महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १३:५८:१७
१४ चैत, मुग्लिन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ ।
त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका विभिन्न जातजातिका पहिचान झल्कने नमूना घर हुन् । तिनै घरहरु नै अहिले महोत्सवका मुख्य आकर्षण बनेका छन् ।
विभिन्न जनजातिका घर नै महोत्सवमा आउने दर्शकको रोजाइमा परेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताए । उनले भने, “हामीले विभिन्न आदिवासी जनजातिका घर निर्माण गरेका छौँ, ती घरहरु नै महोत्सवका मुख्य आकर्षण बनेका छन्, यी नमूना घरको अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।”
उनका अनुसार महोत्सवस्थलमा विभिन्न जातजातिका ११ घर निर्माण गरिएका छन् । ती घरमा जातजाति अनुसारका मौलिक संस्कार, संस्कृति तथा पहिचान झल्किने सामग्री राखिएका छन् । आदिवासी जनजाति समुदायको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही चैत ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चितवनमा बसोबास गर्ने १७ जनजातिमध्ये गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राईलगायत जातिले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाति बस्ती नै निर्माण गरेका छन् ।
सोही बस्तीभित्र मौलिक परम्परागत घर निर्माण गरेका गुरुङ समुदायले आफ्नो मौलिक संस्कार तथा संस्कृति झल्कने सामग्री राखेका छन् । उक्त घरभित्र र बाहिर राखेका गुरुङ समुदायको संस्कृति झल्किने सामग्री अवलोकन र फोटो खिच्नेको भीड लाग्ने गरेको तमू प्ये ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम गुरुङले बताए ।
उनका अनुसार उक्त घरमा गुरुङ समुदायले परापूर्वकालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आइरहेका सामग्रीलाई प्रदर्शनीमा राखेका छन् । गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाँडरक्सी बनाउने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवोलगायत परम्परागत सामग्री प्रदर्शनीमा राखिएको उनको भनाइ छ ।
साथै गुरुङ समुदायका परिकारसमेत राखिएका छन् । गुरुङ जातिको मात्र नभई नारायाणी नदी किनारमा निर्माण गरिएका अन्य जनजातिका घरहरुमा पनि आ–आफ्नै मौलिक परम्परागत पहिचान तथा संस्कार एवं संस्कृति झल्किने सामग्री राखिएका छन् । अन्य समुदायका घरमा पनि गुरुङको घरमा जस्तै अवलोकन गर्ने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सुरु भएको महोत्सव चैत १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक विभिन्न जातजातिका संस्कृति झल्किने झाँकीसहित राष्ट्रियस्तरका गायकगायिकाका साथै विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहँदै आएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा नेपालमा लगानी गर्न आग्रह (फोटोफिचर)
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार