेपालजस्तो राष्ट्रले कस्तो परराष्ट्र नीति अवलम्बन गर्ने भन्ने कुरा पनि उनका महत्वपूर्ण छन् । यी सबै कुरा साहित्यकार, चिन्तक, लेखक, पत्रकार तथा आम जनसमुदायले थाहा पाउने, बहस, विश्लेषण, मनन तथा कार्यान्वयनको परिवेश केलाउन पाउनु अत्यन्तै राम्रो कुरा हो । यी सबै कुराको महत्व त छ नै यस भन्दा पनि ठूलो महत्वपूर्ण कुरा वीपीको समाजवादी अवधारणा तथा चिन्तनको अहिले के सान्दर्भिकता छ ? उनको समाजवाद लागू गर्नै नसकिने अवस्थामा पुगेको हो कि नेपालका सबै कम्युनिष्ट शक्तिको पनि त्यही बाटो बन्ने अवस्था आएको छ त्यसमा विसद बहस हुनु जरुरी छ । यो बहस काठमाडौंमा मात्रै होइन देशका सबै कुनाकाप्चासम्म पनि पुग्नु अति आवश्यक देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटनका क्रममा कांग्रेस वीपीको सिद्धान्त अनुसार अगाडि बढेको बताए । कांग्रेसले अवश्य पनि वीपीले अगाडि सारेको प्रजातान्त्रिक शासनपद्धति आफ्नो राजनीतिक सिद्धान्तको मूल मानेको छ । पार्टीलाई पनि जसरी भए पनि पढाउँदै हिँडाउन बाध्य छ । उच्च नेतृत्वले केन्द्रीय कार्यसमितिका निर्णय लागू गर्न चासो नदिए पनि छलफल, बहस हुन्छ, नेतृत्वको खुलेर विरोध पनि हुने गरेको छ ।
अर्को, कांग्रेसले वीपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवादलाई पनि आफ्नो आर्थिक सिद्धान्तमा उल्लेख गर्न छाडेको छैन । यी कुराले वीपीका सिद्धान्त अनुसार नै कांग्रेस अघि बढेको भन्न करै लाग्ला । कांग्रेसको उच्च नेतृत्व पार्टीभित्रका सबै नेता कार्यकर्ताले महसुस गर्ने गरी तथा जनमानसको जीवनचर्यासम्म पुग्ने गरी प्रजातन्त्रको अभ्यास गर्न भने डरलाग्दो गरी चुकेको छ । यी कुरा यत्ति नै । अहिले कांग्रेस, एमाले, माओवादी तथा अन्य दलका कारण नेपालको अर्थतन्त्र क्रोनिक पुँजीवाद तथा दलालीकरणमा चुर्लुम्म डुब्न पुगेको अवस्थामा वीपीको समाजवाद कत्तिको सान्दर्भिक होला ? यो विषयमा महोत्सवमा विशद छलफल हुनु अति आवश्यक छ ।
कांग्रेसले वीपीको प्रजातान्त्रिक समाजवाद भनिरहने, सिद्धान्तको चुरोमा राख्ने, एमालेले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई मुख्य सिद्धान्त मान्ने, माओवादीले एक्काइसौं शताब्दीको जनवाद भन्ने, संविधानमा पनि समाजवाद उन्मुख अर्थतन्त्र उल्लेख गर्ने तर यी सबै दलका सरकारले क्रोनिक पूँजीवाद तथा दलालीकरणरबाट जेलिएको अर्थतन्त्र चलाउन भरमग्दुर प्रयास गर्दै आएका छन् । दलहरूको यो द्वेध चरित्रले देशलाई नै खोक्रो बनाउँदै लगेको छ । यति मात्रै होइन यी दलका शीर्ष नेतृत्व र उनका परिवार तथा उनको राजनीतिक घेरा र उनका परिवारका सदस्यहरू सबै तस्करी एवं दलालीकरणमा प्रत्यक्ष संलग्न रहेको स्पष्ट देखिँदै आएको छ ।
यो अवस्थामा आस्थावान् तथा इमानदार नेता, कार्यकर्ता, त्यस्तै खालका लेखक, साहित्यकार तथा अन्य प्रबुद्ध वर्गले वीपीको प्रजातान्त्रिक समाजवादमा विसद बहस, विश्लेषण, छलफल चलाउनु खुसीको कुरा हो । सबै पक्ष गम्भीर भएर व्याख्या विश्लेषण गर्ने हो भने अहिलेको अवस्थामा पनि वीपीको प्रजातान्त्रिक समाजवाद लागू गर्न सकिन्छ । अर्को, कुरा अहिलेको जनताको अवस्थालाई हेर्दा पनि प्रजातान्त्रिक समाजवाद लागू नगरी नहुने अवस्था छ ।
वीपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवाद कांग्रेसले आफ्नो माने पनि अहिलेको बदलिँदो विश्व परिवेशमा कम्युनिष्टको सबैभन्दा सान्दर्भिक सिद्धान्त बन्नुपर्ने हो । अहिले संसारका कम्युनिष्ट देशको अवस्था र अन्य आर्थिक तथा विकासको गति एवं राजनीतिक अवस्थालाई हेर्दा पनि कम्युनिष्ट शक्तिले उल्लेख गर्ने परम्परागत जनवाद, समाजवाद नेपालमा लागू गर्न सकिँदैन । चीन, भियतनाम, जर्मनी, रसिया, दक्षिण अमेरिकी देशहरू तथा अन्य कम्युनिष्ट राष्ट्रहरूले अर्थतन्त्रलाई पूर्ण रुपमा पूँजीवादमा परिणत गरिसकेका छन् । उनीहरूले त्यसैबाट दिन दुगुना रात चौगुना प्रगति गरिरहेका छन् ।
नेपालजस्तो पूर्वाधारको कमी, एकातिर स्रोतसाधनको कमी अर्कातिर भएको पनि उपयोग गर्न नसकेको राष्ट्रमा पूँजीवादका मूल्यमान्यतामा आधारित पूँजीवाद चलेको भए पनि देशले कोल्टे फेर्थ्यो । प्रजातान्त्रिक समाजवाद चलेको भए त जनताको मुहार नै अर्कै हुन्थ्यो । त्यसो हुनुको साटो प्रजातान्त्रिक दल कांग्रेस तथा कम्युनिष्ट दलका नीति समाजवाद हुने तिनका शीर्ष नेताहरू दलालीकरणका मुख्य स्रोत व्यक्ति बन्न जानाले अहिलेको अर्थतन्त्रलाई कसरी बाटोमा ल्याउने ? कसले ल्याइदिने ? यो डरलाग्दो अवस्था सिर्जना भएको छ ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याइदिएकाले नेपालका कम्युनिष्ट शक्तिहरूको अस्तित्व जागियो । उनको सिद्धान्त परम्परागत जनवाद, समाजवाद होइन, सामाजिक द्वन्द्व होइन तथा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा अन्य स्रोतसाधनको वितरण तल्लो तहका जनताको जीवनस्तर उठाउने खालको हो । बहुदलीयता, आवधिक निर्वाचन र लोकतान्त्रिक शासन प्रणाली हो । यी सबै प्रजातान्त्रिक समाजवाद आधार हुन् । एमालेले जनताको बहुदलीय जनवाद शब्दलाई मात्रै घोक्दै आएनजीओ, एनजीओकरण हुँदै समग्र शासन संयन्त्र र अर्थतन्त्रलाई दलालीकरणमा परिणत गर्न लागिरहेको छ । माओवादीको कुरा झन् खतरनाक छ । सबैभन्दा क्रान्तिकारी भन्दै १० वर्ष विद्रोही युद्ध लडेको दलका शीर्ष नेतृत्वले शान्ति प्रक्रियामा आएपछि सबै क्षेत्रको दलालीकरण बढाउनमा सबै शक्ति लगायो । पछिल्लो समय जनार्दन शर्माको बजेटदेखि सुन तस्करीका घटनाले यसका नेताहरूको अनुहार डरलाग्दो गरी उदांगियो ।
नेपाललाई अस्तित्वपूर्ण अवस्थामा लैजाने हो भने दलहरूका इमानदार नेताहरू प्रजातान्त्रिक समाजवादमा सहमति गरेर अगाडि जान सक्नुपर्छ । दलहरूका शीर्ष नेतृत्वले त यसलाई स्वीकार्ने नै छैन तर निरन्तर लाग्ने हो भने अझै पनि सम्भव छ । अहिले पनि प्रजातान्त्रिक समाजवाद सम्भव छ । अहिले तय गरिएका संरचना, संयन्त्र र नीतिलाई कार्यान्वयन गर्न लाग्ने हो भने पनि यसको सुरुवात गर्न सकिन्छ । अहिलेको सार्वजनिक शिक्षा संयन्त्र काम नलाग्ने अवस्थामा छ । मन्त्रालय, विभाग, प्रदेश जिल्ला तथा स्थानीय तहसम्म गम्भीर भइदिने हो र सरकारी तलब खाएका शिक्षकलाई परिणाम दिनैपर्ने अवस्थामा पुर्याउने हो भने विपन्न वर्गको शिक्षा स्थिति माथि उठ्छ । त्यसको परिणाम आर्थिक अवस्था बलियो बन्न मद्दत पुग्छ ।
अर्को, सार्वजनिक स्वास्थ्य सेवाको अवस्थालाई पनि सरकारले तोके अनुसार गाउँगाउँसम्म दरबन्दी अनुसारका चिकित्सक खटाउने र भनसुनबाट सरुवा गराएर शहर आउने बाटो बन्द गर्ने, उपकरण दुरुस्त राख्ने तथा निःशुल्क उपलब्ध गराउने भनिएका औषधि उपलब्ध गराउने हो भने पनि विपन्नको जीवनमा परिवर्तन आउँछ । विभिन्न क्षेत्रका सरकारी जागिरदारका लागि शहरमा अनेकौं रुपका सुविधाजनक अस्पताल बनाउन रोकेर जनताका लागि पायक हेरी ठूला अस्पताल बनाएर गरिवलाई उपचार सुविधा दिँदा उनीहरूको अनिश्चित भविष्यमा केही भए पनि सुधार हुन्छ । अर्को, स्वास्थ्य बीमालाई सरल र व्यवस्थित बनाएर सबै जनतालाई निःशुल्क स्वास्थ्य सुविधा दिन सकिन्छ । अहिले ग्रामीण क्षेत्रबाट कृषकहरू पलायन हुने क्रम बढिरहेको छ ।
यसको कारण सिँचाइको सुविधा छैन, यन्त्रको प्रयोग गर्न सक्ने अवस्था छैन, रोग कीरा लाग्दा उपचार छैन, समयमा मल पाइन्न, उत्पादन बढी भए उचित मूल्यमा बेच्न सकिँदैन । अर्को, कृषि प्राविधिकहरूले कृषकको सहयोगका लागि हरसमय खट्नुको सट्टा घरै बसेर सरकारी सुविधा लिने गरेका छन् । तिनीहरूलाई जे काम गर्नुपर्ने हो त्यसमा पूर्ण रुपमा खटाउन सक्ने हो भने पनि विपन्न कृषकको दुःख हट्छ । जमिन बाँझो रहन्न । अहिले युवाहरू कामका लागि विदेश जाने क्रम बढिरहेको छ । कामका लागि जाने युवामा आर्थिक कारणले राम्रो शिक्षा नपाएका बढी छन् । तिनीहरू अदक्ष कामदारका रुपमा विदेश जाँदा उनीहरूको कमाइ अत्यन्तै न्यून छ भने सबैभन्दा जोखिमयुक्त बाध्य छन् ।
उनीहरूका लागि सीटीईभीटी वा त्यस्तै संस्थामा निःशुल्क खाने, बस्ने सुविधासहित छोटो समयका प्राविधिक तालिमको व्यवस्था गर्नुपर्छ । सरकारले सीटीईभीटीलाई त्यसैमा प्रयोग गर्न सक्छ । यी काम हुने हो भने विपन्नको जीवनस्तर उठ्न सक्छ । यसबाट प्रजातान्त्रिक समाजवादको जग बसाल्न सकिन्छ । अन्य भ्रष्टाचार नियन्त्रण गर्ने, सार्वजनिक प्रशासन संयन्त्र चुस्त र जनमुखी बनाउने । बैंकहरु गरिव मैत्री बनाउने र मिटरब्याजी हतोत्साहित गर्नेदेखि अन्य कामहरू गर्दै जान सकिन्छ । यो अवस्था सामान्य सोच र इमान्दारिता हुने हो भने पनि सजिलै गर्न सकिन्छ ।
यी कुरा कम्युनिष्ट सरकारहरूले गर्न सक्छन्, कांग्रेसको सरकार वा ऊ संलग्न सरकारले गर्न सक्छ र गराउन बाध्य पार्न सकिन्छ । होइन भने यस्ता साहित्यिक महोत्सवमा वीपीको जति प्रशंसा गरे पनि जे जस्ता बहस चलाए पनि त्यसको कुनै अर्थ रहने छैन । कम्युनिष्ट शीर्ष नेताहरू केपी ओलीले समाजवादको सुरूवात गरे भने, प्रचण्डले समाजवादका लागि काम गर्दै छु भन्दैछन् तर अवस्था दलालीकरण र तस्कर बढिरहेको छ । शेरबहादुर देउवा सरकार पनि यही मेसोमा रूमल्लियो । उनका वरिपरिका नेताहरूले पनि त्यसैको मलजल गर्दैछन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार