ढुङ्गामा कला भर्दै गोविन्द बोटे
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १०:५९:५२
१५ माघ, नवलपरासी । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यवसायिक रूपमा मूर्ति बनाउन थालेका हुन् ।
बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन् । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन् । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ ।
“तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ”, बोटेले भने, “यो कलाले आफू मरेर गए पनि युगैँयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।”
बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उनलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उहाँ ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।
“अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु”, बोटेले भने, “१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।” ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनले बताए ।
“सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु”, उनले भने । हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ । कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् ।
त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।
“सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु”, उनले भने, “ढुङ्गामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ ।” बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन् ।
“स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो”, गोविन्दले भने, “यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।” सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनको विश्वास छ । अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।
“यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ”, उनले भने, “ढुङ्गाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ [ फाेटाेफिचर ]
जेठ १३, २०८१ आइतबार
डाँडामा लुकेको होमस्टे : चुलीबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार