केन्द्रीय कारगारमा २० हजार कैदी बन्दीको उपचार
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १३:३६:५६
२ फागुन, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदी बन्दीले उपचार गरेका छन् ।
नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदी बन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदी बन्दी १६ हजार ४९५ र महिला कैदी बन्दी तीन हजार ४९७ रहेका छन् ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदी बन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो । सुरुमा १५ शय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पतालको सेवा विस्तार गरिँदै हाल ३० शय्याको अस्पताल सञ्चालनमा आएसँगै अस्पतालमा कर्मचारीको दरबन्दी समेत थप गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले कारागार अस्पतालले पुरुष तथा महिला कैदी बन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर जाँच गर्दै आएको बताए । कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ ।
सो अस्पतालले बेलाबेलामा कैदी बन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ । कारागार अस्पतालले कारागारभित्र उपचार सम्भव नभएका रोगको उपचारका लागि काठमाडौंभित्रका विभिन्न २३ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक अस्पताल, गंगालाल अस्पताल, राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रलगायतका २३ वटा अस्पतालमा बिरामी पठाउने गरिएको छ ।
अस्पतालकी प्रशासन प्रमुख रमा घिमिरेले कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताइन् । एघारौँ तहको अधिकृतको नेतृत्वमा ६८ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालनमा छ । कारागार अस्पतालमा विभिन्न रोगका आठ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
केन्द्रीय कारागारमा हाल तीन हजार ४५० कैदी बन्दी छन् । एक हजार ५०० अटाउने केन्द्रीय कारागारमा हाल दोब्बरभन्दा पनि बढी कैदी बन्दी रहँदै आएका छन् । तीनवटा जेल रहेको केन्द्रीय कारागारको केन्द्र जेलमा एक हजार ८४४, भद्र जेलमा एक हजार १५३ र महिला जेलमा ४५३ कैदी बन्दी रहेका छन् । यसै गरी, बालसुधार गृहमा २२८ र नौ आश्रित बालबालिका रहेका छन् ।
केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ललित बस्नेतले देशभरका कैदी बन्दी उपचारका लागि काठमाडौँ आउँदा केन्द्रीय कारागारभित्र कैदीबन्दीको संख्या बढेको बताए । देशभरका कैदी बन्दी उपचार गर्न र अड्डा अदालत धेरै राजधानीमा भएकाले आउने चाप बढेको छ । एक शताब्दी इतिहास बोकेको केन्द्रीय कारागार अहिले कैदीबन्दीको चापका कारण साँघुरो बन्दै गएको कारागार प्रशासक बस्नेतले बताए ।
कारागार अस्पतालले कैदी बन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । कैदी बन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड लगायतका बढी विरामी देखिने गरेका छन् ।
यस्तै, केन्द्रीय कारागारमा हाल २५५ जना विदेशी कैदीबन्दी रहेका छन् । विदेशीमध्ये सबैभन्दा बढी भारतीय कैदी बन्दी रहेको कारागार प्रशासक बस्नेतले बताए । भारतीय कैदी बन्दी अधिकांश लागूऔषधका मुद्दा रहेका छन् । भारतपछि चीन र दक्षिण अफ्रिकाका कैदी बन्दी रहेका छन् ।
आठ वर्ष केन्द्रीय कारागार अस्पतालमा रहेर विरामीलाई सेवा प्रदान गरेका नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी साँघुरो ठाँउ र धेरै कैदी बन्दीका कारण विभिन्न रोग देखिएको बताए । राज्यबाट कैदी बन्दीको लागि निःशुल्क उपचार व्यवस्था हुनु सकारात्मक कुरा हो, यसलाई बिस्तारै व्यवस्थापन गर्दै लैजानुपर्छ, डा केसी भने ।
केन्द्रीय कारागार अस्पतालले आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ८८६, आव २०७८/०७९ मा २२ हजार १४१ र आव २०७९/०८० मा ३४ हजार ३२५ विरामीको उपचार गरेको छ । सो अस्पतालले केन्द्रीय कारागारबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदी बन्दीको उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।
यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउन सो अस्पतालले सरकारसँग माग गरेको छ । उक्त अस्पतालले बिरामी कैदी बन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ सै घन्टा सेवा सञ्चालन गर्दै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार