अवैध समान तस्करीका लागि खुल्ला नाका बन्यो भैरहवा भन्सार, सेटिङमा चल्ने यस्तो छ तस्करको समूह
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार ११:३०:२०
२९ जेठ, भैरहवा । भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हो ।
चोरी निकासी भइरहेको छ भन्ने सूचना आएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमको नेतृत्वको टोलीले आइतबार राती मर्चवारको गैरगट्टीबाट प्याज सहितको २ ट्रक र रुपन्देहीको सियारी अमुवाबाट १ पिकअप कपडा, कस्मेटिकका सामान बरामद गरेको हो । गौतमका अनुसार मर्चवार क्षेत्रबाट अवैध कारोबार भइरहेको खबर आउनासाथ राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकबाट १४० बोरा प्याज सहित गाडी नियन्त्रणमा लिएको हो ।
भन्सार गस्ती टोलीलाई देखेपछि गाडीका दुईवटै चालक फरार भएका थिए । प्याज त्रिलोकपुर नाकाबाट आएको हो, अहिले यो नाकाबाट आधा दर्जन बढि पिकअपमा प्याजको तस्करी हुने गरेकोे छ । भैरहवा भन्सार गस्ती टोलीले अमुवाबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छलि गरिएका भित्रि बस्त्र, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका सामान पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शुन्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने ठोस प्रमाण हो । रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु आएसँगै अवैध बस्तु नियन्त्रण ठूलो मात्रामा हुने गरेपनि यो संख्या अहिले निकै घटेको छ ।
सयौँ सुरक्षा संयन्त्र हुदा पनि सुरक्षा टोलीले समान नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथी शंकाको प्रश्न हो । यदि शंका नभए अहिले सम्म सुरक्षा निकायले किन समात्न सकेको छैनन । सुरक्षा निकाएले खुला सिमाना नै चुनौती रहेको बताउदै गर्दा आम सर्वसाधरणले घरयासी प्रयोजनका लागि ल्याउने सामानमा कडाई गर्ने गरेको प्रहरीले तस्करहरुलाई छुट गरेको पाइन्छ ।
सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाएपनि ठूला तस्करहरुलाई छुट सरह छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु फेरिएसँगै दैनिक जसो ठूलो परिमाणमा अवैध बस्तु बरामद भएपनि अहिले यो क्रम घटेको छ । अहिले फाटफुट र न्यून मात्रामा मात्रै अवैध सामान बरामद भइरहेको छ ।
भन्सार प्रमुख गौतमले हामीले पाएको गोप्य सूचना र लोकेशनको आधारमा सक्रियता बढाएका छौँ । आइतबार मात्रै ३६ लाख ८० हजार मुल्य बराबरको अवैध सामान र गाडी नियन्त्रणमा लिएका हाँै । गस्ती टोलीले पनि छड्के निरिक्षण गदै अवैध गतिविधीलाई न्यूनिकरण गर्ने तर्फ भन्सार कार्यालय लागेको छ । भारतले प्याज निर्यात खोलेपनि निर्यात कर धेरै भएपछि तस्करहरुले अवैध रुपमा प्याज नेपाल भित्रयाइरहेका छन । जुन रुपमा भन्सारबाट प्याज आउनु पर्ने हो त्यो अवस्था अहिले छैन ।
रुपन्देहीका विभिन्न नेपाल–भारत सिमा क्षेत्रहरुबाट भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन । मुद्रास्फीति नियन्त्रणका लागि भारतले समय समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाउदै आएको छ, जस्को फाइदा सिमा क्षेत्रका तस्करहरुले लिइरहेका छन । प्याज निर्यातमा प्रतिबन्ध भएपछि सिमामा अवैध रुपमा प्याजको कारोबार हुने गरेको छ । अहिले भने निर्यात प्रतिबन्ध भारतले हटाएर निर्यात कर लगाएपछि तस्करहरु अवैध कारोबारमै लिप्त छन ।
अवैध रुपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट केही महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ । तर अहिले भने नगन्यमात्रामा मात्रै प्याज बरामद भइरहेको छ ।
भारतले २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटेपनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको छ जसले प्याजका तस्करहरु अझै सक्रिय छन ।
नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’
भैरहवा भन्सारबाट पछिल्लो ५ महिनामा प्याजको आयात नै थियो भारतले निर्यात हटाएपछि केहीमात्रामा भने प्याज भित्रिएको छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ ।
भारतका सिमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउदै अवैध आयात बढेको हो । भारतमा सरदर प्रति किलो २० रुपैया भारुमा प्याज फुटकर विक्री भएको छ भने नेपाल तर्फ सरदर ६५ रुपैयामा कारोबार भइरहेको छ । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो ।
रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र इरिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरुले पिकअप र मिनी ट्रकमा प्याज भित्रयाइरहेका छन । तस्करका भरियाहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने गरेका छन् ।
दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् । सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरुको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरुको मुख्य नाका रहेको छ । भारतिय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरुको रोजाईमा यि नाकाहरु रहेका छन । एउटै नाकामा धेरैको नजर रहेकोले बाडिएर काम गरेका तस्करहरु अहिले समूह समूहमा भई काम गरिरहेका छन । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन । उनीहरुले एसपीका घुमुवाहरु मार्फत लाइन मिलाएको बताइरहेका छन ।
सिमाक्षेत्रबाट आएका प्याज बसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् । खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व घाटा भइरहेको छ । एकातर्फ राजस्व गुमेको छ नै, मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै यि प्याज धमाधम तस्करीको माध्यमबाट नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर गर्ने पलान्ट क्वारेन्टाइनलेले जानकारी दिएको छ ।
बिरबहादुर जयसवाल, नरेश जयसवाल(टासे), प्रविन जयसवाल, मनोज यादव, प्रेम यादव, गौरी लगायतका तस्करहरुको एक समूह छ भने सुदेश जयसवाल, राकेश जयसवाल, सहाबुद्दीन फकीर, रामवेलाश जयसवाल, रामशरन यादवको अर्को समूह छ । यस्तै पिन्टु यादव, पप्पु, पवन, नारायण, गुड्डुको नेतृत्वमा पनि समूह छ ।
यी समूहले जिल्लाका सबैलाई मिलाएर काम गरिरहेको दाबी गर्छन । समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकका प्रहरीहरु मार्फत काम भइरहेको बताउछन । समूहले काम गर्ने नाका क्षेत्रमा पर्ने सबै चौकी, इलाका प्रहरी, विओपी र सुरक्षा निकायका प्रमुख समेतलाई सेटिङ गरेको बताउछन । हामीले मासिक बुझाउछौ तर उताबाट कपडाको काम गर्न नदिने आदेश छ, अरु कामका लागि सेटिङ भएको नाम नबताउने शर्तमा माथी उल्लेखित एक तस्करले भने । एउटा समूहले मात्रै १५ लाख बढि मासिक सेटिङमा खर्चेको दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार