दैवीशक्तिको आराधना : नेपालको देवीपूजन परम्परा कसरी जीवन्त रहला ?
भेषराज पोखरेल
असोज २८, २०८० आइतबार १२:४:३८
नेपालका सबै जातजातिको विशेष र साझा पर्व दशैंको उमंग छुट्टै खालको छ । दशैंले नेपालको अर्थतन्त्रलाई पनि सक्रिय बनाउन ठूलो भूमिका खेल्छ । दशैंका नवरात्र ब्रह्माण्डीय स्त्रैण शक्तिको आराधना गर्ने दिन हुन् । देवी आराधनाका लागि शरद ऋतुको आश्विन महिना, शुक्लपक्षलाई विशेष महत्व छ । यो समयमा देवी शक्ति विशेष रुपमा जाग्रित हुन्छिन् भन्ने शास्त्रीय मान्यता छ ।
शक्तिलाई संसारका सबै धर्म संस्कारका मानिसले कुनै न कुनै रुपमा महत्व दिएकै छन् । हिन्दू संस्कारमा देवी पूजालाई विशेष धार्मिक अनुष्ठानका रुपमा लिइन्छ । नेपाल पाशुपत क्षेत्र भएकाले उनकी परा शक्ति दुर्गा, कालीको पूजा विशेष रुपमा हुनु स्वाभाविक हो । शक्तिपीठहरूको क्षेत्र नेपाल तन्त्र साधनाको अभ्यास स्थल पनि हो । यहाँ विभिन्न जातजातिले विभिन्न नाम र स्वरुपमा तन्त्र साधनाको अभ्यास गरिहेका छन् । शक्ति साधनाको यो पद्धति र परम्पराले नेपालका सबै जातजातिलाई एउटै सूत्रमा आबद्ध गरेको छ । त्यसैले दशैं नेपालको सांस्कृतिक अनेकतामा एकताको पहिचान पनि हो ।
देवीशक्तिको स्थापन र पुज्ने नेपाली परम्परा अरुको भन्दा भिन्न र विशेष किसिमको छ । भारतमा नवरात्रमा प्रायः देवीका माटाका मूर्ति बनाएर पूजा गर्ने र सकिएपछि नदीमा सेलाउने चलन छ । नेपालमा प्राचीन कालदेखि पहाडका थुम्का तथा विशेष स्थानहरूमा शक्तिपीठहरू स्थापित छन् चाहे ती सतीदेवीका अंग पतनको प्रसँगका होऊन् वा कन्या कुमारीको पूजा–परम्पराको सन्दर्भमा । अस्वाभाविक तथा अकाल मृत्यु वरण गरेका विभिन्न जातजातिका शुद्ध आत्मा भएका कन्याहरू वा त्यस्तै महिलाहरू शक्तिस्वरुपा बन्न गएको मानेर पूजा गर्ने परम्परा पनि उत्तिकै छ । ती सबै तान्त्रिक विधिद्वारा पहिचान गरिएका शक्ति रूप हुन् । अनेक नाम दिइए पनि सबै शक्तिपीठहरूको पूजापद्धति भने मिल्दोजुल्दो छ । सबैलाई देवी कालीको रुपमा पूजा गर्दै आएको पाइन्छ ।
धर्मशास्त्र अनुसार देवी पार्वती हिमालय पुत्री हुन् । अधिकांश शक्तिपीठहरूमा ब्रह्मणभन्दा बाहेकका जातजातिका पुजारी रहने चलन छ । दक्षिणकाली, मनकामना, सुपा देउराली, आलमदेवी, गढीमाईदेखि नेपालभरका अन्य अनेकौं देवीस्थान यस्तै परम्परामा आधारित छन् जहाँ जातिभेदबाट माथि उठेर सबैले समान आस्था प्रकट गर्छन् । पछिल्लो समय गाउँ, शहरहरूमा दुर्गाका मन्दिर स्थापना गरेर पूजा गर्न पनि थालिएको छ । यो विशेष संस्कारले के देखाउँछ भने देवीशक्तिले नेपालका सबै जातजातिलाई अत्यन्तै सद्भावका साथ जोडेर राखेको छ । देवीशक्तिसँग जोडिएको दशैं सबै नेपालीबीचको सांस्कृतिक सेतु पनि हो ।
दुर्गा पक्षमा विशेष गरी नवदुर्गाको पूजा हुन्छ । शक्तिपीठहरूमा नौ दिनसम्म निष्ठापूर्वक शक्तिको पूजा गरिन्छ । थोरै पीठबाहेक प्रायः सबै देवीस्थानमा बलि दिएर पूजा गरिन्छ । पछिल्लो समय नेपालमा बलिप्रथाको विरोध हुन थालेको छ । देवी सबैकी माता हुन्, एउटा सन्तानको तृप्तिका लागि अर्को सन्तानको हत्या चाहन्नन्, तसर्थ बलिप्रथा गलत हो, हटाउनैपर्छ भन्ने आवाज विभिन्न सम्प्रदाय, व्यक्ति तथा संस्थाबाट आउन थालेको छ । त्यसमा विधर्मीहरुको आवाज पनि जोडिएको छ ।
देवी शक्ति वा अन्य देवशक्तिको पूजा तीन किसिमले गरिन्छ । सात्विक, राजसिक र तामसिक तीन प्रकारका पूजा परम्परा छन् । सात्विक विधमा बलि वर्जित छ । राजसिक र तामसिक विधिमा बलिलाई आवश्यक मानिएको छ । सात्विक विधि प्रायः कामनारहित हुन्छ भने कामना भए पनि सर्व कल्याणार्थ हुन्छ । राजसिक विधि व्यक्तिगत कामनाको तुष्टी र सीमित समाजको खुसीका लागि गरिन्छ । तामसी भने व्यक्तिगत कामना पूर्ति तथा क्षणिक सुख, उमंग तथा उद्दण्डता प्राप्तिका लागि गरिन्छ । युगौंयुगदेखि चलिआएका परम्परामा पशु बलिको विधान भए पनि वेद, पुराण आदिले त्यसको विकल्प पनि दिएका छन् ।
सात्विक विधिबाटै पनि शक्ति साधना गरेर देवीलाई प्रसन्न गर्न सकिन्छ । फूल, चन्दन, अक्षता, फलफूलजस्ता सात्विक पूजासामग्रीबाटै पनि शक्तिको उपासन गरी वाञ्छित फल प्राप्त गर्न सकिन्छ । कतिपय सात्विकले पशुबलिका विकल्पमा नरिवल, कुभिण्डो, काँक्रो जस्ता फलफूलको बलि दिने गरिरहेकै छन् ।
वेद, स्मृति, धर्मशास्त्र, तन्त्रशास्त्र आदिले निर्दिष्ट गरेको बाटोमै रहेर पनि हामी बलिको विकल्पका रूपमा नयाँ पुस्ताहरूमा विस्तारै सात्विक संस्कार र भाव प्रवाह गर्न सक्छौं । कालिका पुराण, देवीपुराण, भविष्यपुराण, विष्णु धर्मोत्तरपुराण, सौरपुराण, मार्कण्डेयपुराण आदिले पशुबलिका साथै देवी पूजनका सात्विक विधान तय गरेकै छन् । ब्रह्मसम, देवसम, ऋषिसम ब्राह्मणले त पशुबलि दिनै हुँदैन भन्ने शास्त्रमै उल्लेख छ । उच्च शक्तिवाला उन्मत्त स्वरुपा देवीको पूजा गर्ने, सुख, सुविधा, धन, ऐश्वर्य चाहनेले बलि दिनु उपयुक्त मानिन्छ तर विधिसम्मत अनुष्ठान गरेर कालीलाई शीतलाका रुपमा शान्त स्वरुपको आराधना, पूजा गर्न सके बलि दिनु आवश्यक पर्दैन ।
यी सबैबाट माथि उठेर अझ उच्च चिन्तन राख्न सक्ने हो भने आफूभित्र रहेका खराब तत्वहरू मोह, मात्सर्य, लोभ, रिस, डाहलाई हटाउनु नै वास्तविक बलि हो । त्यसो गर्न सकिए देवी माताहरू मानिसको व्यवहारबाट स्वतः प्रशन्न हुने कुरामा दुई मत छैन । किनभने देवीले उग्ररूप धारण गर्नु परेकै दानवरुपी दुष्ट प्रवृत्तिहरूको विनाशका लागि हो । समाजमा दुष्ट प्रवृत्तिहरू नै नहुने हो भने देवीको उग्ररूपको आवश्यकता नै पर्दैन । देवी सधैं शान्त रुपमा रहन्छिन् ।
यति हुँदाहुँदै पनि बलिप्रथालाई मात्रै लिएर नेपालको समग्र संस्कृति र सनातन परम्परालाई नै निचधर्मको परिणाम, असभ्यताको परिणाम भनेर प्रचार गर्नु सर्वथा गलत छ । पछिल्लो समय विभिन्न सम्प्रदायका मानिस तथा पशु अधिकारवादीले पशुबलि लगायतका परम्परा र केही कमजोरीलाई औंल्याएर हाम्रो सिंगो धर्म परम्परा र संस्कृतिलाई नै खल्बल्याउने कुचेष्टा गर्न थालेको प्रष्टै छ । बलि नदिऊँ भन्नुराम्रो हो तर यसैलाई देखाएर समग्र नेपाली संस्कृतिलाई नै हिंस्रक, निच र असभ्य देखाउने दुस्प्रयास आपत्तिजनक छ । घर, होटल, रेस्टुरेन्ट आदिमा खुलारुपमा पशु काटमार गर्ने र जाँडरक्सीसहित खाने र समाजमा उड्दण्ड मच्चाउनेलाई भने यही पंक्तिले सम्मान गर्ने परम्परा बन्दै जान थालेको छ जो अत्यन्तै गलत छ । यसमा धर्म परिवर्तनमा क्रियाशील मिसनरीहरूको घूसपैठ बुझ्न कुनै गाह्रो छैन । यसै पनि नेपालका ठूला राजनीतिक परिवर्तनका परिघटनाहरूभित्र घुसेर, राजनीतिक नेतृत्वलाई लोभलालचमा फसाएर, विभिन्न विकासे संस्थाहरूको आवरणमा गाउँ–गाउँमा पुगेर वा खुलमखुला धर्म परिवर्तन गराएर नेपाली धार्मिक, सांस्कृतिक सद्भावमाथि अतिक्रमण गर्ने अभीष्ट दिनानुदिन हावी भइरहेको छ ।
देवीशक्ति एउटा जीवन्त शक्ति हो जसले पूरै नेपाललाई साधना क्षेत्र बनाइरहेको छ । यो शक्तिलाई कसरी सँधै ऊर्जावान् वा जीवन्त बनाइरहने ? उपयुक्त साधना वा अभ्यासविधिद्वारा जीवन्त राख्न नसक्ने हो भने यो शक्ति निष्क्रिय बन्दै जानेछ । त्यस्तो अवस्थामा सद्धर्मको नाममा अल्पज्ञानी तथा अन्य विधर्मीको प्रहार दह्रोसँग पर्नेछ । आफ्नो संस्कारमा दह्रोसँग खुट्ट टेक्न सकिएन भने अरुको प्रहार थेग्न सकिँदैन । त्यसका लागि हामीले प्रथमतः शक्ति साधनाको सुदीर्घ परम्परालाई सात्विक स्वरुपमा रुपान्तरण गर्दै लैजानु जरुरी छ । त्यसमा सबै जातजातिलाई जोड्न सक्नु आवश्यक छ । त्यसो नगरी केही जातिको मात्रै उक्स्याहटमा लागियो भने अन्य जातिहरु पछाडि छुट्नेछन् । उनीहरुसँगको सम्बन्ध पनि टाढिँदै जानेछ । केवल बलिको विरोध मात्रै गरियो भने यसले अन्ततः धर्मान्तरणलाई मात्र बढाउनेछ । वैदिक विधि नजान्ने र तन्त्रविधिको पनि विरोध गर्ने हो भने सदियौंदेखिको एउटा जीवन्त संस्कृति संकटमा पर्नेछ । यो अवस्थामा भइरहेको संस्कृतिको विरोध र अपमान गरेर विधर्मीलाई मौलाउने मैदान तयार गर्न सहयोग मिल्नेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार