मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १७:८:२२
८ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ ।
भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।
विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । २०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् । २०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् ।
नारायणकाजीको सम्पत्ति
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।
एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
गृहमन्त्री रविको सम्पत्ति
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन् । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ ।
त्यस्तै, १५÷२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ । अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।
निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
भौतिकमन्त्री महासेठको सम्पत्ति
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।
२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
अर्थमन्त्री पुनको सम्पत्ति
अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।
त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ । त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैनन् ।
शिक्षामन्त्री सुमनाको सम्पत्ति
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ । उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।
सञ्चारमन्त्री रेखाको सम्पत्ति
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको २.५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्काे घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ । उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।
मन्त्री जोशीको सम्पत्ति
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर पनि उल्लेख गरेका छन् । छ भने काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ । त्यस्तै बझाङमै जयराज जोशीको नाममा जग्गा छ । त्यसको स्रोत भने बुवाको ३ वटै भाइहरुबाट आएको मन्त्री जोशीले उल्लेख गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । १३ लाख रुपैयाँमा तलबबाटै किनेको जोशीले उल्लेख गरेका छन् ।
मन्त्री जोशीले ४ तोला सुन भएको उल्लेख गरेका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रहेको उक्त सुन पैत्रिकसहित बिहेमा दाइजो पाएको उल्लेख गरेका छन् । त्यस्तै, लोकेन्द्र जोशीको नाममा ८८.६६ ग्राम, निर्मला कोइरालाको नाममा ३९ ग्राम सुन र त्यसको स्रोत पैत्रिक देखाएका छन् । मन्त्री जोशीले ६० तोला चाँदी रहेको र त्यो पैत्रिक भएको उल्लेख गरेका छन् ।
आफ्नो नाममा बैंकमा १ लाख मौज्दातमात्रै भएको सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जमा भएको खातामा उनले तलब भत्ताबाट १ लाख रुपैयाँ जम्मा गरेको उल्लेख गरेका छन् । त्यस्तै, नेपाल बैंकमा जयलक्ष्मी जोशीको नाममा ५ हजार, निर्मला कुमारी कोइरालाको नाममा लक्ष्मी सनराइज बैंकमा १ हजार र ग्लोबल बैंक ५० हजार रुपैयाँ मौज्दात देखाएका छन् । त्यसको स्रोत पनि तलबभत्ता नै उल्लेख गरिएको छ ।
विजय जोशीको नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र लोकेन्द्र जोशीको नाममा एभरेस्ट बैंकमा ८ हजार मौज्दात रहेको सम्पत्ति विवरण मन्त्री जोशीले बुझाएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रगुनखोलामा ८ लाख रुपैयाँको सेयर खरिद गरेको मन्त्री जोशीले उल्लेख गरेका छन् । उक्त रकमको स्रोत जग्गा बिक्रीवापत प्राप्त भएको उल्लेख गरेका छन् ।
मन्त्री जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपैयाँ ऋण उल्लेख गरेका छन् । तर, त्यो ऋण पनि जयलक्ष्मी देवी र निर्मला कोइरालाको नाममा छ । उनले उक्त ऋणबाट ३ लाख १० हजार रुपैयाँ तिरेको पनि जानकारी दिएका छन् । त्यस्तै, निर्मलाकुमारी कोइरालासँग आमाबुवाले दिएको एउटा स्कुटर छ ।
पर्यटनमन्त्री तामाङकाो सम्पती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ । त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको भनेका छन् ।
त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७÷८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन् ।
सहरी विकासमन्त्रीको सम्पत्ति
सहरी विकासमन्त्री धनबहादुर बुढासँग दुई करोडभन्दा बढीको सुन रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार हाल उनीसँग १५० तोला सुन मौज्दात रहेको छ । आजको बजार भाउमा यो दुई करोड बढीको हो ।
यस्तै, उनीसँग ३०० तोला चाँदी रहेको उल्लेख छ । बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगरपालिका–६ मा सात आना जग्गा रहेको छ । जुन आजको बजार भाउमा तीन करोडमाथिको सम्पत्ति हो । उनीसँग ६० लाख रूपैयाँ बैंकमा मौजुदा रहेको उल्लेख छ
मन्त्री राईको सम्पत्ति
खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ । यस्तै, रामबहादुर राई र राष्ट्रिय वाणिज्य बैंकको गरेर आफ्नो ५५ लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेका छन् ।
खेलकुदमन्त्री श्रेष्ठको सम्पती
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शेयर मार्केटमा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता शेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।
श्रममन्त्री डीपी अर्यालको सम्पत्ति
धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।
यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।
वन मन्त्री नवलकिशोरको सम्पत्ति
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका हुन् ।
उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ । उनले विभिन्न ठाउँमा जग्गा किनेको र पैतृत जग्गाको विवरण पनि खुलाएका छन् ।
उनकी श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ । विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ । उनका छोरासँग पनि ३५ तोला सुन छ । तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ । मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार