मोरङका घुमुवा प्रहरी बीच छक्का र चौका हान्ने होडबाजी !
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १८:२९:२२
१३ फागुन, विराटनगर । नेपाल प्रहरीले केही समय अघि प्रदेश डीआईजी र दुई साता अगाडि जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरेको तथा आईजीपी बसन्त बहादुर कुँवरले मातहतमा कसैलाई पनि घुमुवा नराख्न साथै काजमा नराख्ने सर्कुलर जारी गरेको धेरै भएको छैन । तर मातहतका कार्यालय प्रमुखहरूले भने पुराना र दिग्गज जुनियर प्रहरी कर्मचारी मध्ये कसलाई घुमुवा राख्दा बढी भन्दा बढी असुल्न सकिन्छ भन्ने टेण्डरको होडबाजी नै चलाउने गरेका छन् । अपराध नियन्त्रण भन्दा असुल्नमा नै नयाँ प्रहरी प्रमुखहरुको ध्यान केन्द्रित हुन थालेपछि प्रहरी प्रधान कार्यालयको आदेश, निर्देशन एवं सर्कुलरले हावा खान थालेको छ । अनि सीमावर्ती तराई मधेशका जिल्लाहरूमा अखण्ड तस्करीको लाइन सुचारु भइरहेको छ ।
यही सन्दर्भमा कोशी प्रदेशको डीआईजीमा चन्द्रकुवेर खापुङ तथा सदरमुकाम समेत रहेको मोरङ जिल्लाको प्रहरी प्रमुखमा नवराज कार्कीको सरुवा भएको छ । नयाँ प्रहरी प्रमुखहरुको बरबुझारथ एवं निरीक्षण भ्रमण नसकिँदै पुराना घुमुवाहरु बीच को कसको घुमुवा बस्ने भन्ने जुँगाको लडाई शुरु भएकोमा मोरङ जिल्लाको घुमुवाको रुपमा प्रहरी नायव निरीक्षक सई राजेन्द्र पासवानले बाजी मारेको समाचार छ । यसबारेमा एसपी कार्कीसँग सम्पर्क गर्दा उनी मिटिङमा व्यस्त रहेको पाइयो ।
निर्वतमान प्रमुख एसपी दीपक पोखरेलको पालामा तस्करीको लाइन दिएर अकुत सम्पति आर्जन गर्न सफल प्रहरी वरिष्ठ सई राजेन्द्र कटवाल र दीपेन्द्र पासवान बीचको लडाईमा अन्ततः पासवानले बाजी मारेका हुन् । तीन दिन अघि अर्थात् गत शुक्रबारदेखि नयाँ एसपी कार्कीले सई पासवानलाई नयाँ घुमुवाको रुपमा जिम्मेवारी सुम्पिएको समाचार स्रोतले बताएको छ ।
एसपी कार्की हाजिर भएको एक सातापछि एसपी पोखरेलका घुमुवा राजेन्द्र कटवाललाई उनको दरबन्दी रहेको कोशी उच्च अदालत न्यायाधीश सुरक्षा गार्डमा फिर्ता पठाएका थिए । तर मोरङ जिल्लाबाट कोशी प्रदेश मै सरुवा मिलाउन सफल ठहरिएका एसपी पोखरेलको जोडबलमा वरिष्ठ सई कटवालले नानी देखिको जोडबल लगाउँदै मोरङ जिल्लाको घुमुवा कै रुपमा आफूलाई निरन्तरता दिन अनुनय विनय गरेका थिए । यस बीचमा उनले पोखरेलको समन्वयमा डीआईजी खापुङसँग पनि भेटघाट गरि प्रदेश वा जिल्लाको घुमुवाका रुपमा राख्न लबिङ गरेको दावी समाचार स्रोतको छ । तर डीआईजी खापुङले वास्ता नगरेको बताइएको छ ।
सो स्रोतका अनुसार तस्कर र दुई नम्बरी व्यापारीसँग आफू नै नयाँ हाकिमको पनि घुमुवा रहने भन्दै उठतीपुठती थालेका कटवालले आफ्ना खजाञ्चीका रुपमा कार्यरत प्रहरी हबल्दार गणेश श्रेष्ठ, सहायक हबल्दार राजकुमार र सुलभ चौधरी, प्रज रघु यादव तथा असई रुपेश सिंह र उनकै भाई सन्दीप सिंहको कोर टीम बनाएर परिचालन गरेका थिए । मोरङ प्रहरीका हरेक युनिटमा जिल्लाबाट खटिएका घुमुवाहरुको संयोजन गर्ने र रकम कलम असुल्ने जिम्मा भने कटवालले सहायक हबल्दार गणेश श्रेष्ठलाई दिएका थिए । यसरी वरिष्ठ सई कटवालले चौका हान्न खोजे पनि अर्का खप्पिस घुमुवा पासवानले छक्का प्रहार गर्दै कटवाललाई तीन चित खुवाएको चर्चा अहिले मोरङका प्रहरीहरू बीच हुने गरेको छ ।
स्रोतका अनुसार मोरङका निवर्तमान एसपी दीपक पोखरेललाई कुस्त कमाइदिएको बदला उनले सोही प्रदेश मै दरबन्दी पारेर चलखेल भने गरिरहेकै छन् । हुन त पासवानको घुमुवा टोलीमा कटवालकै टीमका खजाञ्ची उपनामले परिचित हबल्दार गणेश श्रेष्ठ र अर्का हबल्दार पञ्चलाल मेहता खटिएका छन् । मेहता एसपी पोखरेलका पालामा बेलबारी र उर्लाबारी हेर्ने गरी झापा स्थित पोखरेलको घर रेखदेख गर्ने गरि खटिएका थिए । त्यतिबेला मेहतालाई सो एरियाको गिट्टी बालुवा तथा क्रसरबाट महिनावारी उठाउने जिम्मा दिइएको थियो । हबल्दार गणेश श्रेष्ठलाई भने प्रहरी चौकी बखरी मै राखेर बोर्डरको जिम्मा लगाइएको प्रहरी स्रोतको भनाई छ ।
को हुन नयाँ घुमुवा पासवान ?
नयाँ घुमुवाका रुपमा खटिएका पासवान तत्कालीन एसपी हालका एआईजी सन्दीप भण्डारी र हालका एसएसपी मनोज केसीका पालामा मोरङको घुमुवा बसिसकेका व्यक्ति हुन् । उठतीपुठ्ती र मोज मस्तीमा कहलिएका राजेन्द्र पासवान धेरै नै विवादित भएपछि झापा लखेटिएका थिए । तर त्यहाँ पनि उनले सेटिङ मिलाएर प्रमुख भन्सार नाका काँकडभिट्टामा तत्कालीन डीएसपी सुनिल दाहाल र इन्स्पेक्टर सुवास खनालको घुमुवा भएर कुस्त उठाएका थिए । त्यही क्रममा भन्सार छलि गराएर सयौं पिकअप टायल र मार्वलको तस्करी गराएको काण्ड लागेपछि उनको २ नं. प्रदेश जनकपुरमा सरुवा भएको थियो ।
तर केही महिना अघि भएको सरुवामा उनले एआईजी भण्डारीको पावर लगाएर पुन मोरङ दरबन्दी मिलाउन सफल भएका छन् । यस्तै अर्का नामुद घुमुवा असई भक्त विष्टले पनि भण्डारी कै पावर लगाएर मोरङ सरुवा हुन सफल भएका छन् । प्रहरीमा कोही भने पहाडबाट पहाड र कोही तराईबाट तराई मै सरुवा हुने सीमित भाग्यमानीमा यिनीहरु दर्ज भएका हुन् । बिगत ४/५ वर्ष मोरङ र २/३ वर्ष सुनसरीको घुमुवा भएर हाकिम र आफूलाई कुस्त कमाउन उद्यत उनी यतिबेला प्रहरी चौकी टाँडीको इन्चार्जका रुपमा कार्यरत छन् । पूर्वका प्रहरीहरु बीच एआईजी भण्डारीका धर्मपुत्रका रुपमा परिचित विष्ट जिल्लाको घुमुवा हुन धाइरहेको समाचार छ । यस्तै रंगेलीमा सिपाही रघु यादवलगायतको टोली उठतीपुठतीमा व्यस्त रहेको समाचार छ ।
स्मरणीय के छ भने केही महिना अघि नेपाल प्रहरीका घुमुवाको सेटिङमा धनकुटा हुँदै विराटनगर आएको करिब डेढ सय केजी भन्दा बढी गाँजा सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । धनकुटा जिल्ला प्रहरी कार्यालयका घुमुवा सहायक हबल्दार जीवन काफ्ले, प्रदेश प्रहरीमा होजीयारी चलाउने अर्का सहायक हबल्दार रविन्द्र चौधरी, असई किरण मोक्तान र मोरङका घुमुवा वरिष्ठ सई राजेन्द्र कटवालको लिंक भेटेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो ।
धनकुटादेखि विराटनगरसम्म आउँदा नेपाल प्रहरीका सबै ढाँट पार गर्दै निर्वाध रुपमा आएको उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेपछि नेपाल प्रहरीमा हडकम्प मच्चिएको थियो । तत्कालीन डीआईजी राजेशनाथ बाँस्तोलाको सरुवा भई जाने बेलामा उक्त घटना घटेको हो । तर यति लामो समयसम्म पनि प्रधान कार्यालयको सो टोलीले गरेको छानविन प्रतिवेदन गोप्य राखिएको छ भने गाँजा तस्करीमा संलग्न प्रहरीका माथि उल्लिखित कसैलाई पनि कारबाही गरिएको छैन ।
मोरङ प्रहरी सम्बन्धी अघिल्ला समाचार हेर्न पढ्न तलको लिंक क्लिक् गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार