त्यो बेला ओलीले हचुवामा शिलान्यास गरेका आयोजनाको दायित्व यो सरकारलाई भारी भएको छः अर्थमन्त्री
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार १०:४५:३४
२४ माघ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पुर्ववत सरकारले गरेका अनावश्यक कामको बोझ अहिलेको सरकारले व्यहोर्नु परेको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएकाले त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए ।
उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरेका छन् । बुधबार इकोनोमिक भिडियो एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए ।
उनले भने, ‘पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ । तर कम्तीमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ । समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्याङ्कले नै देखाइरहेको छ ।’ अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए ।
परिस्थितिको राम्रो आकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो । महतले विगतमा आवश्यकता र प्राथमिकताबिना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । अर्थतन्त्र विस्तारै चलायमान हुँदा हुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ, महतले भने ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिँदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए । ‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री महतले भने । तर समग्रमा अर्थतन्त्र लयमा फर्किँदै गरेको बताउँदै उनले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्याङ्कले नै देखाएको छ ।’
अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिँदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्ने उनले बताए । ‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किन कि ठेक्का लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार