एयरटेल सहकारीका गोयलमाथि अनुसन्धान गरी कारवाही गर्न सीआईबीलाई पत्र, शनिबारको विशेष साधारणसभा अलपत्र
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १७:१७:५५
२७ पुस, काठमाडौं । सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको करोडौं करोड रकम आफूखुसी हिनामिना गरेको अभियोगमा दुई वर्ष कारागार समेत बसेर पीडित बचतकर्ताको रकम छ महिनाभित्र फिर्ता गर्ने शर्तमा न्यायालयबाट उन्मुक्ति पाएका न्युरोडको धर्मपथस्थित एयरटेल सहकारी संस्थाका तत्कालीन प्रबन्ध सञ्चालक अशोक जैन (गोयल)माथि तत्काल अनुसन्धान गरी कारबाही गर्न बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको छ ।
एयरटेल सहकारीका तत्कालीन प्रबन्ध निर्देशक गोयलले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने शर्तमा रिहा भएको लामो समयसम्म पनि हिसाब फर्छ्याेट गर्न नचाहिरहेका बेला उल्टै सोही सहकारीमा बचेखुचेको सम्पत्तिमाथि डुबुल्की मार्ने नियतका साथ आफैंलाई सहकारीको तदर्थ समितिको अध्यक्ष घोषित गर्दै बिल्कुल अपरिचित र नयाँ अनुहारलाई सदस्यका रुपमा मनोनयन गर्दै शनिबार कमलपोखरी स्थित अग्रवाल भवनमा उक्त सहकारी संस्थाको विशेष साधारण सभा गर्ने तयारी गरेका थिए । तर, सहकारी मन्त्रालयले भने उक्त विशेष साधारण सभालाई अमान्य र अवैद्य भन्दै सीआईबीलाई पत्राचार गरिसकेकाले अवैद्य अध्यक्ष गोयलले सहकारी मन्त्रालयको निर्णयलाई वेवास्ता गर्दै साधारण सभाको कार्यक्रम अघि बढाएको खण्डमा सभास्थलबाटै पक्राउ पर्ने प्रहरी स्रोतको भनाई छ ।
सीआईबी स्रोतले भन्यो, "बागमती प्रदेशको सम्बन्धित मन्त्रालयबाट मन्त्रिस्तरिय निर्णय अनुसार एयरटेल सहकारीका तत्कालीन प्रबन्ध निर्देशक अशोक जैन (गोयल)का क्रियाकलाप शंकास्पद भएकाले अनुसन्धान गरी कारबाही गर्न पत्राचार भइसकेको अवस्था छ, त्यसैले पनि उसले उक्त साधारण सभा स्थगित गर्नै पर्ने हुन्छ । यदि नगरेको खण्डमा त्यसको परिणाम पछि थाहा हुन्छ ।" सीआईबीलाई मन्त्रालयले लेखेको पत्रको बोधार्थ गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय नक्साललाई पनि दिइएको छ ।
एयरटेल सहकारीका पीडित बचतकर्ताले भने विशेष साधारण सभा गर्न खोज्नुको मुख्य उद्देश्य यसअघि ऋणीलाई कर्जा प्रवाह गर्दा रोक्का राखेको घरजग्गा फुकुवा गराई लिलामी गरी त्यसबाट प्राप्त रकम समेत हिनामिना गर्ने तथा संस्थाको नाममा रहेको अन्य चलअचल सम्पत्ति समेत आफूखुसी प्रयोग गर्ने नियत बनाएको आरोप लगाएका छन् । उनीहरूले भने, "यदि अशोकको नियत राम्रो हुन्थ्यो भने हामी अदालत गएका ६६ जना पीडित बचतकर्तालाई जानकारी दिएर पो तदर्थ समिति गठन गथ्र्यो, त्यसो नगरी हामीहरूलाई पूर्ण रुपमा वाईपास गर्दै अघि बढ्नुको नियत के हुन सक्छ ?" एक पीडितले भने, 'जबकी उही सहकारी संस्थामा ठगी गरेको अभियोगमा २ वर्ष कारागार बसेर निस्केको व्यक्ति फेरि उही संस्थाको अध्यक्ष हुन कुन नियमले मिल्छ ? जबकी, कारबाही भोगेको व्यक्ति सञ्चालक समितिमा बस्नै नमिल्ने कानुनी व्यवस्था छ ।'
तर, यसअघि नै समस्याग्रस्त उक्त सहकारीको चलअचल सम्पत्ति प्रहरीले अनुसन्धानका क्रममा रोक्का राखेकाले उक्त रोक्का भएको सम्पत्ति विशेष साधारण सभाले निर्णय गर्दैमा फुकुवा भइहाल्ने अवस्था भने छैन । यसअघि, बागमती प्रदेश सहकारी मन्त्रालयका मन्त्री पुकार महर्जनले समेत सहकारीका ठग अशोक गोयललाई सघाइरहेको समाचार सार्वजनिक भएपछि आफूले गल्ती गरेको महसुस गर्दै मन्त्रालयले उक्त गल्तीलाई सुधार्दै सीआईबीलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।
एयरटेल सहकारी ठगी प्रकरणमा हजारौंको करोडौं रकम हिनामिना भएको छ । त्यसमध्ये अदालतको ढोका ढकढकाएका ६६ जना पीडितकै मात्र २५ करोड बढी रकम एयरटेल सहकारीमा डुबेको छ । पीडित बचतकर्ताले यसै विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । अख्तियारमा दिएको उजुरीको दर्ता नम्बर सी-०४०३०० हो । अख्तियारमा समेत उजुरी परेको जानकारी पाएपछि हतार हतार बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले दुवै पक्षलाई बिहीबार ११ बजे छलफलमा बोलाएको भए पनि अशोक गोयल पक्ष उपस्थित नभएपछि बाध्य भएर मन्त्रालयले आफ्नो गल्ती ढाकछोप गर्न र अख्तियारको फन्दाबाट उम्कन सीआईबीलाई पत्राचार गरेको हो ।
विगतमा प्रबन्ध सञ्चालक गोयलले आफ्नै पत्नी सुमन केडिया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुसी लगानी गर्दै आएका थिए । संस्थाका अध्यक्ष र प्रबन्ध सञ्चालकसहित उनीहरू निकटस्थ रहेका सहकारीमै आबद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दीपेन्द्र शर्मामाथि सहकारी पीडितले आफूहरू ठगिएको भन्दै किटानी जाहेरी दिएका उनीहरू मध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै छन् ।
विगतमा अशोक गोयल लगायतलाई कारवाहीबाट जोगाउन काँग्रेस निकट सुशिल नहाटाले निकै कसरत गरेका थिए भने अहिले बागमती प्रदेशका सहकारी मन्त्री पुकार महर्जन खुलेआम उसैको वकालत गर्दै हिँडेका छन् । स्मरणीय छ, सहकारीका तत्कालीन प्रबन्ध सञ्चालक अशोक जैन (गोयल) भारतीय नागरिक भएतापनि गलत विवरण देखाएर नेपाली नागरिकता लिएको प्रकरणमा पनि तानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार