रोल्पामा कांग्रेस हार्यो, कोशीमा माओवादी !
केदार भट्टराई (काका)
माघ १३, २०८० शनिबार १३:४०:३
१३ माघ, काठमाडौं । नेकपा माओवादीले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट आफ्नो उम्मेदवार पराजित हुनुमा कांग्रेसको कोइराला समूहको ठूलो हात रहेको र यसको समीक्षा तत्कालै हुनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई दवाव दिएको छ । शनिबार विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवासँग पार्टीमा धेरै गुनासो आयो, एकपटक बसेर समीक्षा गरौँ भनेका थिए । तर, अरू नेताहरू बाहिर रहेकाले आइतबार बस्ने सहमति भएको छ ।
आइतबार कांग्रेस र माओवादीका शीर्ष नेता बसेर समीक्षा गर्ने तयारीमा छन् । खास गरी नेकपा माओवादीका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुनले कांग्रेसले धोका दिएकै कारण कोशीमा हार भएको भन्दै कोशी सरकारको विषयमा पनि समीक्षा गर्नु पर्ने बताएका छन् । प्रचण्डलाई अहिले कांग्रेससँग धारणा माग्नुपर्ने दवाव उनीहरूले दिइरहेका छन् । कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू कोही जिल्ला बाहिर र कोही व्यस्त भएको भोलि आइतबार बैठक बसेर कोशीमा कांग्रेसले दिएको धोकाबारे समीक्षा हुने माओवादीका एक नेताले बताए ।
माओवादी नेता वर्षमान पुनले रोल्पा पुगेर कांग्रेसले पटक पटक धोका दिएकाले गठबन्धनकै विषयमा अब समीक्षा हुनुपर्ने बताएका छन् । नेता पुन उनै व्यक्ति हुन, जसले गएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा रोल्पामा कांग्रेसका उम्मेदवार हराउन ठूलो भूमिका निभाएका थिए । त्यो बेला माओवादी कै कारण आफ्ना उम्मेदवार हार्दा कांग्रेसले भने अहिले माओवादीले जस्तो रोइलो गरेको थिएन ।
गएको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका बर्षमान पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका थिए । सोही क्षेत्रको प्रदेश सभा (१) मा कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १० हजार ४०६ मत मात्र प्राप्त गरे । माओवादी इमानदार भएको भए र वर्षमान आफै हराउन नलागेका भए अमर पुनको हार हुने थिएन । उनी माओवादीकै विद्रोही उम्मेदवार दीपेन्द्रकुमार पुनसँग पराजित भएका थिए । वर्षमानले ४१ हजार मत पाउँदा कांग्रेसका प्रदेश सभाका उम्मेदवार अमरसिंह पुनको १० हजार मात्र मत आयो । माओवादीका कारण पुनले हार व्यहोर्नु परेको कुरा त्यतिबेलै छिपेको थिएन । माओवादीले भूलसम्म स्वीकार गरेन ।
अहिले संयोग के मिलेको छ भने रोल्पाबाट प्रदेश सभा सदस्यमा पराजित हुने कांग्रेस नेता अमरसिंह पुन कांग्रेसमा शेखर कोइराला समूहका नेता थिए । कोइराला समूहको व्यक्तिले हारेको भनेर कांग्रेसको संस्थापन पक्षले माओवादीसँग कडिकडाउ गरेन । अहिले शेखर कोइरालाको वर्चश्व भएको क्षेत्रबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । यो पराजयलाई भने माओवादीले ठूलो इश्यु बनाएको छ ।
शेखर कोइरालाकै कारण कोशीमा आफ्नो उम्मेदवार हारेको माओवादीको बुझाइ छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग खुलेर नै शेखरले साथ नदिएका कारण कोशीमा आफ्नो उम्मेदवार पराजित भएको भन्दै कांग्रेसमा पार्टी नेतृत्वले भनेको कुरा तल कार्यान्वयन नहुँदा गठबन्धनमा असर परेको बताएका छन् । यो हारबाट कोशीमा तल विद्रोह हुनसक्ने देउवालाई प्रचण्डको चेतावनी छ ।
प्रचण्डले आइतबार हुने छलफलमा शेखर कोइरालालाई पनि साथमा राख्नुपर्ने बताएका छन् । कोशीमा कांग्रेसले विद्रोह गरेर मुख्यमन्त्री जितेपछि उत्पन्न विवाद मिलाउन देउवा र प्रचण्डले शेखरलाई पनि साथमा राखेर छलफल गरेका थिए । त्यो बेला तीन नेताबीच अब गठबन्धनमा मिलेर जाने सहमति भएको भन्दै एउटा कागजको चिर्कटो सार्वजनिक गरिएको थियो । त्यो सहमति कोइरालाले किन उल्लंघन गरेको भनेर सोध्न आइतबारको बैठकमा उनलाई पनि राख्नुपर्ने प्रचण्डको भनाइ हो ।
कोशीको नतिजाले माओवादीलाई निकै गम्भीर बनाएको माओवादीका नेताहरू बताउँछन् । कोशीमा कांग्रेसका सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरेकी थिइन् । एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् । तर, कोशीमा माओवादीको हार र रोल्पामा कांग्रेसको हारमा निकै भिन्नता छ । कांग्रेसले आफूहरूको विश्वास गुमाएको माओवादीका नेताहरूले टिप्पणी गरिरहेका छन् । हरेक पटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिएको माओवादीको दावी छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार