व्यवस्थामा परिवर्तन होइन परिमार्जन जरुरी
भुवनेश्वर अर्याल
मंसिर ७, २०८० बिहिबार १७:१२:१४
मेरो निरपेक्ष कसैको विरोध या समर्थन छैन् । कांग्रेस नेता बीपी कोइरालाले आफूलाई प्रधानमन्त्रीबाट हटाएर जेल हाल्ने राजालाई फ्याँकेर गणतन्त्र ल्याउने कुरा कहिल्यै गरेनन् । हामीले बडो आदर र सम्मान गरेका कम्युनिस्ट नेता मदन भण्डारीले राजाले आँखा चम्काउने या हात लम्काउने नगरे संवैधानिक राजा मान्न सकिने कुरा पटक पटक भनेका थिए । वहाँहरुलाई गणतन्त्र भन्ने विषयको ज्ञान नभएको पक्कै होइन ।
हरेक राजनीतिक परिवर्तनपछि प्राप्त नयाँ व्यवस्थाले देशको समृद्धि र जनताको जीवनस्तरमा सकारात्मक प्रगति नगरे परिवर्तन सार्थक हुँदैन । देश कंगाल हुने, देशमा उद्यमशिलता तथा उत्पादन घट्ने अनि आम जनतामा राज्यबाट सुरक्षाको सट्टा असुरक्षा महसुस गराउने व्यवस्था जुनसुकै नामको किन नहोस्, त्यो प्रति क्रान्ति हो । एउटा राजा फालिएर हजारौं राजाहरू र विदेशी दलालहरूको शोषण भइरहेको यो गणतन्त्र ०४६ सालपछि प्राप्त उपलब्धिको तुलनामा प्रति क्रान्तिकारी भयो । संविधान एकातिर छ, सरकार, संसद, न्यायालय सबैतिर दलहरूको मनोमानी र लुटतन्त्र छ ।
जनताबाट चुन्ने र चुनिने विधि अनुपयुक्त छ । जन अभिमतलाई खरिदबिक्रीको वस्तु बनाइएको तथा समावेशी लोकतन्त्रको नाममा संविधानको व्यापक दुरुपयोग भएको छ । एउटा जातिको शासन खोसेर अर्को समूह मिलेर देशमा चरम शोषण, दमन र लुट मच्चाइएको यो व्यवस्था कागजी गणतन्त्रमा सीमित भयो । त्यसैले वास्तविक लोकतन्त्र प्राप्त गर्न, देशले धान्न सक्ने तरिकाले राज्यको पुनर्संरचना गर्न र न्यायपूर्ण शासन व्यवस्था स्थापानार्थ एउटा शान्तिपूर्ण जनआन्दोलन अपरिहार्य छ । नेपाली जनता तथा देशको सचेत वर्गले कहिल्यै कसैको निरपेक्ष विरोध या समर्थन गर्दैनन् र गर्नु पनि हुँदैन ।
हामी राजा या जुनसुकै दलका नेताहरूको स्थायी दुस्मन बन्न सक्दैनौ र बनेनौं । जनताको समर्थनको सधैं दुरुपयोग नै भयो । गुण र दोषको आधारमा विश्लेषण गर्ने हो भने जनताले सबैलाई पालो दिएका हुन् तर सबैबाट देश र जनतामाथि कुठाराघात मात्र भयो । कांग्रेस, एमाले, माओवादी या सिङ्गो नेकपा सबैलाई अवसर दिएको जगजाहेर छ । हुँदा हुँदा अवस्था यस्तो आयो कसैमाथि पनि विश्वास गर्ने आधार देखिएन ।
दलहरूप्रति वितृष्णा दलहरूले नै जन्माए
संविधानमा लेखिएको कुरा क्रमशः कार्यान्वयन गरेर गएको भए जुनसुकै दलले शासन गरे पनि फरक पर्ने थिएन । एउटा दलको प्रतिस्पर्धामा पाँच बर्षपछि अर्को दल आउन सक्थ्यो । आम जनतालाई कसको शासन छ भन्ने सरोकार हुँदैन । राजाले आफ्नो हातमा शासन लिए पनि असल पात्र छानेर सुशासन दिन नसकेकै हो । तमाम हिंसा र सर्वनाशका चोटहरूलाई बिर्सेर माओवादीलाई जङ्गलबाट फर्केर देश बनाउने सुनौलो अवसर दिने नेपाली जनता कहिल्यै एक पक्षीय भएनन् ।
हामीले भोगेको तितो यथार्थ कांग्रेस, एमाले, माओवादी, हिजोको राप्रपा र मधेशवादी दलहरू सत्ता स्वार्थमा सधैं मिलिरहे तर आम जनतालाई देशमा राज्य भएको अनुभूति कहिल्यै भएन । हाम्रो दुर्भाग्य यो छ कि कुनै पनि दलले आफूलाई जनताको पक्षमा उभ्याउने रत्तिभर दायित्वबोध नगरेका मात्र होइनन्, जुन बाटो हिंड्ने भनेर तय गरेका थिए त्यो तर्फ ध्यान नै दिएनन् । जे जसरी हुन्छ सत्ता प्राप्ति गर्ने, दलीय भागबन्डा गर्ने नै उनीहरूको मुख्य अभीष्ट प्रमाणित भयो । विद्यमान समयमा आम जनतामा निराशा र वितृष्णा जन्माउने पनि दलहरू नै हुन् ।
गणतन्त्रबाट प्राप्त उपलब्धि रक्षाको अलाप
अचेल दलहरू गणतन्त्रको उपलब्धिको रक्षा गर्नुपर्ने भनेर रूवाबासी गरेको सुनिन्छ । एमाले कांग्रेस लगायतका दलहरू ०४६ कै संविधानबाट सन्तुष्ट थिए । गणतन्त्र मुख्य रुपमा माओवादीको एजेण्डा भए पनि जनयुद्धको नेतृत्वकर्ता नै तेस्रो पटक प्रधानमन्त्री बन्दा पनि उनको नेतृत्वशैली पुराना दलको भन्दा कुनै मानेमा फरक छैन । नैतिकताविहिन राजनीतिको पराकाष्ठा नै भन्नु पर्छ जे जस्तो भए पनि संसदमा तेस्रो स्थान हासिल गर्नेले सत्ताको नेतृत्व गर्ने कुरा कुनै हालतमा लोकतन्त्र सम्मत हुन सक्दैन । राज्यको पुनर्संरचना गर्ने भनेको त झन अध्यादेश र निषेधाज्ञाको बलमा देशमा सिण्डिकेटयुक्त दल तन्त्र लादियो । संविधानमा जे सुकै लेखेको भएपनि व्यवहारमा यो व्यवस्था न लोकतन्त्र हो न त गणतन्त्र नै ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रदेश खारेजी
केही हजार व्यक्तिहरूलाई जागिर दिने बाहेक प्रदेश संरचनाले विकेन्द्रीकरणको स्वरूप ग्रहण गर्न सकेन । केन्द्रकै आसमा झर्ला र खाउँला भन्ने विकृतिको जड प्रदेश संरचना खारेज हुनु पहिलो राष्ट्रिय आवश्यकता हो । देशमा तमाम प्राथमिकता दिनु पर्ने योजनाहरु पाखा सारेर मुख्यमन्त्रीहरूलाई काठमाडौंमा आवास निर्माण गरेबाट यो प्रष्ट हुन्छ कि संघीयता जनबिरोधी, विकास विरोधी र राज्यलाई हरिकंगाल बनाउन लादिएको पासो हो भन्न अप्ठेरो मान्न पर्दैन । बहुदलीय संसदीय व्यवस्था भन्दा यो व्यवस्था अझ धेरै खर्चिलो भयो । राजनीति सेवा हुनुपर्ने तर यो नेताहरूको मात्र आम्दानी गर्ने उद्योग जस्तै देखियो ।
अरू उद्योगधन्दा बन्द व्यापार ओरालो लागे पनि आम जनताको रगत पसिना चुसेर गरिएको राजनीति पद भेट्टाउनेहरूलाई सुनको कुखुरी भइरहेको छ । यतिले मात्र नपुगेर भ्रष्टाचार, मानव बेचबिखन, सरकारी स्वामित्वका जग्गाको अपचलन र उद्योग नै खोलेर सुन तस्करीमा सत्ता र प्रतिपक्षको संलग्नताले यो व्यवस्थामा लुटेराहरुकै राई-दाई चलेको छर्लङ्ग भयो । हिजो पनि जनआन्दोलनको बलमा संविधान फेरिएकै हो त्यसैले अब पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले शासन चलाउने, संसद बाहेक कार्यकारीले छानेको व्यक्तिहरू सम्मिलित सरकार र संसदले विधि निर्माण गर्ने परिष्कृत व्यवस्था नै अबको निकास हुनुपर्छ ।
राष्ट्रपति भएपछि उपराष्ट्रपति किन चाहिने ? यो खारेज हुनुपर्छ । पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्री कसैले पनि सेवा सुविधा लिन नपाइने व्यवस्था गर्नुपर्छ अन्यथा देश विकास त कता हो कता तलब भत्ताकै निमित्त पनि अझ धेरै ऋण खोज्ने अवस्था सृजना हुनेछ । बितेको चार पाँच वर्षमा बाह्य तथा आन्तरिक ऋण बढ्दो अवस्थाले भन्छ देशको ऋण टुप्पोमा पुगिसक्यो । अब पनि यो व्यवस्थाको निरन्तरता देश र भावी सन्ततिको निमित्त श्राप बन्ने छ ।
एउटा कुरा भन्नै पर्छ, राजनीतिले भएको सम्पूर्ण साधन स्रोत दोहन गरेको हुनाले आम जनताको सेवा सुविधा र अवसरहरू कटौती गर्यो । विकास रोकियो, जसका कारण जन असन्तोष थपियो । संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र भोजन समेत जनताको अधिकार भनेर लेख्ने तर भुकम्पमा परेका पीडितहरुसम्म छानो र मानो पूर्याउनेसम्म क्षमता नहुने यो कस्तो लोकतन्त्र हो ?
महानायकको खोजी
पुरानोलाई सत्तोस्राप गरेर सत्तामा जाने अनि उनीहरूसँगै उनीहरूले जस्तै देश लुट्ने इतिहास दोहोरी रहेको छ । स्व. राजा महेन्द्रले देश बुझेर विकासको आधारशिला खडा गरेका थिए । त्यो बेलाको विश्व राजनीतिक रङ्गमञ्चमा नेपाल भन्ने देश चिनाएका मात्र थिएनन् भरपुर अनुदान सहयोग लिएका पनि थिए । उनमा क्षमतावान मान्छे छान्ने अनि जिम्मेवारी दिने क्षमता रहेछ । भलै राजाहरू निरंकुश थिए तर उनीहरूले खोलेका उद्योग कलकारखाना, पूर्वाधार, विश्वविद्यालयहरू निरंकुश थिएनन् । विदेशीहरुलाई सम्झौता गर्दा या सम्बन्ध बढाउँदा राष्ट्र हित पहिलो शर्त हुन्थ्यो । आफ्नो सत्ता टिकाउन न सहि उनीहरूले देशको माया गरेका थिए ।
हामीले राजालाई शासनमा ल्याइदिनु पर्ने पनि छैन । हामीले त देश र जनतालाई जसले सुशासन दिन सक्छ ती पात्रको खोजी गरेका मात्र हौं । इतिहास साक्षी छ, स्व. मरिचमान सिंह, स्व. मदन भण्डारी , राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रले भारतीय दादा गिरीका विरुद्ध आफूलाई उभ्याउँदा जागिर र जीवन गुमाए । राजनीति सेवा र त्यागको नाम हो । हामी कुनै व्यक्ति या पार्टी प्रति घृणा फैलाउने र कुनै प्रति अन्धभक्त हुने गरेका छैनौं ।
बितेको चार दशक हामी अलपत्र पर्यौं । गत स्थानीय तह र संसदीय निर्वाचनमा केही नायकहरू जन्मिएर खवरदारी गरिरहेका भएपनि राष्ट्रलाई दिशानिर्देश गर्ने महानायक प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आजको राष्ट्रिय आवश्यकता हो । एउटा ठूलो जनसागरको बलले गणतन्त्र नामको यो दलीय लुटतन्त्रलाई समूल नष्ट गरि नयाँ युगको सुरुवात गरौं । दलहरूमा रहेका सम्पूर्ण निःस्वार्थ र उर्जावान सबै नेपालीहरू अब जागौं ।
भुवनेश्वर अर्याल
लेखक अर्याल नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक व्यवसायी, समाजसेवी र राजनीतिकर्मी हुन् ।
लेखकबाट थपप्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार