वैदेशिक रोजगारीको पीडा, तीन वर्षमै काम खोज्न विभिन्न मुलुक पुगेका मध्ये ४ चार ३५ नेपालीले गुमाए ज्यान
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १४:२१:४३
१६ जेठ, काठमाडौं । विगत ३ वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका ४ हजार ३५ जना नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएका मध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको हो ।
सो अवधिमा ८ सय ७० जना अंगभंग भएका छन् । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८\७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ । अंगभंग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको संख्यामा कमी आएपनि अंगभंग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, पारिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासिएर, डुबेरलगायतका कारणले मृत्यु भएको अवस्था छ ।
यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ । स्वदेशबाट मेडिकल जाँच गरी श्रमको लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन ।
यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्महत्या दुरुत्साहन गर्न मनोचिकित्सा लगायतका कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा रू दुई करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।
बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् । वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानुनी आप्रवासन हुने अवस्था देखिएको छ ।
अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवास गृहमा राखी उद्धारसमेत गरेको स्थिति छ । अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन । श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्दछ ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा रू. तीन लाख र २०७४ साउन १६ गतेदेखि रू सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ रू.तीन अर्ब तीन करोड ९८ लाख र १५ अंगभंग तथा बिरामी श्रमिकतर्फ रू.४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार