पर्वतको बनौका किसान व्यवसायिक आलु खेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १५:५४:४६
३० जेठ, पर्वत । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बनौमा धानखेती निकै कम हुन्छ । अहिले यहाँका बासिन्दाले आलु र कोदोखेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषक बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणका साथै प्राविधिक सहयोग पाएपछि व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आबद्ध ७३ किसानले सामूहिक रुपमा आलु उत्पादन थालेका हुन् ।
विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समूहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार अहिले लगाइएको चार सय रोपनी क्षेत्रफलबाट पहिलेभन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।
समूहमा आबद्ध भएका किसानले न्यूनतम रु एक लाखदेखि रु १० लाखसम्म आलु बिक्री गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने किसान पुर्जाले बताए । बनौमा परम्परागत बीउ नै लगाइएको छ ।
चालु आर्थिक वर्षदेखि सुरु भएको खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष झन्डै दुई हजार किसानले व्यवसायिक रुपमा आलुखेती गरेका छन् । अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए । उनका अनुसार प्राविधिक ज्ञानसँगै किसानले आधुनिक तरिकाले आलुखेती गर्न थालेपछि उत्पादनसमेत बढेको छ भने कृषकसमेत उत्साहित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रमअन्तर्गत हिउँदे याममा गरिएको आलु खेतीमा जिल्लाभरका एक हजार आठ सय २१ किसानले व्यावसायिक रुपमा आलु खेती गरी आम्दानी गर्न सफल भएका छन् । बर्खेयाममा यसको आधा सङ्ख्यामा किसानले आलु खेती लगाएका छन् ।
किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । आलु प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको थियो । उक्त बजेटबाट किसानलाई आलुको बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणमा अनुदान उपलब्ध गराइएको अधिकारीले बताए ।
कार्यक्रमको लक्ष्य यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने भनिए पनि किसानको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको हो । पहिलो याममा एक सय चार हेक्टरमा क्षेत्रफलमा गरिएको आलु खेतीबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसबाट किसानले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका छन् ।
बर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यसको उत्पादन र आम्दानीको तथ्याङ्क असार अन्तिम सातासम्म आइपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रले जनाएको छ ।
पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योति, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेट्रिकटनसम्म उत्पादन भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए । यसबाट उपभोगका लागि किसानलाई खरिद गर्न नपर्नाका साथै बिक्री वितरणबाट पनि राम्रो आम्दानी गरेको पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार