अनि लाहुरे होइन, गायक बने खड्ग गर्बुजा
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १५:११:३८
३ माघ, बेनी । भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुन्थे । बेलायती सेनामा भर्ती हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्तीर्ण भएपछि गाउँ फर्किए । भर्तीका लागि थप तयारी राम्रै चल्दै थियो । त्यो खाइलाग्दो ज्यान आवश्यक भर्ती लाग्थ्यो । भर्तीको अन्तिम तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका ६ मराङ अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपाङ्गता भएपछि उनको भर्ती लाग्ने र लाहुरे बन्ने सपना तुहियो । तर, एउटा सपना मात्रै सकिएको थियो । विकल्पहरू तमाम थिए । त्यही मध्ये एक थियो गायन यात्रा ।
विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता भए । लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उनका पाइला भीरबाट लर्किएपछि अधुरा रहे नै साथै उनको परिवारमा सङ्कट, अभाव र समस्या झनै झाङ्गिने निश्चित भयो ।
आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता भएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भए ।
ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पाउँछन् । तब बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नचाएर छाड्छन् । यानीमायामा झुम्छन्, सालैजो र झ्याउरे उठीबास गर्छन् । परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाका गाउन सक्ने दख्खल राख्छन् ।
दुःखसुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्बुजालाई नयाँ कलाकारले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रुपमा चिन्ने गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्माले बताए । ‘सङ्घर्षको भूमरीबाट फर्किएको सुन्दर फूल जस्तै हो उहाँ । गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकालाई अभिलेख गराउने र राष्ट्रिय स्तरमै पहिचान गराउन उहाँले सिर्जना गरेका गीतसङ्गीतले ठूलो योगदान पुर्याएका छन, उनले भने ।
शारीरिक रुपमा अपाङ्गता रहनुभएका गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, परदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै लोकप्रिय कलाकारका रुपमा परिचित छन् । ‘हेर्दा हेर्दै मायाले सोलेडाँडा काट्यो मायाले’, ‘बेनी बजार कालीगण्डकी’, ‘पानी खायो बाघैले’, ‘सुन मुरलीलाई’, ‘छ फूल बनैमा’ लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका उनका गायन यात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको हो ।
‘परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो । भारतीय सेनामा भर्ती हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ । त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ती लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिए । पहिलो चरणमा उत्तीर्ण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो । त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ मर्याे’ गायक गर्बुजाले भने ।
बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गएपनि ढिला गरी अस्पताल आएकाले पूर्ण रुपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थालेको बताए । उनका दाईसमेत सानै उमेरमा रुखबाट खसेर अपाङ्गता थिए ।
‘घरका दुई छोरा त अपाङ्गता बन्याैं । त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो । हामी दुई अपाङ्गता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुनःस्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ’, गर्बुजाले भने । घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी बनेको उनले सम्झिए ।
बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन सङ्घर्ष सुरु गरेका थिए । विसं २०४७ मा पुनःस्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ झरेका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पाए ।
रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसङ्गीतबाटै आफुलाई अघि बढाउने सङ्कल्प गरेका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो । ‘फोनको सुविधा थिएन, चिठी पठाउनुपर्थ्यो घरको हाल खबर बुझ्नलाई । मैले पहिलो गीत ‘दुःखको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाए’, गर्बुजाले विगत सुनाए ।
करिब नौ सय गीतमा स्वर भरेका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो साङ्गितिक प्रस्तुति राखेका छन् । गायन संँगसँगै बाध्यबाधनतर्फ समेत सिपालु गर्बुजाले विसं २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यबादनको कामसमेत गर्दै आएका छन् । लोपउन्मुख नेपाली मौलिक मौरी बाजाका सर्जगसमेत रहेका उनले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्य बाधनसमेत बजाउँछन् ।
विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न सङ्घ संस्थाबाट सम्मानित भइसकेका छन् । हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान गरेको छ ।
अपाङ्गता भएपछि केही गर्न सकिँदैन भन्ने भाष्यलाई उनले गलत सावित गरिदिएको छ । ‘निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्बुजा बन्नुभएको छ’, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष प्रेम पुनले भने ।
गाउँमा कक्षा ६ सम्मको अध्ययन गरेका गर्बुजाले काठमाडौँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याएनन्, बिचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता दिए । उनका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् । उनी हाल श्रीमती र बुबासँग काठमाडौँमा बसोबास बस्दै आएका छन् । बाध्यबादन र गीत रेकर्ड गर्नुका साथै विभिन्न मेला, महोत्सव र साङ्गितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार