नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार ११:५५:३
९ चैत, काठमाडौं । तत्कालीन नेकपा माओवादीका लडाकु कमान्डर, शान्ति प्रक्रियामा आएपछि संविधानसभा सदस्य र २०७२ कार्तिक १४ गते देशका पाँचवटा विशिष्ट पद मध्येको दोस्रो पद उपराष्ट्रपति बन्न पुगेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको यतिबेला पारिवारिक परिचय तस्करी र ठगीसँग जोडिएको छ । उपराष्ट्रपति भइसकेका पुन आफैंमा कति शुद्ध छन ? यसबारे खोजीनीति भएको छैन । तर, उनका दुई छोरा जोडिएको सुन र सहकारी प्रकरणले देशकै ध्यान तानेको छ ।
तत्कालीन लडाकु शिविर घोटाला काण्डबाहेक अहिलेसम्म पूर्वउपराष्ट्रपति पुनको नाम नजोडिए पनि उनको छत्र छायाँबाट मौलाएको तस्करी र ठगीले देशलाई बदनाम त बनायो नै लाखौं सर्वसाधारणको बचतसमेत डुबेको छ । र, यस प्रकरणमा जोडिएका छन पुनको जेठा छोरा जितेन्द्र पुन र दीपेश पुन । कान्छा छोरा दीपेश पक्राउ परेर प्रहरीको अनुसन्धानमा छन भने जेठ जितेन्द्रको विभिन्न चार कसुरमा अनुसन्धान भइरहेको छ । भन्सार चोरी, निकासी, संगठित अपराध, भ्रष्टाचार र राज्यविरुद्ध अपराध जस्ता कसुर उनीहरूबाट भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
जितेन्द्रले चिनियाँ व्यापारीसँग लिखित सम्झौता गरेर नै अवैध सुन ओसारपसारको काम गर्दै आएका थिए । यो काम नन्दबहादुर उपराष्ट्रपति रहेकै समयमा जितेन्द्रले चिनियाँ व्यापारीसँग मिलेर सुन तस्करी गरेको तथ्य सार्वजनिक छ । कान्छा छोरा दीपेश माओवादीको अखिल क्रान्तिकारीका महासचिवसमेत हुन् । दीपेश यसअघि नै सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, खानी दोहनलगायत कसुरमा मुछिएका थिए ।
यतिबेला उनलाई प्रहरीले सहकारीको बचत हिनामिनाको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक जितेन्द्रको सुन तस्करीमा संलग्नता खुल्ने प्रमाण लिएर प्रहरी उनको तलासमा छ । पुन उपराष्ट्रपति हुँदा उनको सचिवालयमा सल्लाहकार/स्वकीय सचिव ओहदामा बसेर तस्करी गर्ने माथि भन्सार ऐन, संगठित अपराध निवारण ऐन, भ्रष्टाचार निवारण ऐन र राष्ट्र हितविरुद्ध गतिविधि गरेको कसुर आकर्षित भएको प्रहरीको भनाइ छ ।
जितेन्द्रविरुद्ध तीनवटा कसुरमा प्रहरी आफैंले अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । भ्रष्टाचार कसुरमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई जानकारी दिने तयारीमा प्रहरी छ । पटक–पटक अवैध सुन भित्र्याएका जितेन्द्र २०७६ मा नै सुन तस्करी अभियोगमा परेका थिए । अहिले यो मुद्दा सीआईबीले हेरिरहेको छ । भन्सार ऐनले विदेशबाट काँचो सुन ल्याउन बन्देज गरेको छ । पुनका छोराद्वय जितेन्द्र, दीपेश र त्यतिबेला उनको वैदेशिक मामिला विज्ञका रूपमा नियुक्ति पाएका जीवनकुमार गुरुङको समूहले विदेशबाट सुन तस्करी गर्दै आएको थियो ।
सीआईबीका अनुसार भन्सार ऐन २०६४ को दफा ५७ मा कसैले कुनै मालवस्तु चोरी, निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा खास बाटोबाट मात्रै निकासी–पैठारी गर्न पाउनेमा अन्यत्रबाट निकासी–पैठारी गरेमा कसुर गरेको मानिने उल्लेख छ । त्यस्तो कसुरमा १ करोडदेखि ३ करोड रुपैयाँसम्मको बिगो कायम भएमा १ देखि ३ वर्षसम्म र त्यसभन्दा माथिको बिगोमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जितेन्द्रलाई यहि कसुर पुष्टि गर्न प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सीआईबीका अनुसार जितेन्द्रविरुद्ध संगठित अपराध निवारण ऐन–२०७० को दफा ३ आकर्षित गर्न खोजिएको छ । कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने छ ।
उनी विरुद्ध राज्य विरुद्धको अपराधको कसुर पनि आकर्षित हुने देखिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (२) अनुसार राज्यविरुद्धको अपराध गर्न नहुने उल्लेख छ । संहिताको दफा ५१ (२) मा ‘कसैले राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न वा गराउनु हुँदैन’ भनिएको छ । उपराष्ट्रपतिका स्वकीय सचिव र सल्लाहकार नै विदेशी गिरोहसँग मिलेर सुन तस्करीमा सामेल भएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिल्याउने काम पनि गरेको छ । यो झन ठूलो अपराध हो ।
गत मंसिर १९ मा दुबईबाट भित्रिएको १४ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा नियुक्ति पाएका गुरुङ पक्राउ परेका थिए । अदालतले गत आइतबार गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । पछिल्लो पटक पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र तस्करीमै संलग्न रहेको तथ्य खुलेसँगै प्रहरीले जीवनमाथि पनि थप अनुसन्धान अघि बढाएको हो । जितेन्द्र र दीपेशमार्फत भित्रिएको सुन व्यवस्थापनमा जीवन संलग्न रहने गरेको आरोप छ ।
नन्दकिशोर पुनका कान्छा छोरा दीपेश नक्कली शरणार्थी र सुन तस्करी प्रकरणबाट सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छन् । गएको शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनी जोडिएका छन् । पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन् ।
पुन संस्थापक सचिव रहेको सहकारीमा बचत कर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।
रुपन्देही लगायतका जिल्लाका बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
सरकारी वकिल कार्यालयमा महरासँगको बयान नसकिएकाले आज पुनः म्याद थपका लागि लगिने
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार