तीन महिनासम्म सिन्को भाच्न नसकेको सुन जाँचबुझ आयोगको म्याद दुई महिना थपियो
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १४:२८:१८
२१ पुस, काठमाडौं । सरकारले तस्करीको चुरोसम्म पुग्न नसकेको भन्दै सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको म्याद २ महिना थप गरेको छ । नेकपा एमालेको विशेष अडानमा तस्करी सुनको गहिराइमा पुगेर अनुसन्धान गरी कारबाही चलाउनका लागि सरकारले यो आयोग गठन गरेको थियो । आयोगले तीन महिना म्याद गुजार्दा पनि केही हात नपरेपछि म्याद थप गरिएको हो ।
विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो । जसमा पूर्वएआईजी सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशीसमेत सम्मिलित चार सदस्यीय आयोगलाई पुस १६ सम्म काम सक्न समय दिइएको थियो ।
आयोगले अहिलेसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान लिएको छ भने विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग परामर्श र भन्सार क्षेत्रको निरीक्षण गरेको छ । अन्य कागजात अध्ययनमै आयोगको तीन महिना सकिएको भन्दै ठोस निष्कर्षमा पुग्नका लागि समय थप गरिएको सरकारी अधिकारीको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले मन्त्रिपरिषद बैठकले आयोगलाई जिम्मेवारी पूरा गर्न फागुन १६ सम्म समय थपिएको जानकारी दिएका छन् । आयोगले पुस ५ मा गृह मन्त्रालयलाई म्याद थपका लागि पत्र लेख्दै २ महिना थपका लागि आग्रह गरेको थियो । अब चैत १६ सम्म यसको म्याद रहनेछ । २०७९ पुस १० मा दुबईबाट भेपमा ९ किलो सुन भित्रिएको थियो भने हङकङबाट विमानमा कार्गो गरी ल्याएर भन्सार जाँच पार गरिसकेको अवस्थामा साउन २ गते सिनामंगल सडकबाट करिब ६१ किलो सुन बरामद भएको थियो ।
सीआईबीले यस प्रकरणमा अनुसन्धान गरिरहेका बेला सरकारले पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो । एमालेसँगै अन्य विपक्षी दलले प्रहरी अनुसन्धानलाई सरकारले प्रभावमा पारेको भन्दै आयोगमार्फत जाँचबुझ गर्नुपर्ने माग गरेका थिए । त्यसपछि प्रहरीबाट भइरहेको अनुसन्धान टुंगोमा पुगेपछि आयोग गठन गर्न सरकार सहमत भएको थियो । सुन तस्करी प्रकरणमा सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितविरुद्ध संगठित अपराध, भन्सार छलीलगायत कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि जाँचबुझ आयोगले काम सुरु गरेको थियो ।
आयोगले कारागारमा रहेका २९ र तारिखमा छुटेका २ तथा अनुसन्धानको दायरामा आएर मुद्दा नचलेका दुईसहित ३३ जनासँग बयान लिएको छ । आयोगले सुनचाँदी व्यवसाय सम्बद्ध चार वटा संस्था, सीमापार व्यापारका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, नेपाल बार एसोसिएसनका प्रतिनिधि, पूर्वप्रशासक लगायतसँग पनि सुन तस्करी नियन्त्रणसम्बन्धी राय लिएको जनाएको छ । तर, तस्करसँग नजिक रहेका ठूला नेता, व्यापारी र प्रशासकहरूसँग आयोगले सोधपुछसम्म गर्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार