झापामा शेखर कोइरालाको कार्यकर्तासँग राम्रै सवाल-जवाफ, कांग्रेसलाई ट्रयाकमा फर्काउने प्रतिबद्धता
यज्ञप्रसाद भट्टराई
माघ २२, २०८० सोमबार १५:५९:२४
२२ माघ, झापा । "समुदायमा कांग्रेस" अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको कार्यकर्तासँग आज राम्रै सवाल-जवाफ भएको छ । विभिन्न तहका कार्यकर्ताहरूले माओवादीसँगको गठबन्धन र पार्टी नेतृत्वका विषयमा अनेक प्रश्न गरेका थिए । सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको गुनासो गरेका थिए ।
कांग्रेसका वरिष्ठ नेता कोइरालाले कार्यकर्तामा रहेका अप्ठ्यारा गाँठाहरुलाई फुकाउँदै कार्यकर्ताका गुनासाहरूलाई भ्याएसम्म सम्बोधन गर्ने प्रयास गरेका थिए । पार्टी सबल र सक्षम बनाउन कांग्रेसले अहिले समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । यसैको अनुगमनका क्रममा वरिष्ठ नेता डा. कोइराला झापामा आएका हुन् ।
झापाको दमकमा आयोजित कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसले अहिले भोगिरहेका समस्याहरू, कार्यकर्तामा देखिएका निराशाहरु, सरकारसँग जनताले गरेका अपेक्षाहरुका विषयमा वरिष्ठ नेता डा. शेखरसँग राखेका थिए । अत्यन्तै सरल र सहज वातावरणमा नेता तथा कार्यकर्ताहरूले आफ्ना गुनासाहरू र समस्याहरू राख्न पाउँदा सबै खुसी र प्रफुल्लित देखिन्थे ।
फ्लोरबाट आएका कुराहरूलाई सम्बोधन गर्ने क्रममा कोइरालाले सबै जिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गरेका थिए । आफूलाई जिताई दिन्छ भनेर क्रियाशील सदस्यता बाँड्ने गलत परिपार्टीले सक्षम र इमानदार कार्यकर्ता बाहिरिनु पर्ने अवस्था अबका दिन आउन नदिने उनले बताए । अब प्रतिस्पर्धाको राजनीति हुने भएकाले जनताका माझमा घुलमिल हुन नसक्ने नेताहरूलाई राजनीति गर्न कठिन हुने अवस्था सृजना हुनसक्ने तर्फ इंगित गर्दै नेता कोइरालाले सबैलाई जनतासँग घुलमिल हुन आग्रह गरे ।
के नेपाली कांग्रेस सकिन लागेको हो ? भन्ने कार्यकर्ताहरूको जिज्ञासामा नेता कोइरालाले नेपाली कांग्रेस गाउँबाट बनेर आएको पार्टी भएकोले यसलाई कसैले कमजोर बनाउँछु भन्दा, सिध्याउँछु भन्दा कमजोर पनि नबन्न र नसिद्धिने बताए । मासबेश पार्टीमा यस्ता उतारचढाव आइरहने भन्दै नेता कोइरालाले हाम्रो कमजोरी ईगो बेशमा गएर हुने गरेको भन्दै हिजो हराउनेलाई आज म पनि हराई दिन्छु भन्ने ईगोले मात्रै कांग्रेस कमजोर बन्दै गएको तर्फ सचेत गराए ।
अब हामीले यस्ता इगोहरुलाई बिर्सदै जानुपर्ने बेला आइसकेको उनले बताए । अन्य दलसँग लड्दा हामी एक ढिक्का हुनुपर्छ भन्दै कोइरालाले अहिले त्यो अवस्था घट्दै गएकोमा दुःख व्यक्त गरेका थिए । हामी एकढिक्का हुँदा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन भन्दै कोइरालाले म सँधै तपाईहरुकै साथमा छु, मलाई भेटन, फोन गरेर समस्या सुनाउन, कहिल्यै अप्ठ्यारो नमान्नुहोला भन्दै कार्यकर्ताहरूमा देखिएको नैराष्यतालाई शक्तिमा परिणत गर्न उर्जा समेत दिएका थिए ।
कार्यकर्ताको प्रश्नको उत्तर दिने क्रममा डा. शेखरले भातृ संस्थाहरूलाई चलायमान बनाउन समयमै अधिवेशन गर्नु पर्छ भन्दै पार्टी र भातृ संस्थामा रहेर काम गर्ने सबैको समान अधिकार र जिम्मेवारी रहेकोले यसमा सबैले सबैलाई समेटेर लानुपर्ने धारणा राखेका थिए । आम कार्यकर्ताहरूको गठबन्धनका विषयमा व्यापक विरोध आएपछि नेता कोइरालाले आफू सधैं गठबन्धनका विरुद्धमा रहेकाे बताए ।
उनले अहिलेको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै तलका गुनासाहरूलाई महासमिति बैठक र नीति अधिवेशनमा पुर्याउने प्रतिबद्धता जनाए । पार्टीको १५ औं महाधिवेशन २०८२ साल मंसिर महिना भित्रै सम्पन्न गर्नुपर्छ भन्दै नेता कोइरालाले यसमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडा बर्ग, अल्पसंख्यक लगायतलाई स्पष्ट रुपमा कोटा निर्धारण गरि राष्ट्रिय सभामा लानुपर्ने पक्षमा आफू सधैं उभिने धारणा राखे ।
सहभागीहरूबाट आएको प्रश्नको जवाफ दिने क्रममा कोइरालाले एक व्यक्ति एक पदका लागि आफू सधैं तपाईंहरुकै विचारसँग सहमत रहँदै आवाज उठाउँदै आएको बताए । नेता कोइरालाले कानुनी राज्यमा कानुनलाई कमजोर बनाएर देश ठीकसँग चल्न सक्दैन भन्दै देशमा सुशासन कायम नभइ कन भाषणले मात्रै देश विकास नहुने ठोकुवा गरे ।
सहभागीहरुको प्रश्नको उत्तर दिदैं नेता कोइरालाले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरू शिक्षा, स्वास्थ्य जस्ता बिषयहरुमा राजनीतिबाट मुक्त हुन सक्ने हो र यी निकायहरूमा विषय बिज्ञहरुलाई सञ्चालनको अधिकार दिने हो भने अहिलेको बेथितिको अन्त्य हुने कुरामा आफू आशावादी रहेको बताए । उनले अहिले नेपालमा बैंक तथा वित्तीय संस्थाहरू नै सबैभन्दा ठूला मिटरब्याजी रहेको बताउँदै अहिले पनि एउटा सामान्य किसान कृषि तथा पशुपालन गर्छु भनेर बैंक तथा वित्तीय संस्थामा जाँदा सहज तरिकाले कर्जा पाउन नसक्ने संसारमा कही नभएको जात्रा नेपालमा मात्रै हुने गरेको तर्क गरे ।
कृषिलाई व्यवसायीकरण नगरी नेपालको विकास संभव नहुने भन्दै कोइरालाले किसानका समस्यामा आफू सधैं सकारात्मक रहेको र बोल्ने गरेको स्पष्ट पारेका थिए । कार्यकर्ताहरूबाट आएका आक्रोस र गुनासाहरूलाई सहजताका साथ समाधान गर्दै उनले आफूले परिवारबाट केही संस्कार सिकेको र आफू अरुजस्तो तत्काल प्रतिक्रिया जाइलाग्ने, टेबल ठोकिहाल्ने, प्रतिकार गरिहाल्ने, विरोध जनाइहाल्ने गुण नरहेको बताए ।
भ्रष्टाचारको अन्त्य र सुशासन भए मात्रै हामीले गर्ने राजनीतिले सार्थकता पाउने भन्दै कोइरालाले राजनीति गर्ने राजनीतिज्ञहरूले यी दुई कुरा कहिल्यै भुल्न नहुने बताए । आम कांग्रेस कार्यकर्ताहरूमा एकताबद्ध र दृढ संकल्पका साथ नेपाली कांग्रेसलाई बलियो बनाउने तर्फ अग्रसर बन्न आग्रह गरे । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय सभापति ढुंढीराज भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाँईले गरेका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार