कांग्रेस नगर सभापति पाण्डेलाई हिरासतमा थुन्ने डीएसपीको धम्की
स्याङ्जामा चोरीको शृङ्खला बढ्दै गएपछि सुरक्षा चुनौति थपियो, डीएसपीको विरोध गर्दै वडा प्रहरी कार्यालय घेराउ
मोहन गुरुङ
फागुन २, २०८० बुधबार १६:३२:५६
२ फागुन, वालिङ् (स्याङजा) । यति बेला वालिङवासी त्राहित्राही छन् । दैनिक जसो हुने चोरीका घटनाले वालिङवासी त्राहित्राही बनेका हुन् । वालिङ नगरवासीको शान्ति सुरक्षाको जिम्मा पाएका वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी इकवाल हवारीले राजर्षि शैली देखाएको भन्दै स्थानीय झन् त्राहिमाम छन् । शान्ति सुरक्षाको याचनाका लागि कार्यालय पुग्ने सर्वसाधारण नागरिकलाई उल्टै थर्काउने, धम्क्याउने र तर्साउने डीएसपी हवारीको दैनिक कार्यसम्पादन नै बनेको छ ।
मंगलबार वालिङ नगरपालिका १३ मा भएको चोरीको घटनाबारे वडा कार्यालयमा डेलिगसन गएका राजनीतिक दलका नेता, पत्रकार, बुद्धिजीवी र स्थानीयले शान्ति सुरक्षा बारे प्रश्न गर्दा डीएसपी हवारीले आफूलाई उच्च ओहोदाका मान्छेका रुपमा प्रस्तुत गरेको नेपाली कांग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले बताए । सभापति पाण्डेले भने, ‘डीएसपीसँग वालिङका आम नागरिक हैरान छन् । वडा प्रहरी कार्यालयद्वारा शान्ति, सुरक्षा र न्याय पाउने आशा मारेका छन् ।’ नागरिकको सुरक्षा जस्तो संवेदनशील विषयमा आफूले कुरा उठाउँदा हिरासत कक्षमा थुन्ने धम्कीसमेत दिएको पाण्डेले बताए । कार्यालय परिसरमा उपस्थितलाई अभद्र व्यवहार गरेपछि नालायक प्रहरी भन्दै डीएसपी हवारीको चर्को विरोध भएको थियो ।
घटनाबारे डीएसपी हवारीसँग बुझ्दा केही तत्वहरुका कारण हिजो वातावरण अर्कै बनेको बताए । उनले भने, ‘केही मानिसहरू मिलाउने भन्दा पनि वातावरण धमिल्याउने उद्देश्यले आए । उनीहरूकै कारण केही असहज पक्कै भएको हो ।’
उता शृङ्खलाबद्ध रुपमा हुँदै आएको चोरीको घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । आफूहरूको हजारौं राम्रो काम एउटा नराम्रो कामले ओझेलमा परेको डीएसपी हवारीले दुखेसो व्यक्त गरे । ‘२४ सै घण्टा डियूटी गर्दा पनि घट्ने घटना घटिहाल्छ । त्यही घटनाले प्रहरीका तमाम राम्रा काम आउँदैनन्,’ उनले थपे ।
जिल्ला प्रशासन कार्यालय स्याङजाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जिल्लाको सुरक्षा संयन्त्र बैठक बस्ने तयारी भइरहेको बताए । संयन्त्रको बैठकबाट थप सुरक्षा व्यवस्था मिलाइने उनले जानकारी दिए ।
गत माघ १५ गते वालिङ ८ डुम्रीकोटबाट रातो स्कुटर चोरी भएसँगै वालिङमा चोरीको घट्ना ह्वात्तै बढेको छ । वालिङ २ का नुमाकान्त गैह्रेको रातो होण्डा डियो स्कुटर डुम्रीकोटबाट हराएको एक महिना बित्दा पनि हालसम्म फेला परेको छैन । स्कुटरधनी गैह्रेले खोजतलासका लागि वडा प्रहरी कार्यालय वालिङमा ठाडो निवेदन हालेका थिए । तर, हराएको स्कुटरबारे हालसम्म कुनै अत्तोपत्तो छैन ।
गत आइतबार वालिङ १३ बायाँटारी झोलुङ्गे बजारमा एकै रातमा १० घरमा तोडफोडका साथै धनमाल चोरी भएको छ । एकैरातमा धेरै घरहरू फोरिनु र चोरी हुनुले प्रहरीको सुरक्षा व्यवस्थापनलाई कडा चुनौती दिएको छ ।
माघ २६ गते बिहारथोकः
गत माघ २६ गते वालिङ १० बिहारथोकमा टिक बहादुर गुरुङको घरबाट सुनको मंगलसुत्र २.५ तोला, सुनको औठी २ तोला, सुनको सादा रिङ १ तोला, सुनको चुरा १.५ तोला, सुनको चन्द्रमा २५ लाल बराबरका, सुनको लकेट २ थान २५/२५ लाल बराबरकाे नगद ५० हजार रूपैयाँ र १५ इन्चको २ थान फलामको खुकुरी चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माघ २८ गते झोलुङ्गे
१. वालिङ १३ झोलुङ्गेका दिलुराम गैरेले संचालन गरेको राजन किराना पसलको ताल्चा फुटाई बाकस भित्र रहेको नगद ७५ हजार चोरी गरेको ।
२. जगन्नाथ पाठकले संचालन गरेको प्रशंसा मदिरा पसलको छतबाट गई कोठाको ताल्चा फुटाई उक्त पसल भित्र रहेको, ओल्डदरबार ब्हस्की ६ (फुल)बोतल, खुकुरी रम ४ (फुल) बोतल,सीसी क्यामराको हार्ड डिस्क, कम्प्युटरसहित थान १/१ चोरी गरेको भएको छ ।
३. जगन्नाथ पाठकको घर भाडामा लिई दण्डपानी गैरेले संचालन गरेको अर्लुङ भगवती किराना पसलमा छतबाट गई कोठाको ताल्चा फुटाई उक्त पसल भित्र रहेको नगद २० हजार चोरी गरेको छ ।
४. भगवती गैरेले संचालनको गरेको समिर सिलाई तथा व्युटी पार्लरको ताल्चा फुटाई उक्त पार्लर भित्र रहेको नगद ३ हजार चोरी गरेको ।
५. अनिता पाठकले संचालन गरेको विपिन फेन्सी पसलको ताल्चा फुटाई नगद घ हजार चोरी गरेको ।
६. जीवन ज्योती बोर्डिङ स्कुलको ४ वटा कोठाको ताल्चा फुटाएको, चोरी नभएको ।
७. घडी बहादुर गुरुङको घरबाट सुनको सिक्री १/५० तोला एकथान, सुनको औँठी आधी तोला एकथान, सुनको चन्द्र हार आधी तोला एकथान, सुनको तिलहरी आधी तोला एकथान, सुनको फुलि २५ लाल एकथान र नगद २० हजार रूपैयाँ चोरी गरेको ।
८. दुर्गा राम गुरुङको घरबाट नगद ५ हजार रूपैयाँ चोरी गरेको ।
९. नेत्र बहादुर गुरुङको घरको साइकल चोरी गरेको ।
१०. सुकमान गुरुङको घरको ताला फोडेको तर चोरी नभएको ।
आइतबार मात्रै ४ तोला ७५ लाल सुन र १ लाख २६ हजार नगद र १० बोतल ब्राण्डेड रक्सी, हार्ड डिस्क, कम्प्युटर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फागुन १ मा मन्दिरमा चोरी
यस्तै गरी मंगलबार राति वालिङ १३ मोदी खोलामा रहेको शिव पार्वती मन्दिरमा पनि चोरी भएको प्रहरीले जनाएको छ ।
पछिल्लो एकवर्षमा वालिङ नगरभित्र मात्रै करिब २५ वटा चोरीका घट्ना घटेका छन् । प्रहरीको फितलो अनुसन्धानका कारण चोरीमा संलग्नहरु अझै पनि पक्राउ परेका छैनन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार