भ्रष्टाचार र सरकारी लापर्वाहीले ढल्यो हेटौँडा सिमेन्ट उद्योग
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १२:१५:४९
१३ कात्तिक, काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादनमा इतिहास बोकेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । सरकारी लापर्वाही र भ्रष्टाचारले चरम आर्थिक संकट बेहोर्दै आएको यो उद्योग बन्द हुँदा सरकारमाथि समेत प्रश्न उठेको छ । तर, उद्योग मन्त्रालय यसको जिम्मेवार लिने पक्षमा देखिएको छैन ।
नेपाली सिमेन्टको बजारमा हेटौंडा सिमेन्ट उद्योगको आफै इतिहास हो । हेटौंडाको लामसुरे हाइटमा ०३२ सालमा स्थापना भएको यो उद्योगले व्यावसायिक उत्पादन भने ०४२ बाट मात्रै सुरु गरेको थियो । एसियाली विकास बैंकको सहयोगमा स्थापित यो उद्योगको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । त्यति बेला नेपालकै दोस्रो ठूलो उद्योगका रुपमा परिचित थियो हेटौंडा सिमेन्ट उद्योग ।
उद्योगबाट जब उत्पादन सुरु भयो, तव मात्र देशभित्र सिमेन्ट उत्पादनको सम्भाव्यता पुष्टि भएको थियो । भारतीय बजारको परनिर्भरतालाई यो उद्योगले नै तोडेको हो । हेटौंडा सिमेन्टले बसाएको जगमा देश सिमेन्टमा आत्मनिर्भर बन्ने बाटोमा खुलेपनि आफै भने यो उद्योग थला परेको छ । ठूला आयोजनाको विश्वास नेपालका ठूलो संरचना निर्माणमा भारतीय सिमेन्टको दबदबा यो उद्योग खुलेपछि तोडिएको थियो ।
हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन बन्द गरेको हो । यो उद्योगमा मासिक तीन हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादशैंको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन गरेको जानकारी दिए ।
उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको बताए । उनले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्ति मन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै शहरमा बिक्री वितरण गर्न समस्या भएपछि उत्पादन बन्द गरिएको हो । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको कोइरालाले बताए । यो उद्योगमा हाल करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन् ।
उद्योगमा क्लिंकरको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि तत्काल क्लिङ्कर उत्पादन गर्न कठिनाइ भएको उद्योगका कर्मचारीले बताएका छन् । अब कहिले उत्पादन सुरु हुन्छ भनेर एकिन नभएको उनीहरूको भनाइ छ ।
मन्त्रालयले सहयोग गरे दुई साताभित्रै विदेशबाट गुणस्तरीय कोइला ल्याएर उत्पादन शुरू गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब ८०० मेट्रिक टन कोइला छ । तर, पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको उनको भनाइ छ ।
महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौं लगायत विभिन्न शहरमा खपतका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए । उद्योगको क्लिंकर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको एक साताभित्रै मर्मत सम्भार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । करिब चार दशक पुरानो हेटौंडा सिमेन्ट उद्योगबाट २०४३ मंसिर २६ गतेदेखि व्यावसायिक रूपमा उत्पादन शुरू भएको थियो । आज आएर आर्थिक संकटले फेरी उत्पादन सुरु हुन्छ कि हुँदैन भन्ने अवस्थामा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार