शेयर धितो कर्जामा १५ र २० करोडको सीमा, ५० लाखभन्दा बढीको मुद्दती निक्षेपमा प्यान नम्बर अनिवार्य
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार ११:१५:१२
१९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले सबै क्षेत्रमा प्रवाह भएको पाँच करोडसम्मका कर्जाको पुनर्तालिकीकरण र पुनः संरचना सुविधा पनि थपेको छ । घरजग्गा कर्जाको सीमा बढाएर एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाउने व्यवस्था गरेको छ ।
अब लगानीकर्ताले बढीमा १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म शेयर कर्जा लिन पाउने भएका छन् । यसअघि सबै सेयर कर्जामा १२ करोडको सीमा रहँदै आएकामा नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधनमार्फत उक्त सीमा बढाएको हो । नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । अब कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह-नवीकरण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सर्कुलर जारी गरेको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापित संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ ।
यस्तो व्यवस्थापछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सबै क्षेत्रमा प्रवाह गरेको ५ करोड रूपैयाँसम्मको कर्जा र होटल तथा रेस्टुरेन्ट, पशुपन्छी पालन, निर्माण शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित परियोजनामा लगानीमा रहेको कर्जामा ०८० पुससम्म पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्न पाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि असल कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था थियो । यस्तै घरजग्गा धितो कर्जाको सीमा पनि राष्ट्र बैंकले बढाएको छ । यस्तो कर्जाको सीमा बढाएर ५० प्रतिशत पुर्याइएको छ । यसअघि काठमाडौं उपत्यकाभित्र ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कर्जा सीमा तोकिएको थियो ।
राष्ट्र बैंकको परिपत्रअनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाउने छैनन् । राष्ट्र बैंकले व्यक्तिको ५० लाखभन्दा बढी रकमको मुद्दती निक्षेपमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेस गर्नुपर्ने नियम बनाएको छ । बैंक तथा वित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रूपमा लिनुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सुरक्षण गराउने आवश्यक व्यवस्था पनि मिलाउनु पर्नेछ । बैंकहरूले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयरमा गरिएको कुल लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीमै जोड्न पाउने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकलाई समेत वाणिज्य बैंकसरह निक्षेप संकलनमा कुनै सीमा नलाग्ने व्यवस्थासमेत गरेको छ । बैंकहरूले चालु आर्थिक वर्ष ०८०/८१ मा अतिरिक्त पुँजी कोषमा ०.५ प्रतिशत रकम राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । कृषि, ऊर्जा र लघु, घरेलु, साना एवं मझौला उद्यमले तोकिएको कर्जा प्रवाह गर्न थप एक वर्षको समय थपिएको छ ।
अब वाणिज्य बैंकहरूले ०८४ असारभित्र कृषिमा कुल कर्जाको १५, ऊर्जामा कुल कर्जाको १० र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । यसअघि ०८३ असारभित्र तोकिएको कर्जा प्रवाह गरिसक्नुपर्ने व्यवस्था थियो ।
एकीकृत निर्देशिका संशोधनले बैंकहरूलाई समेत राहत दिन खोजेको देखिन्छ । अब असल कर्जा तथा बिल्स खरिदका लागि बक्यौता साँवा रकमको कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत मात्रै राखे पुग्ने भएको थियो । यसअघि यो व्यवथा १.३ प्रतिशत थियो ।
त्यस्तै, ऋणी र बैंक दुवैलाई राहत हुने गरी कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको म्याद थप गरिएको छ । यसअघि गत असार मसान्तसम्म मात्रै अप्ठ्यारोमा परेका क्षेत्रहरूमा प्रवाहित कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाइने व्यवस्था थियो । अब यस्तो मौका पुस मसान्तसम्मलाई दिइएको छ । जसले मर्कामा परेका ऋणीहरू र खराब कर्जाको बोझमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई केही समयका लागि राहत दिन खोजेको छ ।
कर्जा पुनर्तालिकीकरण गर्न पाउने क्षेत्र पनि थप गरिएको छ । जसअनुसार सिमेन्ट, डन्डी, इँटा–ब्लक, पाइप्स् एन्ड फिटिंस्लगायतका उद्योगमा प्रवाहित कर्जासमेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक–दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जा र पाँच करोड रूपैयाँसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीलाई पनि कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने सुविधा छ ।
बैंक तथा वित्तीय क्षेत्रमा पहुँच राख्नै नसक्ने र सौदाबाजी गर्न नसक्ने सर्वसाधारणलाई चर्काे ब्याजदरको मार खेप्नुनपरोस् भन्ने उद्देश्यले ब्याजदरमा केही हदसम्म कस्ने नीति लिएको छ । जसअनुसार एउटै प्रकृतिका कर्जामा ब्याजदर तलमाथि गर्दा २ प्रतिशत विन्दुभन्दा फरक पार्न नमिल्ने व्यवस्था गरिएको छ । यसले सर्वसाधारणलाई लगाउने ब्याजदर र पहुँचवालालाई लगाउने ब्याजदरमा ठूलो अन्तर नहुने भएको छ ।
अधिकांश कर्जा व्यवस्था खुकुलो बनाइरहँदा वित्तीय स्थायित्व खलबलिन नदिने गरी काउन्टर साइकल बफरलाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा ०.५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या रहेको कारण देखाउँदै विगतमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार