मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी, ब्याजदर र शेयर धितो कर्जामा गभर्नर र अर्थमन्त्रीको मतभेद
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १२:४७:२३
१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । आगामी शुक्रबारभित्रमा मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने राष्ट्र बैंकका कर्मचारीले जानकारी दिएका छन् । मौद्रिक नीतिको समीक्षामा गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा. प्रकाशशरण महतका बीचमा मतभेद देखिएको छ ।
अर्थमन्त्री महतले बैंक ब्याजदर घटाउने र शेयर धितो कर्जाको सीमामा पुनर्विचार गर्नुपर्ने दवाव राष्ट्र बैंकलाई दिएका छन् । शेयर घितो कर्जाको सीमा हटाउनुपर्ने माग व्यवसायीबाट पनि आएको छ । ती कर्मचारीले भने, बैंकको ब्याजदर अझै नघटेकाले अर्थतन्त्रलाई चलायमान बनाउन नसकिएको तर्क राखेर अर्थमन्त्री महतले मौद्रिक नीतिकाे पहिलो समीक्षामा ब्याजदर विशेष हुनुपर्ने माग गरेका छन् ।
राष्ट्र बैंकका गभर्नर अधिकारी यस विषयमा मौन छन् । उनले अर्थमन्त्रीले भने अनुसार बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरमा हस्तक्षेपमूखी नीति मौद्रिक नीतिले लिन नसक्ने अडान राखेका छन् । ती कर्मचारीका अनुसार यो साता चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको प्रथम समीक्षा सार्वजनिक हुन्छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लचिलो नीति लिएको राष्ट्र बैंकले त्रैमासिक समीक्षामार्फत केही विषयमा नीतिगत परिवर्तन गरेको छ ।
खासमा निजी क्षेत्रले राखेको गुनासोहरू कति सम्बोधन हुन्छन् भन्ने प्रश्न पनि कायमै छ । नेपाल उद्योग वाणिज्य महासंघले बाह्य क्षेत्र सुविधाजनक स्थितिमा पुगेका वेलामा केन्द्रीय बैंकले बजारको माग बढाउने नीति लिनुपर्ने माग गरेको छ । ब्याजदर घटाउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने महासंघको भनाइ छ । उत्पादन र व्यवसाय बढाउने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक भए अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने महासंघका अधिकारीहरूको भनाइ छ ।
अर्थमन्त्री महतले भने जसरी नै निजी क्षेत्रले पनि ब्याजदर घटाउने नीति अघि सार्नुपर्ने माग छ । निर्यात र उत्पादन केन्द्रित सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई निरन्तरता दिने नीति केन्द्रीय बैंकले लिनुपर्ने व्यवसायीको माग हो । बैंकहरूले ब्याजदरलाई प्रतिस्पर्धाका आधारमा निर्धारण गरेको भनिए पनि ब्याजदर घटाउन नसकेको निजी क्षेत्रको मुल गुनासो हो । निक्षेपको ब्याजदर एक महिना बढाउने, अर्काे महिना घटाउने गर्दा अपेक्षित रूपमा बजारले गतिलिन सक्दैन ।
मौद्रिक नीतिको पहिलो समीक्षामा लघुवित्त वित्तीय संस्थाको समस्या समाधानमा विशेष चासो दिइएको छ । यसबारे अध्ययन प्रतिवेदनको सुझावलाई पहिलो त्रैमासदेखि नै कार्यान्वयनमा लैजाने राष्ट्र बैंकको तयारी छ । अर्थमन्त्रीले नीतिगत दरलाई घटाएर केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै ब्याजदरसम्बन्धी व्यवस्था लचिलो बनाउनुपर्ने दोहोर्याइरहेका छन । तर, राष्ट्र बैंकले लचिलो संकेत देखाएको छैन । बाह्य क्षेत्रमा आएको सुधार र तरलता सहजताको स्थितिमा अपेक्षित रूपमा ब्याजदरबारे मौद्रिक नीतिको समीक्षामा निजी क्षेत्रको गुनासो सम्बोधन नहुने सम्भावना छ ।
निजी क्षेत्रको माग अनुसार ब्याजदर घटाउँदा १० प्रतिशतको सीमा हटाउनुपर्ने छ । बजारमा ब्याजदर सजिलै घटाउने नीति लिने हो भने घटाउँदा लाग्ने १० प्रतिशतको सीमा हटाउनुपर्छ । त्यसपछि मात्रै ब्याजदर अपेक्षित रूपमा घट्दै जान्छ । स्वदेशी कच्चा पदार्थमा आधारित र आयातीत कच्चा पदार्थमा आधारित उद्योगलाई बैंक तथा वित्तीय संस्थाहरूले फरक कर्जा प्रवाह गर्नुपर्ने छ ।
अर्को मौद्रिक नीतिको समीक्षामा धेरै आशा गरिएको भनिएको विषय शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने हो । पुँजी बजार ओरालो लागिरहेको समयमा मौद्रिक नीतिको समीक्षाले यसको सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा पनि छ । यसका लागि केन्द्रीय बैंकले शेयर धितो कर्जाको सीमा पूर्ण रूपमा हटाउनुपर्ने माग उनीहरूको छ । शेयर कारोवारीहरुका अनुसार मौद्रिक नीतिको समीक्षाबाट शेयर धितो कर्जामा लगाइएको सीमा हटाउनुपर्ने र १५० प्रतिशतको जोखिम भारसम्बन्धी व्यवस्था संशोधन गर्नुपर्छ ।
तेस्रो माग भनेको बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले उठाइ दिनुपर्नेछ । बैंकहरूमा थुप्रिएको पैसा केन्द्रीय बैंकले बढी ब्याजदरमा उठाइ दिनुपर्ने अपेक्षा बैंकरहरूको छ । आर्थिक शिथिलताका कारण अहिले कर्जाको माग न्यून छ । फलस्वरुप अहिले बैंकहरूमा पाँच खर्ब हाराहारीमा तरलता थुप्रिएको छ । कर्जा विस्तार नहुँदा बैंकहरूको आम्दानीसमेत प्रभावित भएको छ । पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत नाफा २८ प्रतिशत हाराहारीले घटेको छ । यो अवस्थामा राष्ट्र बैंकले उचित ब्याजदरमा बैँकहरूमा थुप्रिएको पैसा उठाइ दिनुपर्ने माग मुख्य छ ।
बैंकमा थुप्रिएको रकमबारे अर्थमन्त्रीले पनि चासो राखेका छन् । लगानीमा आउनुपर्ने पैसा बैंकमा रोकिएको महतको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन सरकारले राहत प्याकेज तथा विशेष नीतिहरू ल्याए पनि अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउनुपर्ने महतको मुख्य तर्क हो । ब्याजदर घटेर अर्थतन्त्र चलायमान हुने ब्याजदर बजारको अवस्थाअनुसार परिवर्तन हुनुपर्ने मन्त्री महतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार