व्यवस्थाको विरोध ! सामान्य लाग्ने जनआक्रोश भूसको आगोजस्तै फैलन सक्छ
भेषराज पोखरेल
मंसिर ९, २०८० शनिबार १०:१:५३
व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा काठमाडौंमा विरोध प्रदर्शन हुन थालेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान, नेपालका संयोजक प्रसाईंको आव्हानमा सरकार ठूला दलका कामप्रति विमति राख्नेहरू यो व्यवस्थाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक खतरामा पारेकाले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्छ भन्दै उत्रिएका छन् । मंसिर ७ गते बल्खुमा प्रदर्शनमा उत्रिएको यो समूह ८ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारीका क्रममा रोकिएको छ ।
बैंक तथा वित्तीय संस्थाको २० लाखभन्दा तलको ऋण मिनाहा गर्नुपर्ने भन्दै आएका प्रसाईंले यो व्यवस्थालाई जसरी पनि फालेर राजालाई स्थापित गर्ने दाबी गर्दै आएका छन् । उनको आव्हानमा भएको प्रदर्शनमा राजालाई पुनःस्थापित गर्नुपर्छ भन्नेहरूको उपस्थिति त छ नै सरकार र नेताहरूको काम र व्यवहारप्रति आक्रोश व्यक्त गर्नेहरूको संख्या पनि ठूलै देखिएको छ । दुर्गा प्रसाईंको नेतृत्वले व्यवस्था नै परिवर्तन गर्ला भन्न त कठिन छ तर उनको नेतृत्व तथा उनको अरू पक्षको ख्याल गरेर भन्दा पनि सरकार र नेताप्रतिको आक्रोश पोख्न सो प्रदर्शनमा आएका युवाहरूको संख्या बढ्दै गएमा यो व्यवस्थाप्रति नै खतरा बढ्ने हो कि भन्ने देखिन्छ ।
पछिल्लो समय सरकार सामान्य जन आक्रोश तथा विरोधबाट पनि डराउने गरेको छ । सरकारले गुनासा सुन्ने र त्यसै अनुसार काम गर्नतिर भने ध्यान दिने गरेको छैन । पछिल्लो समय प्रदेशहरूको काम गराइ, प्रदेश सरकार सञ्चालनका लागि गरिने खर्च अदिलाई हेरेर जनताले प्रदेश हाम्रा लागि आवश्यक रहेन भन्न थालेका छन् । लोकतन्त्रमा विश्वास गर्ने कम्युनिष्ट दलहरू तथा प्रजातान्त्रिक दल कांग्रेस नेतृत्वका सरकारहरूले प्रदेशलाई बलियो बनाउनतिर चासो दिएनन् ।
संविधानमा उल्लेख गरिएका प्रदेशलाई तोकेका अधिकार प्रयोग गर्न दिन पनि यी दलका सरकारहरू आनाकानी गरिरहेका छन् । प्रदेशलाई संविधानमा उल्लेख गरे अनुसार सरकारको एउटा तह नभएर केन्द्रको एउटा निकायको रुपमा हेर्ने गरेका छन् । प्रदेशले सञ्चालन गर्ने विकास योजना पनि केन्द्रले नै सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्ने जिम्मा पनि केन्द्रले नै लिने गरिएको छ । कर्मचारी व्यवस्थापन पनि केन्द्रले नै गर्न चाहेको देखिन्छ ।
प्रदेशका संसद तथा सरकार पनि ठूला दलहरूले केन्द्रकै आदेश अनुसार चलन भन्ने मानसिकता राखेकाले प्रदेश काम नलाग्ने जस्ता देखिएका छन् । यस्तो देख्दा जनतालाई यो प्रदेश नै खारेज हुने हो भने सरकारी खर्च त बच्छ भन्ने लागेको देखिन्छ । सरकारले प्रदेश राज्य शक्तिको विकेन्द्रीकरणका लागि आवश्यक छ भनेर जनतालाई महसुस गराउन सकेको छैन । सरकारको गल्ती, कमजोरीका कारण उत्पन्न जनताको सोचाइ र जन आक्रोशलाई कुनै न कुनै शक्तिले उपयोग त गर्ने भयो । अहिले दुर्गा प्रसाईंले यसैलाई उपयोग गर्दै छन् ।
पछिल्लो समय सरकारहरूले जनताको जीवनस्तर, महँगाइ, शिक्षा, स्वास्थ्यको उपलब्धता र गुणस्तरमा ध्यान नदिँदा युवाहरू पढ्ने नाममा वा कामकै लागि विदेश जानेको संख्या बढिरहेको छ । सरकारी कर्मचारी र निजी क्षेत्रमा काम गर्नेहरूको पारिश्रमिकको अन्तर तथा असंगठित रुपमा काम गर्नेहरूको आम्दानीमा भएको ठूलो अन्तरका कारण पनि जनतामा आर्थिक असमानता बढ्दै गएको छ । सरकारले अर्थतन्त्रलाई पनि खुला त गरेको छ तर त्यसभित्र दलालीकरण र कमिशनखोरी भित्राएकाले केही व्यापारी, केही उद्योगी मालामाल हुने र धेरैको उठिवास हुने अवस्था आएको छ ।
सरकारकै काम र व्यवहारका कारण जनताले गाउँ छाडेर शहर बस्न चाहन्छन् तर नेपालमा सामान्य नागरिकले सामान्य काम गरेर शहरी क्षेत्रका आसपासमा पनि घर घडेरी किन्न नसक्ने गरी महँगो बन्न गएको छ । यस्तो अवस्थामा युवाहरू विदेश जानु वाध्यतामा परिणत भएको छ । उनीहरू आर्थिक रुपमा कमजोर भएर नेपाल बस्ने कि केही समय भए पनि विदेश गएर काम गरी शहर आसपासमा घरवासको व्यवस्था गर्ने ? सरकार तथा ठूला दलहरूसँग यसको जबाफ छ र ? यो अवस्था भनेको नेपालमा बसेका युवाहरूमा आक्रोशको आगो दन्कने वातावरण हो । यो आक्रोशको आगोलाई घिउ हाल्ने काम कसैले न कसैले त गर्ने भयो । त्यो यिनै पार्टीको आड लिएर व्यवसाय गरी सम्पत्ति कमाएका दुर्गा प्रसाईंले उपयोग गर्दै छन् ।
दुर्गा प्रसाईंको आन्दोलनले अहिलेको व्यवस्था त तत्काल पल्टिहाल्न कठिन छ । राजतन्त्र पुनःस्थापना हुन पनि सजिलो छैन । दलहरूप्रति जनताको भरोसा अझै पूर्ण रुपमा टुटिसकेको छैन, अझैसम्म जनसमर्थन दलहरूसँग ठूलै छ तर यस्ता अभियानले समाजलाई हल्लाउन भने सक्छ । अनेकाै खालका अराजकताले मन्टो उठाउने वातावरण बन्न सक्छ । प्रधानमन्त्रीले भनेजस्तो दुर्गा प्रसाईंको आन्दोलन निरस्त पार्न सबै दल मिलेर लड्नै अघि सर्नु त पर्दैन तर ठूला, साना दलहरू एक भएर अहिलेको व्यवस्थामा भएका कमी, कमजोरी पहिल्याउन गम्भीर रुपमा लाग्नु भने पर्छ । स्थानीय तह र प्रदेशलाई संविधानमा उल्लेख गरिए अनुसारको अधिकार प्रत्यायोजन गर्नु आवश्यक छ भने स्रोत साधनको उपयोग गरेर विकासलाई गतिशील बनाउन केन्द्रले विशेष भूमिका खेल्न सक्नुपर्छ ।
दलका शीर्ष नेताहरु राजा आइहाल्ने हुन् कि भनेर जति थुरथुर कामे पनि दुर्गा प्रसाईंको नेतृत्वले राजतन्त्र फर्काउन कठिन छ । आफूहरूले गम्भीर गल्ती, कमजोरी गरेकाले नेताहरूमा यस्तो डर आएको हो तर अब पनि यही दलाली, यही कमिशनखोरी चलिरहने हो भने कुन शक्ति कति बेला कुन रुपमा आउने हो भन्न सकिन्न । जति छिटो दलाली र कमिशनखोरी हटाउन नेताहरू तयार हुन्छन् त्यति छिटो जनता आक्रोशित हुन छाड्नेछन् । दलहरूबीच प्रतिस्पर्धा भए पनि दलाली र कमिशनखोरी सबै दलको साझा समस्या हो । यही भएरै ठूला ठूला भ्रष्टाचार तथा राज्य विरुद्धका अपराध बाहिर आए पनि दलहरूले सार्थक विरोध गरेर कुनै सरकारलाई पनि कडा कदम चाल्न बाध्य पार्न सकेका छैनन् ।
एमालेको सरकार, माओवादीको सरकार वा कांग्रेसको सरका समयमा जति ठूला घोटाला तथा राज्य विरुद्धका अपराध भए पनि यी दलले सार्थक विरोध गरेर कारबाहीलाई कडा बनाउन बाध्य पारेको अहिलेसम्म नदेखिनु दलाली र कमिशनखोरी सबैको साझा हुनु हो । यसको जालो सबै दलभित्र समान रुपमा फैलिएको छ । अबको समाधान भनेको यी तीनै दलका लोकतन्त्रमा वास्तवमै आस्था राख्ने युवाहरू निडरताका साथ अगाडि आउन सक्नुपर्छ । एकले अर्कालाई कसरी गिराउन सकिन्छ भनेर होइन संयुक्त रुपमा यो प्रवृत्ति विरुद्ध लड्न सक्नुपर्छ । तब मात्रै समयको फाइदा उठाउन तम्सने शक्तिहरू पराजित हुनेछन् । नभए ढुंगा हान्नेमाथि इँटा हानेर नयाँ आक्रोश रोक्न सकिने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार