दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार १२:५६:१५
देश झनझन जर्जर अवस्था तर्फ धकेलिँदै गइरहेको छ । विगतमा राजनीतिक विकृति र भ्रष्टाचारको भार खेपिरहेको मुलुक अहिले आर्थिक मन्दी र चरम महंगीको मार समेत खेप्न बाध्य भएको छ । लामो समयको अस्थिर राजनीतिसँगै भ्रष्ट र लुटतन्त्रमा रमाइरहेको अपराधी मनोवृत्तिले भरिएका आफूलाई राजनीतिज्ञ बताउन लाजसम्म नमान्ने व्यक्तिहरुको राज्यसत्तामा निरन्तर हालिमुहाली भइरहँदा देश गम्भीर मोडमा आएर उभिएको मात्रै छैन अवसानको बाटोतर्फ लम्किसकेको छ ।
विकृत राजनीतिले मुलुकलाई कहाँसम्म पुर्याउन सक्छ भनेर अन्त कतै खोजिरहनु नपर्ने गरी यो देशलाई विश्वकै अति गरीब देश बनाउनेदेखि विश्वकै अशान्त र अविकसित मुलुक बनाउन स्वयं राजनीतिक नेतृत्व तह नै सकृय भएपछि देशको दुरावस्था घटने हैन झनझन जटिल बन्दै जान थालेको सामान्य नागरिकहरूले समेत लख काटन कुनै अप्ठ्यारो देखिँदैन ।
के नेपाल पहिल्यैदेखि यस्तै अवस्थाबाट गुज्रिँदै आइरहेको थियो त ? भनेर इतिहास पल्टाउने हो भने विगतमा नेपालीहरू बीचको एकता विश्व नै चकित पार्ने खालको देखिन्छ । एकताको सुत्रमा बाँधिएका नेपाली नागरिकहरूलाई दलीय व्यवस्थाले भागवण्डा लगाउन थालेपछि त्यसपछिका द्वन्द्व, युद्ध, आतंक र अराजकताले देशमा जुन किसिमको ताण्डव देखायो, त्यसले नेपाली नेपालीमा विभाजन, वैभव र विकृतिका पहाडहरू खडा गरिदिएको हामीले आफ्नै आँखाले देखिसकेका छौं ।
हामीले बुझे अनुसार राजनीतिले बिकास बोकेको हुनुपर्थ्यो । राजनीतिलाई नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले इमान्दारिता र देशप्रतिको माया बोकेको हुनुपर्थ्यो । जनताले नेतृत्वप्रति भरोसा गर्ने आधार तयार गर्न सक्नुपर्थ्यो । साथै देशले जनताप्रतिको न्याय र समभावको प्रत्याभूति दिलाउन सक्नुपर्थ्यो । कर्मचारीले देशमा सुशासन र जनताका समस्या समाधान गर्ने जिम्मेवारी बोकेको हुनुपर्थ्यो भने सरकारले निमुखा र असहायहरूलाई निष्पक्ष न्याय दिन सक्नुपर्थ्यो । तर जव यि सबै कुराहरू बिर्सिएर देश र जनता लुटने एकल संकल्प लिएर देशको राजनीतिक नेतृत्व अगाडि बढ्यो तब देश झनझन कमजोर र गरीब बन्दै गयो । विश्वको एकमात्र उर्वर र सौन्दर्य कलाले भरिपूर्ण भएको देश खण्डहर बनिसक्दा पनि देशको नेतृत्व गर्ने राजनीतिक नेतृत्वमा क्लेश पनि चिन्ता नहुनु आफैंमा आश्चर्यलाग्दो बिषय बनेको छ ।
विध्वंसको विकल्प शान्ति भए तापनि शान्ति स्थापनापछि देशको नेतृत्व तहमा पुगेका भ्रष्ट र लुटेराहरूले देशलाई उठ्नै नसक्ने गरी थला पारेको छ । भ्रष्टाचारको दुर्गन्ध यतिसम्म फैलिएको छ कि त्यसलाई सफा गर्छु भनेर राजनीतिमा आएका नव भ्रष्टहरुको समेत होस उडाएको छ । वर्तमानका सत्ताका भोका नेतृत्वबाट अब देश र जनताका समस्याहरू समाधान होलान् र देशले विकासको बाटो समात्ला भन्ने आशा गर्ने कुनै ठाउँ समेत बाँकी रहेको देखिंदैन ।
नेपालको वर्तमान राजनीति हेर्दै र केलाउँदै जाँदा भ्रष्टाचार नगरेको, ठगी धन्दामा नमुछिएको, कुनै आपराधिक कार्यमा संलग्न नभएको, तस्करी र कुनै मुद्दा नब्यहोरेको व्यक्ति राज्य सञ्चालनको स्थानमा पुग्नै नसक्ने अवस्था सृजना भइसकेको देखिन्छ । परिष्कृत प्रजातन्त्रको नाममा यो भन्दा भद्दा मजाक अरु के हुनसक्छ ? देशमा प्रजातन्त्र प्राप्ति पछि जनतामा जुन उत्साह, जुन विश्वास र जुन भरोसा थियो त्यो वर्तमानमा नेतृत्वमा रहेका नेतृत्वकर्ताहरुको पदलोलुपता र भ्रष्ट आचरणका कारण समाप्त प्रायः भइसकेको अवस्था छ ।
नेपाली जनताहरुमा वर्तमान राजनीतिमा देखिएको विचलन र राजनीतिक भ्रष्टिकरणबाट रोक्ने उपाय अब खोज्ने बेला आइसकेको छ । राजनीति सङ्लिएपछि जसले नेतृत्व गरे पनि कुनै फरक पर्दैन तर अहिले राजनीति धमिलिएको छ, बदनाम भएको छ, दुर्गन्धित भएको छ । यसको दीर्घकालिन समाधानका लागि अहिलेसम्म कुनै प्रकारको अपचलनको आक्षेप नलागेको वा भ्रष्टाचारको दुर्गन्धमा नमुछिएको व्यक्तिलाई सत्ता सञ्चालनको उपल्लो स्थानमा ल्याउन जरुरी छ ।
यसका लागि एक मात्र भरोसायोग्य नेता भनेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला नै हुन । नेपाली जनताले लामो समयदेखि गरिरहेको मुल्यांकन र राजनीतिक क्षेत्रमा डा. शेखर कोइरालाको अविरल संगठन निर्माणले अझै पनि शेखर कोइरालाप्रति नेपाली जनताले परिवर्तनको आशा गरिरहेका छन् । समय घर्किसके पछि रोइकराई गर्नुभन्दा डा. शेखर कोइरालालाई संसदीय दलको नेता बनाएर तत्काल नेकपा एमालेसँग सहकार्य गर्दै नयाँ सरकार निर्माण गर्ने तर्फ अब नेपाली कांग्रेस अग्रसर हुन ढिलो गर्नु हुँदैन ।
नेपाली कांग्रेसको अडानका कारण रोकिएको शहिद भत्ता लामिछाने र ओलीलाई उपयोग गर्दै प्रचण्डले मज्जाले निकाल्न भ्याए । सत्ताका लागि र अपराध लुकाउनका लागि जे र जस्तोसुकै सम्झौता गर्दै जाँदा प्रचण्डमा अझै धेरै महत्वकांक्षा बढ्दै जाने देखिन्छ । सहकारी ठगहरूदेखि सुन तस्करहरुसम्मको सुरक्षा कवच बनेर देशलाई खोक्रो बनाईरहेका वर्तमान प्रधानमन्त्री प्रचण्डलाई वैधानिक रुपमा विस्थापन नगरे प्रचण्डले रवि लामिछानेलाई हतियार बनाएर पूर्व माओवादी कमान्डरलाई सेनाको प्रमुख बनाउन सक्छन् । त्यो अवस्थामा विचरा एमालेलाई दायाँबायाँ सहि गर्न लगाएर नराम्ररी फसाउँछन् । यस विषयमा एमाले पनि गम्भीर हुन आवश्यक छैन र ?
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार